|

काठमाडौं : भित्री मनदेखि नै चाहेर दीन, दुःखीलाई सहयोग गरेर समाजसेवा गर्न खोज्ने मानिस समाजमा विरलै हुन्छन्। समाजसेवा गर्न खोज्नेहरू कसैलाई धनले छेकेको हुन्छ त कसैलाई मनले। कोही चर्चाको भोकले समाजसेवीको आवरण लगाउँछन्। यस्तै थुप्रै मानिसको भिडमा दयाका खानी, निःस्वार्थ, भित्री आत्माले नै चाहेर सहयोग गरी नाम कमाउन सफल पात्र हुन् दयालु दयाराम अग्रवाल।

विं.सं २०२२ सालमा काठमाडौंमा जन्मिएका अग्रवाल अहिले आफ्नो नामको परिचयमा मात्र सीमित छैनन्, उनी समाजसेवीका रूपमा परिचित छन्। निःस्वार्थ रूपमा समाजकै सेवामा लागेका अग्रवाल अहिले आर्थिक रूपमा विपन्न, दीन, दुःखीको सहारा बनेका छन्।

सानै उमेरदेखि समाजसेवाप्रति रुचि रहेको बताउने उनी दुई वर्षदेखि पशुपतिमा दैनिक २०० जनालाई निःशुल्क भोजन गराउँदै आएका छन्। भन्छन्, ‘भोजनका लागि पशुपतिमा सबै मानिसलाई खुला छ, भोजनमा दैनिक दालभात नै खुवाउने गरेको छु।’

समाजसेवी बन्नमा बुबाबाट प्रेरणा

अग्रवाल आफू समाजसेवी बन्नमा बुबा गजानन्द अग्रवालको प्रेरणा रहेको बताउँछन्। आफू सानो हुँदादेखि नै बुबा पशुपति जाने दीनदुःखीलाई सहयोग गर्ने गरेको अग्रवाल बताउँछन्। उनी भन्छन, ‘बुबा ३० वर्षको उमेरबाट दैनिक पशुपति जानेआउने गर्नुहुन्थ्यो, अहिले ८५ वर्षको हुनुभयो, अझै पनि उहाँ पशुपति जान छोड्नुभएको छैन।’

बुबाले गरेको सेवा, सहयोग, विपन्न व्यक्तिहरूप्रतिको माया, ममता र स्नेह नै उनको लागि अहिले प्रेरणाको स्रोत बन्न पुगेको छ। उनलाई बुबाले अरूप्रति गरेको सेवा, समर्पण देखेर सानै उमेरबाट बुबाजस्तै समाजसेवी बन्ने रहर पलाएको थियो। उनले आफू ६-७ वर्षको उमेरबाटै बुबासँग पशुपति जाने, बुबाले गर्ने काम रुचिपूर्वक हेर्ने गरेको बताउँछन्।

अग्रवालका बुबाले पनि आर्थिक रूपमा विपन्न व्यक्ति जो बेसहारा थिए, उनीहरूलाई खानेकुरा, लत्ताकपडा दिएर सहयोग गर्ने गर्थे। बुबाले गरेको त्यही सेवा भाव अहिले छोरालाई नपत्याउने तरिकाले सरेको छ। आफू सानो छँदा बुबाले पशुपतिमा गएर कुकुरहरूलाई खानेकुरा दिँदा छक्क परेको अझै पनि याद छ उनलाई। उनी भन्छन्, ‘कुनै पनि जीवित प्राणीलाई भोकाएको बेला खाना खुवाउनु नै सबैभन्दा ठूलो धर्म हो।’

पशुपतिमा दैनिक रूपमा दाल, भात, अचार र तरकारीको व्यवस्था भए पनि बारअनुसार तरकारीको परिकारमा फरक हुने उनले बताए। उनका अनुसार बेसहारालाई भोको पेट राख्न मन लाग्दैन। खाना सकिए चिउराले भए पनि पेट भर्ने काम हुन्छ। पशुपतिमा खाना खुवाउने काम बिहान ९ बजेदेखि सुरु हुन्‍छ।

अग्रवाललाई उनका बुबाले आफू सम्पन्न परिवारको व्यक्ति भए पनि कसैलाई ठूलो सानो भनेर विभेद गर्नुहुँदैन भनेर सिकाउँथे। पशुपतिमा अनाथदेखि लिएर पढेलेखेका, कर्म र भाग्यले साथ नदिएका र राजनीतिमा लागेर असफल भएका विभिन्न मानिसहरू भोजन गर्न आउने गरेको उनी बताउँछन्। तर, उनी सबैलाई समान व्यवहार गर्छन्।

एकदुई दिनको लागि त जो कोही पनि सहयोग गर्न, सेवा गर्न तयार हुन्छ तर निरन्तर सहयोग गर्ने मानिस कमै हुन्छन्, जो कोहीका लागि यो कुरा सम्भव पनि हुँदैन। दैनिक दालभात तरकारी र औँसी, पूर्णिमाका दिन २०० मानिसलाई मिठाई खुवाउनु सामान्‍य कुरा होइन। यो सबै आफ्नो लगाव र सहयोगदाताको साथबाटै सम्भव भएको अग्रवाल बताउँछन् ।

