|
लेखक: विडारी

रुपचन्द्र विष्टबारेमा आज २५ वर्ष पुगेका राजनीति तथा सामाजिक विषयमा चासो राख्ने व्यक्तिले सामान्य हेक्कासम्म राख्नेछन्। ३५ वर्ष पुगेकाले सामान्य जानकारी समेत राख्दछन्। त्यसभन्दा माथिकाले भने समालोचना गर्न समेत सक्दछन्। भावी पुस्ताले अध्ययन गरी कार्यान्वयनमा जोड दिनेछन्।

२०५६ मा करिव करिव स्वेच्छा मरण गर्न पुगेका रुदानेको मृत्युपश्चात उहाँको सम्झनामा केही कुरा गरौं भन्नेहरु हेटौडामा भेला भए। जुन दिन रुदानेको मृत्यु भएको १३ रौं दिन भएको थियो । जसबाट रुपचन्द्र विष्ट स्मारक तदर्थ समिति गठन भयो। यो तदर्थ समितिलाई स्थायी समिति बनाउन काठमाडौंमा वृहत भेला भए। जसबाट रुपचन्द्र विष्ट स्मारक समिति गठन भयो ।

रुपचन्द्र विष्ट र नयाँ पुस्ता
रुपचन्द्रलाई अब ४५ वर्षपछि धेरै सम्मान गर्नेछन्। किनकी त्यसवेलामा रुपचन्द्रले होच्याएका विभिन्न ठाउँका सामन्त,वदमास मरिसकेका हुन्छन्। अहिले ती मान्छे ज्युदै छन्। जसलाई रुपचन्द्रले समाजको अगाडि नै खुलेआम गाली गरेका छन्। उनले मान्छेको मनमा भएको कुरा बुझेर त्यसलाई तत्काल गाली गर्न सक्थे र गर्थे। अब ती मान्छेले रुपचन्द्रलाई प्रसंसा गरेको सुन्न चाहँदैनन् । रुपचन्द्रलाई विना पूर्वाग्रही मान्छेले सम्मान गर्दछन्। यस्तो हुन यो पुस्ता सकिएर नयाँ पुस्ताको उदय भएपछि मात्र हुन्छ। 

समितिले हरेक वर्ष असार ७ गते कुनै न कुनै कार्यक्रम काठमाडौं, हेटौडा र दामनमा गर्दै आएको थियो। यो वर्ष दामन-थाहा नगरपालिकामा स्मृतिसभा तथा स्मृति भवन परिसरमा भवन निर्माण समितिले वृक्षारोपण स्मारक समितिको केन्द्रीय अध्यक्षको प्रमुख आतिथ्यमा गरेको थियो । सो सभाको संक्षिप्त मन्तव्य राख्दा निम्न कुरा भयो ।

समितिले रुपचन्द्र विष्टको संझनामा एक थाहा स्तम्भ बनाउन हेटौडा नगरपालिकालाई माग गरेको थियो। हेटौडा नगरपालिकाले समितिसँग परामर्श र सहयोगमा सहिद स्मारकमा एक थाहा स्तम्भ निर्माण गरेको छ।

समितिको सक्रीयतामा रुपचन्द्र बिष्टले आफ्ना जीवनकालमा निकालेका विभिन्न पर्चा ,हाते पातो,पत्रपत्रिकामा रुपचन्द्रबारेमा निकालिएको टिप्पणी, उहाँबारेमा विभिन्न महानुभावहरुले व्यक्त गरेका कुरा र राष्ट्रिय पञ्चायतमा उहाँले बोलेका केही कुराहरुसमेत समावेस गरी ३४० पृष्टको थाहा पुस्तक प्रकाशन गरियो। यो पुस्तक स्मारक समितिमा सम्पर्क गरी किन्न पाइने छ । समितिको माग अनुरुप नेपाल सरकारले  रुपचन्द्रको फोटो, थाहा अंकित हुलाक टिकट समिति कै सहयोग र परामर्शमा प्रकाशन गरेकेा छ।

समितिको केन्द्रीय अध्यक्ष संविधानसभाको सदस्य भएपछि सदनमा र संविधानसभामा थाहा , जनमुखी राजनीति र रुपचन्द्र विष्टबारेमा चर्चा पनि चुलिएको छ। देशको सर्वोच्च विधायिका संसदमा यसबारेमा रेकर्ड गरिएको छ। २०४७ देखि २०७० सम्म थाहा, जनमुखी, रुदाने सदनमा चर्चा हराएकोमा २०७१ देखि पुनः सुरु भएको छ।  थाहा नगरपालिका नामाकरणपछि यो नगर देशको नमुना नगरमा छनोट भएको छ।

नामाकरण हुनु र छनोटमा पर्नु पनि रुदाने प्रति सम्मान हो।  देशभरका नगरमध्ये छनोट गर्दा १५ वटामध्येमा नमुना नगरमा परेको छ। यसको विकासको लागि वार्षिक वजेट केन्द्रबाट नै विनियोजन गरिएको छ। जिविस सहयोगमा समितिको परामर्शमा रुदानेको पूर्ण कदको शालिक निर्माण थाहानगरभित्र  (रुपचन्द्रव्दारा निर्मित ऐतिहासिक विकास घरमा) निर्माण भएको छ । जहाँ दामन पालुङका सहकर्मीहरुको सक्रियता थियो।

