|

कपिलवस्तु : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका हुलाकी लोकमार्ग चुनावी साझा एजेण्डा बने पनि कार्यप्रगति सुस्‍त छ। करिब एकसय किलोमिटर हुलाकी लोकमार्गको निर्माण सरकारी बेवास्ताका कारण ढिलासुस्ती देखिएको छ। राजनीतिक दलका साझा एजेण्डा बन्नेबाहेक सडक निर्माणको कार्य निकै सुस्त छ। निर्माण भएको ६ दशक नाघिसके पनि अझैसम्म तौलिहवादेखि बहादुरगञ्‍जसम्मको हुलाकी सडक स्तरोन्नति हुन सकेको छैन।

पर्यटकीय मार्गका रूपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माणमा आंशिक प्रगति देखिएको छ। तौलिहवा–बहादुरगञ्‍जको २१ किलोमिटर, बहादुरगञ्‍जदेखि सुरई–चिराईसम्म, खरेन्द्रपुर–कर्मा सडक खण्ड, तौलिहवा–जितपुरको २१ किलोमिटर हुलाकी मार्गहरु अलपत्र अवस्थामा रहेका छन्। तौलिहवा–बहादुरगंजको २१ किलोमिटर लामो हुलाकी मार्ग बन्ने भनेको ६ दशक हुँदासमेत अहिलेसम्म पूर्णरुपमा ग्रावेल हुन सकिरहेको छैन।

पुरानो सडकको कालोपत्रे

भारतीय ठेकेदार कम्पनी गाबर कन्ट्रक्सनले ठेक्का लिएको ४३ किमी लामो सडक खण्डअन्‍तर्गत कपिलवस्तुको दोहनी क्षेत्रको सडक निर्माणका क्रममा स्थानीयले अवरोधसमेत गरेका छन्। पुरानो कालोपत्रे सडकको अवशेष सबै नयाँ सडकमा प्रयोग गरेको कपिलवस्तु नगरपालिका ८ दोहनीका वडाअध्यक्ष शिवकुमार पाण्डेले जानकारी दिए।

'यो सडक दुई लेनको हो, पुरानो सडक भत्काएको कालोपत्रे, गिट्टी सबै बीचमै हालिएको छ, त्यो हाल्न पाइँदैन, मिल्दैन' उनले भने। 'निर्माण कम्पनीको लागत स्टिमेटमा समेत पुरानो कालोपत्रे हाल्ने सम्झौता छैन तर जर्बजस्ती गरिएको छ' अर्का स्थानीय राजेन्द्र पाण्डेले भने। पुरानो सडकको अवशेषहरू पकडीदेखि दोहनी मैनिहवासम्मको सडकको बेसमा प्रयोग गरी रोल गरिएको उनले बताए।

१ अर्ब ९० करोडको ठेक्का

आयोजनाको कार्यालय भैरहवामा रहेको र पेटीमा ठेक्का लिएको नेपाली ठेकेदार चैतन्य निर्माण सेवालाई पटकपटक गुणस्तरहीन वस्तु सडक निर्माणमा प्रयोग नर्गन आग्रह गर्दासमेत वेवास्ता गरेको स्थानीयबासी बताउँछन्। एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा निर्माणाधीन सडक निर्माणको काम भारतको गुजरातस्थित गाबर कन्ट्रक्सनले १ अर्ब ९० करोड नेपाली रुपैयाँमा ठेक्का पाएको थियो। भैरहवा बुद्धचोकदेखि एयरपोर्टसम्म ६ लेन, एयरपोर्टदेखि लुम्बिनीसम्म ४ लेन र लुम्बिनीदेखि तौलिहवासम्म २ लेन सडक निर्माणको काम ठेकेदार कम्पनीले सन् २०२१ सम्म सम्पन्न गरिसक्नुपर्नेछ।

समस्या देखाउँदै काममा सुस्तता

विभिन्न समस्या देखाउँदै सुस्त काम गर्दै आएको गाबरले आन्तरिकरूपमा नेपाली ठेकेदारलाई पेटीमा ठेक्का दिएपछि निर्माणको गुणस्तर खस्कदै गएको हो।  सडक निर्माणको गति गतवर्ष भन्दा यस वर्ष निकै सुस्त भएको प्रदेश सांसद सुष्मा यादवको भनाइ छ। सडक निर्माणकै लागि कपिलवस्तुबाट नदीजन्य पर्दाथ व्यवस्था गर्दासमेत ठेकेदारले पुरानै सडक भत्काएर त्यही सामग्री पुनः प्रयोग गरिरहेको गुनासो बढेको उनको आरोप छ। 'यो अन्‍तर्राष्ट्रियस्तरको पर्यटकीय महत्वको सडक हो, यसमा विशेष ध्यान दिनुपर्छ' उनले भनिन्।

