विचार

हराउन नदिऊँ मौलिक ज्ञान

चैत १४, २०७५

    ‘दूध फाट्ला है, २\३ त्यान्द्रा कुश डुबाई राख।’ केही समयअघि एक मित्रको घरमा धार्मिक अनुष्ठानमा सहभागी हुँदा हजुरआमाले सम्झाइन्। वैदिक सनातन कर्म कुशविना सोच्न पनि सकिन्न। माङ्गलिकदेखि पितृकार्यमा समेत शुरुदेखि अन्त्यसम्म आवश्यकता पर्छ। कर्मपात्रमा पवित्र र कुशका टुक्रा राख्ने, त्यहीँबाट कुशका टुक्रा समातेर सङ्कल्प गर्ने, कुशकै औंठी लगाउने गरिन्छ। कुशबाटै ऋषि\देवता\ब्राह्मणका स्वरूप बनाइन्छन् र तिनलाई आसन पनि कुशकै चढाइन्छ। अझ धार्मिक कार्यमा सम्भव भएसम्म कुशकै आसनी प्रयाोग गरिन्छ नभए एक त्यान्द्रो कुश आसनमुनि राखेर भए पनि कुशासन(कुशको आसनी) को कल्पना गरिन्छ।

    कुशबाट आयुर्वेदका कतिपय औषधी बन्छन् भन्ने सुनेको छु तर दूध बचाउन कुश प्रयोग गरेको थाहा थिएन। नौलो कुरा थाहा पाइयो। लाखबत्ती बाल्ने अनुष्ठानमा मित्रका परिवारले पाहुनालाई खुवाउने खिर पकाउन थुप्रै दूध ल्याएका रहेछन्। गर्मी महिना। फाट्ला भन्ने डर। हराउन नदिऊँ मौलिक ज्ञानले परम्परागत ज्ञान दिएकी थिइन्।

    यी र यस्ता अनेक ज्ञान एक पुस्ताले सिर्जना गरेका होइन। हजुरबाबाट बा, बाबाट छोरा, हजुरआमाबाट आमा, आमाबाट छोरी, सासुबाट बुहारी हुँदै पुस्तौँपुस्ता बितेर आएका हुन्। तर अहिले यो क्रम रोकिएको छ। आधुनिक सञ्चारयन्त्रमा भुल्ने क्रमसँगै यस्ता ज्ञान दिने र लिने क्रम टुटेको हो।

    घरमा तीन वर्षअघिदेखि घार बनाएर बसेको माहुरीले चिल्यो। मह खान पाउनु त कहाँ हो कहाँ ! टोकाइ पाउनु छ। अघिपछि पनि कहिलेकाहीँ चिल्थ्यो तर खिल निकालेर फ्याँकेपछि त्यति असर गर्दैनथ्योे। यसपालि निधारमा टोक्दा साह्रै सास्ती पाइयो। घटना दिउँसोको। बेलुकी त आँखा ठ्याम्मै थुनियो। मान्छे चिन्दै नचिनिने। भोलिपल्ट बिहान छोरा भन्छ, ‘बाबा ! बाबा ! तपाइँ बाबा हो ?’ दुखेर हाँस्नसमेत सकिएन। अघिल्लो दिन बेलुकी नै मेडिकलमा गएर औषधी नमागेको कहाँ हो र!

    मेडिकलवाला गाली पो गर्छन्, ‘कहीँ मौरीले टोकेको पनि औषधी पाइन्छ। मान्छेहरू उपचार गराउन माहुरीले टोकाउँछन्।’ आफूलाई चिलाएर र दुखेर खपिसक्नु भएको होइन। भोलिपल्ट पो छिमेकीले सुझाव दिए, दही लगाउनू! दुई\तीन पटक लगाएपछि आराम भयो। अर्कोपटक चिल्दा टोक्दा अर्कीले सल्लाह दिइन्, ‘चरीअमिलो मिचेर लगाउनू, सञ्चो हुन्छ।’

    गाउँघरतिर घाँस काट्दै गर्दा हात काटे वनमाराको पात बेस्सरी माडेर रस चुहाइदिन्थे। अहिलेको ‘प्लास्ट’ले गरेभन्दा कैयौँगुना राम्रो काम गर्‍थ्यो। काटेको भाग वनमाराको रस पर्नेबित्तिकै टप्प टाँसिन्थ्यो। आगोले पोल्दा झट्ट घिउकुमारीको रस वा आलु काटेर वा गोलभेडाको रस लगाउने घरेलु उपाय छ।

