|

काठमाडौं : एउटा कथन छ,'माइलो हुनु भनेको साह्रै घाडो हुनु हो। आमाबाबुको लागि पनि कि कान्छो कि जेठो। माइलो सधैँ चेपुवामा पर्छ।' मलाई यो कथन बकवास लाग्छ। मेरो दाई परिवार, समाज र आफन्तको सबैभन्दा प्यारो छ। कहिलेकाहीँ घर जाँदा तँ फलानोको भाइ हो नि हैनर भन्छन्। आफूलाई भने आफ्नै परिचयले चिनून् भन्ने कत्रो लोभ।

कहिलेकाहीँ म जिस्काउछु, 'सबैले तिम्रै भाइ भन्छन् त, मरेको जुनी भयो सर'

'कसको भाइ भन्दिए, सरको आँतमा सास भरिन्छ त?' उसले खिस्याउँछ।

परिचयअनुसार नाताले दाजुभाइ, सम्बन्धले मित्रता हो हाम्रो। पारदर्शिता मित्रताको विशेषता हो। यो विशेषताले चलेको छ हाम्रो दैनिकी।

बैनीहरू सानै थिएँ।  म नै खाउँ, म नै लगाउँ, म नै बोलूँ। उसबेला सबैको मायाले पुल्पलिएकोले मेरो हैकमी पारा थियो घरमा। उसले मेरो एकाधिकारमा कहिल्यै दख्खल पनि राखेन। सायद केटाकेटी भनेर उपहास गर्दो हो।

उसका खुसीदेखि पीडासम्मका घटनाको साक्षी छु म। उसले आफ्ना मनका कुनै पनि आवेग र असन्तुष्टि प्रकट गरेन मसँग। जान्छ कहाँ? खान्छ के? बोल्छ कस्तो? म खोजिनीति गर्थे।

 एकदिन गर्लफ्रेण्ड भेट्ने उसको योजना रहेछ। कहीँबाट पार नलागेपछि,उसले  गोजी सुख्खा भएको गुनासो पोख्यो।  हजार रुपैयाँको  व्यवस्था गरिदिन हात जोडेर अनुरोध गर्‍यो। आफूभन्दा ठूलाले हात जोडेको नसुहाउँदो लाग्छ मलाई। त्यसबेला भने क्रान्ति नै सफल भएझैँ लागेको थियो। म बाहाना बनाउनुको एक्‍स्‍पोर्ट थिएँ। किताब किन्न भनेर आमासँग हजार फुत्काएको थिएँ उसका खातिर। त्यसदिनदेखि ऊ र ममा केही कुरा लुकेन। सब फुक्काफाल। विचरी आमैलाई के थाहा क्लासको किताबभन्दा माथि उठेर छोराले जिन्दगी पढ्ने किताबका लागि पैसा फुत्काएको कुरा। त्यसबेला बहाना बनाउन सिकेको अनुभव अहिले अफिसमा काम लागेको छ। 

बच्चैदेखि उसले बातले भन्दा हातले  सम्झाउथ्यो मलाई। अहिले त उमेर बढ्यो। हातलाई आराम दिएको छ। आज मोबाइल किस्सा सुनाउँछु। बच्चामा ऊ कठोर थियो भन्ने लाग्दालाग्दै पनि अहिले जब मैले मेरो खल्तीको मोबाइल हेर्छु। ऊभित्रको अदृश्य मायालु स्वभाव सम्झन्छु कायल हुन्छु। किस्सामा भावुकता  पनि आउँला। सम्बन्ध सियोको टुप्पोमा हुन्छ। कुनदिन कहाँ गएर घोच्छ थाहा छैन। समाजमा दाजुभाइमा मारकाट भएको उदाहरण धेरै देखेको छु।  

जमाना एण्ड्रोइड मोबाइलको हो। प्रविधिको विकासले मोबाइलमा आउने परिवर्तन हेर्ने र देख्न बाँकि नै छ। अहिले मसँग पनि यस्तै एक ब्राण्डको मोबाइल छ। यो विज्ञापन भने होइन। मलाई यो मोबाइलको मालिक हुने श्रेय पनि उसैले दिएको हो। जीवनयात्रामा स-साना भोगिएका घटनाहरू स्मृतीमा अटेसमटेस छन्। जहाँ म्युजिक एक्सप्रेस मोबाइलको एक अंश पनि रहेछ।