स्मारक समितिको प्रस्ताव नेपाल सरकार शान्ति तथा पुननिर्माण मन्त्रालयको समर्थन र सहयोगमा र समितिका अध्यक्षको सिफारिसमा निर्वाचन क्षेत्र विकास कोष र थाहा नगरपालिकाको आर्थिक सहयोगमा रुपचन्द्र विष्ट, स्मृति भवन र पार्क थाहा नगरपालिक ८ मा निर्माणाधीन अवस्थामा छ । यसमा सद्भावना सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालयले पनि गरेकेा छ।

स्मारक समितिको प्रस्तावमा शान्ति मन्त्रालयको सहयोग समर्थनमा हेटौंडा उपमहानगरपालिका ४ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष र निर्वाचन क्षेत्र विकास कोषको वजेट माननीयहरुले सिफारिस गरी रुपचन्द्र विष्ट वाचनालय निर्माणाधीन अवस्थामा छ।

बजेट बिनियोजन
२०७३/७४ को वजेट भाषणबाट रुपचन्द्र विष्टको सम्मान र संझनामा वजेट नै विनियोजन गर्ने किटान गरेको छ। यो नेपाल सरकारले रुपचन्द्र विष्टमाथि गरेको सम्मान हो। विकास घर जुन ऐतिहासिक हो। यसको निर्माण विवरण नै भावी पुस्ताको लागि अचुक शिक्षा हुनेछ। जसलाई संरक्षण गर्न नेपाल सरकारले वाषिर्क वजेटमा सम्झना गरेको छ।

यही दिन शिक्षा मन्त्रीको प्रमुख आतिथ्यमा रुदानेले स्थापना , संचालन, चौतर्फी विकासतर्फ कार्यतालिकाको अभ्यास गर्नुभएको जनकल्याण उमाविमा कृषि सम्बन्धी प्राविधिक शिक्षा र आग्रा डाडेवासमा इन्जिनियरिङ सम्वन्धी प्राविधिक शिक्षाको उद्घाटन गर्नुभयो। शिक्षा मन्त्रीले रुपचन्द्र विष्टसँग धेरै अन्तर्वार्ता उस समयमा लिनुभएको थियो। उहाँ रुपचन्द्रलाई आस्थाको केन्द्र भन्नुहुन्छ।  यी सबै कामहरु स्मारक समितिको प्रस्ताव भए पनि हेटौडा नगरपालिका, जिविस मकवानपुर, नेपाल सरकार, वर्तमान प्रधानमन्त्री,अर्थ मन्त्री र निवर्तमान शान्ति मन्त्रीलाई र दामनवासी जनता, जिल्लास्थित सबै राजनीतिक दल, श्रमिक मावि, ऋषेश्वर सामुदायिक वन, सरकारी कार्यालयहरुलाई स्मारक समिति धन्यवाद अर्पण गर्दछ।

रुपचन्द्र विष्टले के गर्न खोजेका थिए- त्यो कामलाई यी माध्यमबाट अगाडि बढाउने काम गर्न खोज्नेहरुले अब एकत्रित हुन आवश्यक छ। जुनसुकै राजनीतिक दलमा भए पनि सत्य र ठीकका हिमायतीहरु एक ठाउँमा बसेर उपरोक्त माध्यमहरु प्रयोग गरेर थप भौतिक पूर्वाधार बनाएर मान्छे ब्युझाउने आन्दोलन थाहा।

श्रमिक ब्युँझाउने र शसक्तिकरण गर्ने जनमुखी राजनीति साथै जीवनभर ज्युने तरिका सिकाउने रुपचन्द्रको जिवनी अध्ययन गर्ने अवसर सबैमा पुर्‍याउनु अति आवश्यक छ। समितिको अध्यक्ष नै सांसद पनि भएकोले सरकार र जनताबीच पुलको काम गर्न सजिलो पनि भएको छ। यसका निम्ती सबै मकवानपुर जिल्लाबासी र देशभरका समर्थक सक्रिय हुन र सहयोग पुर्‍याउन रुपचन्द्र विष्ट तेरौं स्मृति दिवसको अवसरमा स्मारक समिति विशेष आग्रह गर्दछ। कक्षा नौ पढदादेखि (२०३० देखि २०५६सम्म)  २६ वर्ष अटुट राजनीतिक सम्बन्धमा रहेको र आजसम्म सोही आस्थामा रहिरहेको छु।

यदि दलले यो आस्था मान्न दिन्न भन्ने भएमा म यो आस्थाा नै मान्छु, दल मान्दिन । तर हाल दलले यो छुट दिएको छ रुपचन्द्र दलको पनि आस्था नै हो। हाल नेता क. प्रचण्ड । सदा गुरु रुपचन्द्र । यही दर्शन, सिद्धान्त र दृष्टिकोणमा छु। मिल्यो कि मिलेन थाहा चाहियो। अहिलेको संविधानमा टेकेर समाजवाद र थाहा दर्शनमा टेकेर मानवतावादमा पुग्न कोशिस गरिन्छ। श्रमिक र नारीको एकलौटी हक जनमुखी राजनीति र मान्छेमात्रको एकलौटी हक थाहा दर्शन हो।  यसबारे क्रमश: काम गर्दै गइन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.