    असाध्यै ज्वरो आउँदा बुबाले आँगनअगाडिको बारमा रहेको असुरोको एउटा पात बेस्सरी पकाएर थोरै रस खाँदा सञ्चो भएको छ। सहनै नसक्ने तीतो हुनाले हामीचाहिँ पिउने साहस गर्दैनथ्यौँ। सानोतिनो रुघाखोकीमा त बेसार, तुलसीपत्र र दुईचार गेडा जिरा (स्वादका लागि थोरै नुन) हालेर खाएरै जितिएको छ। दशैंँमा उब्रेको जमरालाई छायामा सुकाएर टम्म सिसीमा बन्द गरेर राखिएको हुन्छ। ज्वरो, रुखाखोकी लाग्दा पानीमा बेस्सरी पकाएर खाँदा सञ्चो भएको छ। जमरा र तुलसी बाह्रै महिना भइरहँदैनन्। भएका बेला जाँगर लगाएर राम्ररी टिपी छायामा सुकाएर राख्दा बाह्रै महिना काम लाग्ने रहेछ। खोकी लाग्दा अदुवाको रसमा मिसाएर खाने परम्परागत चलन प्रायलाई थाहा होला। सर्दी भगाउन भान्सामा भएको मरिच, ज्वानो, आदिको प्रयोग गर्ने, गर्मी हुँदा अदुवा, मिस्रीको सर्वत बनाएर खाने चलन गाउँघरमा कतैकतै अझै छ।

    यी र यस्ता अनेक ज्ञान एक पुस्ताले सिर्जना गरेका होइन। हजुरबाबाट बा, बाबाट छोरा, हजुरआमाबाट आमा, आमाबाट छोरी, सासुबाट बुहारी हुँदै पुस्तौँपुस्ता बितेर आएका हुन्। तर अहिले यो क्रम रोकिएको छ। आधुनिक सञ्चारयन्त्रमा भुल्ने क्रमसँगै यस्ता ज्ञान दिने र लिने क्रम टुटेको हो। फेसबुक, ट्वीटर पुस्तालाई के थाहा यस्ता प्रक्रिया ? ‘...कुरा सुन्नु बुढाको’ भन्ने उखान त छ तर अहिलेको इन्टरनेट युगमा दाँत फुक्लेका, गाला चाउरिएका हजुरबा–हजुरआमाको कुरा कसले सुनोस्।

    आधुनिकताको प्रभाव यति बढिसक्यो छोरा–छोरी–बुहारीले नै सुन्न चाहँदैनन् भने नाति पनाति पुस्ताले त झन् के सुनोस्। ज्ञान लिनुपरयो किन ? सानो रोग लाग्यो मेडिकल दौडियो। क्लिनिक धायो। ५०० सय रुपैयाँ ‘फी’ र कम्तीमा त्यतिकै औषधी त केही होइन। ‘एण्टिबायोटिक’ औषधीको नियमित प्रयोगले मानव शरीरमा गर्ने असरको के वास्ता ? केही समस्या पर्‍यो, बजार कुद्नुस्। पैसा भए हरेक वस्तु पाइन्छ। गर्मी भयो, रेफ्रिजेरेटर खोल्नुस्। चिसो मौसम भए चिया कफी बनाउनुस्। 

    औषधिका लागि हजुरबा हजुरआमाले प्रयोग गर्ने गरेको बेसारको कुरा गरौं। क्यान्सरजस्तो रोग निवारणका लागि समेत बेसारको महत्त्व भएको आधुनिक विज्ञानले पत्ता लगाएको छ। रुघाखोकी लाग्दा काँचै बेसार फाँको मार्ने वा पानीमा पकाएर खाने चलन थियो। ‘एन्टिसेप्टिक’को काम गर्ने भएर होला घाउ, चोटपटकमा समेत लगाइन्थ्यो। तोरी, रायो र बेसारको मिश्रण बुकुवा बनाई लगाउने चलन अहिले हराइसकेको छ। चिसोबाट बच्न र सुत्केरी भएका बेला ज्वानोको झोल ख्वाउने चलन त अझै पनि छ। तोरीको तेल लगाएर बच्चालाई मालिस गर्ने चलन अलिअलि भए पनि वयस्क मानिसलाई तेल लगाएर मालिस गर्ने चलन त हराइसक्यो। कमिला, बारुला जस्ता विषालु किराले टोक्दा हँसिया, चक्कुजस्ता फलाम दलेर विषको असर कम गर्ने  निकाल्ने विधि पनि हामीलाई बाबुबाजेले सिकाएका हुन्।    