उसको र मेरो पढाईको सहयात्रा तीन कक्षाबाट सुरू भयो। त्यसबेला उसको भाग्य बिग्रेर फेल भएको थियो। त्यसपछि पढाइमा उसको मेरो सधैँ शीतयुद्ध चलिरह्यो। बिनासंवाद।

म चाहन्नथें उसले पढाइमा मलाई जितोस्। उसले कहिल्यै किताब पढेको थाहा भएन। रिजल्टमा भने आक्रामक उपलब्धि निकाल्थ्यो।

म मनमनै मुर्मुरिन्थे, 'सालेलाई सरले माया गरेर यत्रो नम्बर दिए होलान्।'

यसैगरी बिते हाम्रा स्कुले दिनहरू। पारीवारीक जिम्मेवारीले ठूल्दाइ वैदेशिक यात्रातिर हिँडिसक्नुभएको थियो।

नौ पढ्दा ठूलो दाइले उर्दी जारी गर्नुभयो। 'एसएसलसी सकेपछि दुई भाइमध्येले एउटाले ल्यापटप पाउँछौं। अर्कोले मोबाइल। कसले कुन लिने?'

दाइले मोबाइल लिने भयो मैले ल्यापटप।

एसएलसीको रिजल्टले हाम्रो सहयात्रा टुक्रियो।

उसले मलाई आमा, बुबा र दाइको रूपमा व्यवहार गर्थ्यो होला। दुनियाँका हरेक दाई र दिदीहरूले आफ्ना भाइबैनीलाई यही रूपले माया, ममता र व्यवहार गर्छन्। तर, उसले गरेको व्यवहार अलि निर्दयी लाग्थ्यो मलाई। उसले माया देखाएन। उसका अभिव्यक्ति कठोर हुन्थ्यो, जस्तो व्यवहार बुबाको हुने गर्थ्यो। म आफैँले उसलाई  अलि बढी नै दुस्‍मन सम्झिए कि। सायद माया देखाउन नजान्ने पुरुषको गुण पनि होला। उसको निर्दयीपनाको हाविले ममता भन्ने गुणलाई गौढ बनाइदियो। अहिले मेरा बैनीहरूलाई पनि उसको कान्छो दाइको व्यवहार निर्दयी नै लाग्छ होला।

भाग्यले म धनाड्य पढ्ने स्कुलतिर लागेँ। मलाई धनाड्य बाबुआमाका सन्तानहरू मन पर्दैनथ्यो। म उनीहरूसँग बोल्न त पर जाओस नजिकिन पनि अल्छि मान्थें। पछि मलाई थाहा भयो मलाई धनाढ्य प्रवृत्ति भएकाहरू मन नपर्ने रहेछ। मेरा लागि कहिल्यै नदेखेको वरिष्ठ पढ्ने कलेज जानु त्यसबेला सपना थियो। सपना पूरा भयो। पिरलो थपियो। उनीहरूको जस्तो लाइफस्टाइलसँग दाजिने कुरा मेरा लागि सम्भव थिएन। दुई चार दिन कलेज गएपछि निष्कर्ष निकाले, 'यो कलेज मेरा लागि होइन।' मैले कलेज परिवर्तन गरे। बिरालोले बच्चा सारेझैँ। तीन दिनपश्चात सरले घरमा आएर भने, 'किन आत्तिएको तँ? तेरो जिम्मा मलाई दे।' सरले मेरो जिम्मा लिएपछि म पुन कलेज पुगे। त्यहाँ दुईजना साथीहरू पनि भर्ना भए, जो मसँगै स्कुल पढेका थिएँ। सुरज सुवेदी र सुदीप खड्का।

उनीहरू त्यही ठाउँका रैथाने थिएँ। जीवनयापन गर्ने तौरतरिका भने साधारण। म ढुक्क भएँ। तर,केही साथीहरू पनि सर्कलमा समावेश भएँ जसमा धनाढ्य प्रवृत्ति हाबी थियो।

कलेज जाने क्रम जारी रह्यो। मिग३३ र फेसबुकको जमानाले हामीलाई छोएको थियो। सबैले मिग र फेसबुकका कुरा गर्थे। साथीहरूले फेसबुकमा फोटो हालेको कुरा गर्थे। लाइक कमेन्टका कुरा गर्थे। मेरो एकाउण्ट थियो। चलाउने माध्यम थिएन। बरु दाइले ल्यापटपभन्दा पनि मोबाइल किनिदिएको भए हुने लाग्थ्यो।

