|

कालीकोट : कर्मचारी समायोजनका कारणले जिल्लाका स्थानीय तहको काम कारबाही प्रभावित भएको छ। स्थानीय तहमा कर्मचारी नहुँदा काम कारबाही प्रभावित भएको हो।

कालीकोटका नौ वटा स्थानीय तहका कर्मचारी समायोजनका क्रममा अन्यन्त्र सरुवा भएको र समायोजन रोजेर स्थानीय तहमा अन्य कर्मचारी आउन नमान्दा कर्मचाीरी अभाव भएको हो।

विकास निर्माणमा असर

कर्मचारी अभाव हुँदा स्थानीय तहको विकास निर्माणका काम प्रभावित भएका छन्। कर्मचारी नहुँदा उपभोक्ता समितिले योजनाको रकम पेश्की र फर्छ्यौट हुन नसकेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘गाउँपालिकामा एकजना पनि कर्मचारी छैनन्,’ उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत, लेखापालको सरुवा भइसक्यो। नयाँ कर्मचारी नआउँदा समस्या भएको छ।’

पलाता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुश्मा समायोजनको क्रममा संघमा परेपछि गत चैत १ मा उनी रमाना लिएर गए। उनको ठाउँमा सरकारले कञ्चनपुर घर भएका खेमप्रसाद चौधरीलाई सरुवा गरेको जानकारी गाउँपालिकालाई गरायो। तर, अनिवार्य अवकाश हुन दुई वर्ष मात्र बाँकी रहेका चौधरीले विकटमा आउन मानेनन्। 

यस्तै, शुभकालिका गाउँपालिकामा २२ कर्मचारीको दरबन्दी छ। यहाँ कार्यरत कर्मचारले समायोजनका क्रममा प्रदेश र संघ रोजेर गए। अहिले गाउँपालिका कर्मचारीविहीन छ।

प्रमुख प्रशासकीय अधिकृत र लेखापाल केन्द्रमा सरुवा भएपछि योजनाको भुक्तानी दिनेलगायत काम प्रभावित भएको अध्यक्ष खडानन्द चौलागाईले बताए।

पाठ्यपुस्तक अभाव

कर्मचारी समायोजनको असर विद्यालयमा समेत परेको छ। पाठ्यपुस्तकको रकम स्थानीय तहमार्फत भुक्तानी गर्ने सरकारले निर्णयका गरेको छ। तर, स्थानीय तहमा प्रमुख जिम्मेवारीमा रहेका कर्मचारी नहुँदा रकम भुक्तानी रोकिएको छ।

‘कर्मचारी नहुँदाको हामीले पाठ्यपुस्तकको रकम समेत विद्यालयको खातामा हाल्न सकेका छैनौं,’ तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले भने, ‘नयाँ शैक्षिक सत्र सुरु भइसकेकाले विद्यालयमा असर पु¥याएको छ।’

पाठ्यपुस्तकको रकम विद्यालयको खातामा नहाल्दा जिल्लाका कयौं विद्यालयका विद्यार्थीहरुको पढाइ समेत प्रभावित भएको छ। 

कर्मचारी खोज्दै काठमाडौं 

स्थानीय तहमा कर्मचारीविहीन भएपछि जनप्रतिनिधिहरु कर्मचारी खोजीका लागि काठमाडौं गएका छन्। समायोजनपछि कर्मचारी अभाव भएपछि रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बराल कर्मचारी माग्न संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै पुगेका छन्।
 
कर्मचारी नहुँदा कामकाजमा प्रभावित भएको र नयाँ कर्मचारी आउन नमानेकाले काठमाडौं गएको प्रमुख बरालले बरालले बताए। ‘कर्मचारीको अभाव भएका कारणले मन्त्रालयमा कर्मचारी चाहियो भनेर पुगेको छु,’ उनले भने, ‘स्थानीय तहमा समायोजन रोजेका कर्मचारी पनि आउन मान्दैनन्।’

कर्मचारी खोजीका लागि सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही र नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्ट पनि काठमाडौंमा पुगेका छन्।

आउन मान्दैनन् कर्मचारी

कर्मचारी समायोजनमा कालीकोटको स्थानीय तहका खटाएका अधिकांश कर्मचारी आउन मानेका छैनन्। पलाँता गाउँपालिका सरुवा भएका खेमप्रसाद चौधरी र सान्नी त्रिवेणीमा सरुवा गरेको जानकारी गाउँपालिकामा आयो। तर, उनी गाउँपालिकामा नै नपुगी पुनः सरुवा भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.