ठेकेदारको लापरबाहीले काममा ढिलाइ

कपिलवस्तु नगरपालिकाले पनि सडक निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गर्दै आएको जनाएको छ। नगरप्रमुख किरण सिंहले जनताले सडक निर्माणबारे व्यापक गुनासो गरेको बताए। 'हामीलाई पहिलै चार लेनको ठाउँमा २ लेन सडक दिएर ठगियो, अब त्यसमा पनि कमसल सडक बनाउन ठेकेदारले चलखेल गरेको छ' उनले भने। सडकमा राम्ररी कम्प्रेसर नगरिएको, पानीको निकास तथा नालाहरु व्यवस्थित नबनाइएको र बेस–सबबेश पनि राम्रो नभएको मेयर सिंहको आरोप छ।

स्थानीय सरकार संग समन्वय समेत नगरि निर्माण गरिएको सडक अनुगमन गर्ने भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजना कार्यालय गैर जिम्मेवार बन्दै गएको नगरपालिकाको दाबी छ। आयोजनाका नेपाली ठेकेदार चैतन्य निर्माण सेवाका मधुसूदन आचार्यले तोकिएको सर्तअनुसार नै काम गरेको दाबी गर्छन्। सडकबाट निकालिएको गिट्टी लगायतका सामान सडक निर्माण कार्यमा भने प्रयोग गरेको स्वीकार गरे।

६ दशकमा  काम जस्ताको त्यस्तै

नेपालकै दोस्रो पुरानो नगरपालिका कपिलवस्तु नगरपालिकालाई व्‍यापारिक नाका कृष्णनगर जोड्न भनी ६ दशक अघि बनेको हुलाकी सडकको अवस्था जस्ताको त्यस्तै छ। सडकको स्तरोन्नति नगरिँदा यो सडकमा हिँड्ने यात्रुले निकै सास्ती भोग्न बाध्य छन्।

२०५४ मा महाराजगञ्‍जका गाबिस अध्यक्ष निर्वाचित भएका अहिलेका प्रदेशसभा सदस्य तथा सामाजिक विकास समिति सभापति दिर्घनारायण पाण्डे सडकको दुरावस्था दखेर निराश बनेका छन्। ‘धेरै आश्वासन प्रतिबद्धता आए’ उनले भने, ‘तर कसैले पूरा गरेनन् ’ अब टाउको दुखाइ गर्दैन्, ‘बन्न लाग्यो भने आफैँ थाहा हुन्छ,’ उनले भने। जानकी माविका पूर्वप्रधानाध्यापक रामबहादुर गुप्ताले ३० वर्ष पढाएर सेवा निवृत्त भए तर हुलाकी सडक जस्ताको तस्तै छ। ‘हुलाकी सडकले विकासको आधार तय गर्थौं’ उनले भने, ‘तर दुई ढाई वर्षमा ग्रावेल फेरिने बाहेक केही काम भएको छैन्।’ रहेका गुप्ताले बताए।

प्रारम्भिक अध्ययन प्रतिवेदन तयार हुने

तौलिहवा–बहादुरजंग–सुरई–चिरई सम्मको ४५ किलोमिटरको सडकको प्रारम्भिक अध्ययन प्रतिवेदन बैशाख मसान्तसम्म तयार हुने भएको छ। हुलाकी लोकमार्ग निर्देशनालय, काठमाडौंले प्रारम्भिक अध्ययन गरिरहेको छ। डिभिजन सडक नम्बर ५ कार्यालय कपिलबस्तुका डिभिजन प्रमुख ईश्वरबहादुर रिजालले निर्देशनालयले प्रारम्भिक अध्ययनको ड्राफ्ट (खाका) प्रतिवेदन तयार पार्ने जानकारी दिए। बाटो कालोपत्रे नहुँदा जिल्लाको प्रमुख व्‍यापारिक केन्द्र कृष्णनगरसँग पनि व्‍यापार व्‍यवसाय विस्तार गर्न समस्या भइरहेको तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयाद्दिन कुर्मीले बताए। बाटोबाट दक्षिण पश्चिमका ४ नगरपालिका र १ गाउँपालिकावासी लाभान्वित हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.