दिनहरू आफ्नै गतिमा हिँडिरह्यो। मोबाइलको आवश्यकता थियो। भन्ने कसलाई? दाइलाई भन्नुपर्ने थियो। जुन मोबाइल लिएर दाइ पहिलोचोटि विदेश जानुभएको थियो। ल्यापटप ल्याउँदा पनि उहाँको उही मोबाइल थियो। जसले मोबाइल फेर्न सकेन उसलाई फेरि दु:ख दिनु त्यति उचित थिएन। मोबाइलका लागि एक दुईपटक एक दुई थोपा आँशु चुहाएको भए पाउने निश्चित पनि थियो। मन मानेन्।

एक दिन कलेजको एउटा साथीले भन्यो, 'हेर बेइज्जत,एउटा मोबाइल पनि बोक्न सक्दैनस्। मोबाइल किन्न लगा आमालाई, छोराछोरीको आवश्यकता पूरा गर्न नसक्ने भए किन जन्माएको भन्दे।'

उसले कसरी भन्यो थाहा भएन्। मलाई नराम्रो झट्का दियो। गरिबलाई सानै कुराले पनि छुन्छन्। उसले मलाई तौलेको भएँ, सात खुन माफ हुन सक्थ्यो। साथीले आमामाथी मजाक गर्‍यो। यो मेरा लागि सह्य हुन सक्ने कुरा थिएन।

त्यसपछिका दिन म कलेज गइनँ। आमालाई बिरामी भएको नाटक गरेँ। दुई दिनसम्म पनि कलेज नगएको देखेपछि दाइले सोध्यो, 'कलेज किन नगएको?'

मैले बेलिविस्तार सुनाए।

'नहुने मुलाले सुन्ने आँट राख्न सक्नुपर्छ।' दाइ बोल्यो।

मैले उसका कुरालाई मतलव राखिन। आफ्नो पक्षको भए पो मतलब राख्नु त।

मलाई कुनै पनि हालतमा मोबाइल चाहिएको थियो। यस्तो लाग्थ्यो 'सास बिना बाँच्न सक्छु। तर, साथीले गरेको अपमानको शिकार भएर म कुनै पनि हालतमा बाँच्न सक्दिनँ।' अपमानित हुनुको एउटै कारण मोवाइल थियो।

दाइसँग मोबाइल माग्नु पनि सक्ने अवस्था मसँग थिएन।। उसले दिँदैनथ्यो पनि। उसले पनि त भर्खरभर्खर मोबाइल पाएको थियो।

सायद दाइ नभएको भए मोबाइल मेरो हातमा हुने थियो। मोबाइल पाउनका निम्ति मैले कि उसको मृत्युको कामनासमेत गरेँ। आफ्नो अपमानभन्दा अर्काको मृत्यु मेरा लागि सामान्य थियो। अहिले सम्झिँदा पो लाजले पानी पानी हुन्छु।

मेरो मानसिक तनावबाट आमा बेखबर हुनुहुन्थ्यो। छोराको अनुहारको रंग सुकेको कागतीको फल जस्तो देखेपछि आमाले खोजिनीति गर्नुपनि भयो। तर, जोडबल गर्नुभएन। हुर्केका छोराहरूलाई धेरै कनकन गर्ने आमाको बानी हटिसकेको थियो।

तिनदिन बैचेनीमा बित्यो। दाईले बेलुका सुत्ने बेला आदेश दियो, 'भोलिदेखि कलेज जालास्। नत्र घुचुक खान्छस्।'

म पनि कम्ती कहाँ थेर, सिरकभित्रबाटै जवाफ फर्काएँ 'साला! तँ जालास् कलेज। कलेज गएर पढ्नुपर्ने बाध्यता तँलाई छ। मलाई होइन। दुई दिन पढेर पास हुने हैसियत छ मेरो।'

त्यसपछि दाइ बोलेन। म सिरकभित्रै गुम्सिरहे। साथीले गरेको अपमानित शब्दले दिमागमा डेरा जमाइरहेको थियो। रातभर कुना फर्के। छेउ फर्के। कतिखेर निद्रा परेछ। बिहान साढे पाँच एक्कासि मेरो सिरानीमा आलार्म बजेको सुने। सपना हो कि भनेर त्यति ध्यान दिइन्। लगातार रिङ बजिरह्यो। सिरानीमा म्युजिक एक्सप्रेसको मोबाइल थियो।

दाइको खाट हेरेँ। ऊ थिएन। ह्याङरमा टाँगिएको उसको कलेज ड्रेस पनि थिएन। ऊ इतिहासमा पहिलोचोटि मभन्दा पहिला कलेज हिँडेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.