    कुन बेला के खाने ? कस्तो मौसममा के खानेजस्ता ज्ञान पनि पुर्खाबटै सर्दै आएका हुन्। जस्तै– असाध्यै जाडोमा सख्खरबाट बनेका गुड, चाकु, तिलका पदार्थ खाने, असाध्यै गर्मीमा जौका पदार्थ, सर्वत खाने यी परम्परागत ज्ञानका उपज हुन्। बान्ता रोक्न कागतीजस्ता अमिला फल, झाडापखाला लागेको अम्बाको पात आउँ परे कोइरालो (बेमौसमका लागि सुकाएर राखिएको), बच्चाले विषालु पदार्थ निले तत्काल चुक (अमिलो) खुवाउने विधि पनि प्रचलित छन्।

    परिस्थितिसँग कसरी जुध्ने, शारीरिक, मानसिक र नैतिक रूपमा कसरी स्वस्थ र सबल रहने लगायतका ज्ञान पनि पुर्खाहरूले दिन्थे। ती ज्ञान आज जीवित पुस्तासँग हराइसकेको छ। दुःखमा नआत्तिने, सुखमा नमात्तिने, मिहिनेत गर्ने, मिहिनेतबाट आर्जित धनको उपभोग गर्ने, कुकर्म गरेर कमाएको धनले ठाँटबाँट नगर्ने, आफूसँग भएकोसँग सन्तुष्ट रहनेजस्ता ज्ञान आजको पुस्तालाई अनौठो लाग्न पनि सक्छ। 

    अझै पनि हाम्रा पाका पुस्ता प्रकृति हेरेर मौसम र समय आदिको भविष्यवाणी गर्दैछन्। ‘यो दिशाबाट वायु चल्यो, अब पानी पर्छ’, ‘फलानो तारा यहाँ आइपुग्यो, यति घडी रात बित्यो (अर्थात् यति बज्यो)’ जस्ता अनेकौं ज्ञान सार्थक देखिन्छन्। बरु आज प्रविधि प्रयोग गरेरै गरिएको मौसमको भविष्यवाणी विफल भएको देखिन्छ। मौसमको भविष्यवाणी त आजका विज्ञले गरेभन्दा पनि हजुरबुबा हजुरआमाले भनेको मिल्थ्यो। आजभोलि हेर्नुस् त, मौसमविद् नै शतचूर्ण भिजेर हिँडेको पाइन्छ किनभने बिहानसम्म थाहै थिएन। छाता बोकेकै थिएन। कार्यालयमा आएर हेर्दा पानी पर्ने पो संकेत देखियो। हतार हतार फर्किँदै गर्दा पानीले चुट्यो। 

    परिस्थितिसँग कसरी जुध्ने, शारीरिक, मानसिक र नैतिक रूपमा कसरी स्वस्थ र सबल रहने लगायतका ज्ञान पनि पुर्खाहरूले दिन्थे। ती ज्ञान आज जीवित पुस्तासँग हराइसकेको छ। दुःखमा नआत्तिने, सुखमा नमात्तिने, मिहिनेत गर्ने, मिहिनेतबाट आर्जित धनको उपभोग गर्ने, कुकर्म गरेर कमाएको धनले ठाँटबाँट नगर्ने, आफूसँग भएकोसँग सन्तुष्ट रहनेजस्ता ज्ञान आजको पुस्तालाई अनौठो लाग्न पनि सक्छ। अरुलाई शारीरिक वा मानसिक पीडा नपुर्‍याउने, अरुको दुःखलाई आफ्नै ठान्नेजस्ता पुर्खाको सन्देश पुरानो भइसकेको छ।

    हो, आज विकसित भएका वैज्ञानिक प्रविधि प्रयोग नगरे असजिलो हुने अवस्था आइसकेको छ तर पनि हामीले आफूसँग भएका ज्ञान–प्रविधि र मूल्य–मान्यतालाई भुल्दै पश्चिमाहरूको पदचिह्न पछ्याउँदै जाने हो भने हाम्रो आफ्नो अस्तित्व कहाँ रहला ? 

रामप्रसाद धिताल

धिताल भाषा, धर्म, संस्कृति र विसंगतिविरुद्ध कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]