पसल छाडेर पानी थाप्‍ने लाइनमा

|

काठमाडौं :  जलस्रोतको दोस्रो ठूलो राष्ट्र हो नेपाल। तर, नेपाली जनता खानेपानीको अभावले आक्रान्त बनेका समाचारहरू प्रशस्त पढ्न पाइन्छ। आमजनता खानेपानीका लागि घण्‍टौँ कुर्नुपर्ने बाध्यतामा छन्। देशको राजधानी काठमाडौंमा झन् खानेपानीको समस्या ठूलो चुनौती बनेको छ। काठमाडौंको जडीबुटीमा रहेको धारामा एकलिटर पानीका लागि दुईदेखि पाँच घण्टासम्म पर्खिन स्थानीय बाध्‍य छन् ।

मेलम्चीको पानीले राजधानीको खानेपानी समस्यालाई समाधान गर्ने सरकारको लक्ष्य छ। तर, मिति सरेको सर्‍यै गर्दा राजधानीमा छिट्टै पानी आउन सक्ने अवस्था छैन। पानी मानवजीवनमा अत्यावश्‍यक वस्तु हो। जडीबुटी चोकबाट लगभग १०० मिटर भित्र नरेफाँट क्षेत्रमा एउटा धारा छ। यस धारामा १२ महिना २४ सै घण्‍टा पानी आउँछ। तर, खानेपानीको लागि राति अबेरसम्म मानिसको भिड देख्‍न सकिन्छ। रातिको पालोका लागि दिउँसै भाँडा लाइनमा राख्ने चटारो हुन्छ यहाँ।

पसल छाडेर पानी थाप्‍ने लाइनमा 

लामो समयदेखि यही समस्याबाट पीडित श्यामु केसीले खानेपानीका लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको दुखेसे पोखे। उनी जडीबुटी क्षेत्रमा भाँडाको पसल चलाउँदै आएका छन्। ६ वर्षअघि वैदेशिक रोजगारीबाट फर्केर उनी काठमाडौं आएका थिए। आफू बसेको घरमा एक हप्तामा एकपटक मात्र पानी आउने गरेको केसी बताउँछन्। जसले नुहाउन र लुगा धुन पनि समस्या हुने गरेको उनको भनाइ छ।

उनको पसलभन्दा पनि दिनभरी पानी थाप्ने कामले दैनिकी बित्ने गर्छ। सधैँ दुई किलोमिटर टाढाबाट पानीको लागि मानिस आउने गरेको उनी बताउँछन्। केसी भन्छन्,‘दिउँसो यहाँ पानी भर्नेको भीड कम हुन्छ भने राति बढी भिड हुने गर्छ। दिनभर सबै आफ्नै काममा व्यस्त हुन्छन्।’सोलुखुम्बुबाट अध्ययनका लागि काठमाडौं आएकी रमिला बस्नेतको पनि समस्या उस्तै छ। उनी दिनभरी कलेजमा पढाइ गर्छिन्।

रातभरी खानेपानीको लागि धारामा लाइन बस्छिन्। काठमाडौंको बागबजारस्थित काठमाडौं माडेल कलेज (के.एम.सी)को कक्षा–१२ अध्ययनरत बस्नेत जडीबुटीमा डेरा गरेर बस्छिन्। भन्छिन्, 'आफू बस्ने घरमा १० दिनमा एकपटक मात्र पानी आउँछ। त्यही पनि फोहोर आउँछ', उनले थपिन्, 'घरमा खानेपानी नआएकोले पाँच सय मिटर टाढा धारामा पानी थाप्‍न भाडा बोकेर आउनुपरेको छ।'

पानीका लागि पाँच घण्टासम्म पर्खिनुपर्ने अवस्था

बस्नेतका अनुसार धारा पुग्दा कम्तीमा दुई घण्टा र बढीमा पाँच घण्टासम्म पानीका लागि पर्खिनुपर्ने अवस्था हुन्छ। त्यति मात्र नभएर कहिलेकाहीँ त पानी भर्नका निम्ति मानिसहरू एक आपसमा झगडासमेत गर्छन्। ज्यामी काम गर्ने सिन्धुपाल्चोकका जगतबहादुर माझी पनि खानेपानीपीडित हुन्। उनी तीन वर्षदेखि झेल्दै आएको पानीको समस्याले अब काठमाडौं छाड्ने अवस्था आइसकेको बताउँछन्। दिनभरी ज्यामीको काम गरेर घर फर्केपछि आरामको सट्टा एककिलो मिटर टाढा नरेफाँटबाट पानीको लागि धारा आउनुपर्ने उनले बताए। कामबाट थाकेर आउँदा पनि खानेपानीको लागि रातभर धारामा बस्दा शारीरिक अवस्थासमेत बिग्रँदै गएको उनको गुनासो छ।

पानीकै समस्याले दैनिक जीवन अस्तव्यस्त

श्रीमान वैदेशिक रोजगारमा गएपछि बच्चाहरूको पठनपाठनका लागि काठमाडौं आएकी सुभद्रा ठाकुर पानीको समस्याले दैनिक जीवन अस्तव्यस्त बनेको बताउँछिन्। आठ वर्षदेखि उनी  जडीबुटीमा किराना पसल चलाउँदै आएकी छिन्। बच्चाहरूको राम्रो भविष्यका निम्ति आएको काठमाडौं पानीको अभावमा श्राप जस्तै भएको उनले बताइन्। यस अवधिमा सधैँ एककिलो मिटरभन्दा बढी पानीको लागि हिँड्नुपरिरहेको उनले बताइन्। हरेक साता शनिबारको दिन धारामा अझ बढी भीड हुने गरेको उनको अनुभव छ।

देशमा राजनितिक परिवर्तनसगैँ जनताले आफ्ना देनिकीहरू पनि सहज हुने आशा गरेका थिए। सरकारले पनि आम जनताका दु:खका दिन गइसकेको बताइरहेको छ। तर, राजधानीमा खानेपानीको अभावका कारण जनताको दैनिकी कष्टकर बनिरहेको छ। समृद्ध नेपालको भाषण गर्ने तर कार्यान्वयन नभएको तथ्य राजधानीमा पर्याप्त पानी अभावले एक झलक देखाएको छ। राजधानीवासीलाई वर्षौदेखि मेलम्चीको खानेपानी आउने सपना देखाइरहेको छ सरकार। तर, मेलम्चीले काठमाडौंको बाटोनै बिर्सेको हो कि भन्ने पनि लाग्न थालेको छ राजधानीवासीलाई।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.