भोको मानिसलाई पेटभरी खाना खुवाउनु नै अग्रवालको खुसी हो, सेवा हो। उनी पशुपतिमा कुनै मानिसलाई पनि भेदभाद गर्दैनन्। भोजन गर्न चाहना भएका सबैका लागि भोजन खुला रहेको उनी बताउँछन्। भन्छन्, ‘भोजनका लागि ८-१० जना कर्मचारी राखिएको छ, स्वंयमसेवीहरू पनि कहिलेकाहीँ सहयोग गर्न आउँछन्।’

कोही असहाय, विपन्न मानिस देख्नेबित्तिकै उनका सहयोगी हात अघि बढिहाल्छन्। पहिले सञ्चारकर्मीको रूपमा काम गरिरहँदा पनि विभिन्न ठाउँमा आर्थिक विपन्नता भएका मानिस, अनाथ, असहाय देखे आफूले सकेजतिको सहयोग गर्ने गरेको उनी बताउँछन्।

समाजसेवाका रूपमा पशुपतिमा मात्र सीमित छैनन् उनी। उनी पशुपतिसँगै भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्र, कान्ति बाल अस्पतालका बिरामीलाई समेत भोजन गराउने गर्छन्। विराटनगरमा पनि बिरामी बालबालिकाको लागि भोजन गराउने काम उनकै हातमा छ।

भगवानले साथ दिएसम्म समाजसेवा

दानवीर दयारामको नामजस्तै विचार पनि उत्तिकै राम्रो छ। उनी समाजसेवाको सम्पूर्ण जिम्मा परमात्मा, पशुपति मन्दिरकै हातमा रहेको बताउँछन्। उनी भन्छन्, ‘भगवानले जहिलेसम्म मलाई साथ दिनुहुन्छ, म जहिलेसम्म सक्छु, सहयोगदाताको साथ जहिलेसम्म मिल्छ, त्यहीँ दिनसम्म मेरा सहयोगी हात अघि बढिराख्नेछन्।’

अहिलेसम्म आर्थिक अभावकै कारण कुनैदिन पनि भोजन गराउने काम रोकिनुनपरेको अग्रवाल बताउँछन्। सहयोगीदाताहरूले धेरथोर सहयोग गरे पनि दैनिक रूपमा भोजन गराउने कामलाई निरन्तरता दिने जिम्मा उनकै हातमा छ। उनी आर्थिक अभावका कारण एकदिन पनि त्यो अभियान बन्द गर्न चाहन्नन्। पशुपतिमा समस्या आएर एकदिन पनि भोजन गराउन नसके २०० भन्दा बढी मानिस भोकभाकै बस्नुपर्ने हुन्छ।

अरू मानिसलाई भोकै राखेर बस्‍न अग्रवालको मनले मान्दैमान्दैन। आफूले सक्दासम्म सहयोगीदाताको साथ र भगवानको साथ सधैँ  मिल्छ भन्नेमा उनी पूर्ण आशावादी छन्। भोकाएका मानिसले पेटभरी खान पाउँदा र खुसी हुँदा आफ्नो पेट यत्तिकै भरिएजस्तो लाग्छ उनलाई। अरूलाई खाना खुवाउन पाउँदा आफूलाई निकै आनन्दको अनुभव हुने बताउँछन् उनी।

बिरामीलाई पनि सहयोग र उपचार

उनले भोकाहरूलाई भोजन त पहिलेदेखि नै गराउँथे। योसँगै अहिले उनी भक्तपुर क्यान्सर अस्पतालमा अन्तिम अवस्थामा रहेका बिरामीको समेत हेरचाह र सहयोग गरिरहेका छन्।

उनले क्यान्सर अस्पतालमा अन्तिम अवस्था अर्थात् मृत अवस्थाका बिरामीको अन्तिम यात्रालाई सम्मान गर्दै दाहसंस्कारका लागि आवश्यक सामान उपलब्ध गराउँदै आएका छन। उनी भन्छन्, ‘क्यान्सर अस्पतालबाट दैनिक एकजनाले संसार छोडिरहेका हुन्छन्, मृत आत्मालाई मोक्ष प्राप्ति होस्, अन्तिम यात्रा सम्मानपूर्वक होस् भन्ने लक्ष्य राखेर नै यो काम सुरु गरेको हुँ।’ बालआश्रमहरूमा गएर बालबालिकाको हेरचाह, आवश्यक सहयोग पनि गर्ने गरेको उनका नजिकका मित्रहरू बताउँछन्।

उनी कहिले सञ्चारकर्मी, कहिले समाजसेवीको रूपमा समाजमा आफ्नो उपस्थिति जनाइरहेका छन्।  उनको साधारण जीवनशैली र मायालु व्यवहार जोसुकैका लागि प्रेरणाको स्रोत बन्न सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.