|

धनकुटा : ‘माननीय सदस्यहरू, सम्माननीय सभामुख’ भनेर एकजना कर्मचारी जस्तै देखिने व्यक्तिले संसद् बैठकमा सभामुखको आगमन भएको जानकारी गराए। त्यसपछि सभाहलमा बसिरहेका सबै उठे एकजना सभामुख परिचयपत्र लगाएकी र अर्को जना महासचिवको परिचयपत्र लगाएका व्यक्ति हलमा प्रवेश गरे।

राष्ट्रिय गानको धुन बज्यो। त्यसपछि सभामुखले बैठक सुरुवात गरिन्। उनले ६ जना सांसदलाई शून्य समयको १/१ मिनेट समय दिइन। शून्य समयको सदुपयोग गर्दै सांसद आकृति भण्डारीले नेपाली समाजमा लाजका कारण छात्राले महिनावारी भएको बेला टाउको दुख्यो भन्नुपर्नेको अन्त्य कहिले होला यस विषयमा सरकारले केही काम गरेको छैन भन्दै सभामुखमार्फत सरकारलाई प्रश्न गरिन्। उनले भाषण र नाराले मात्रै चल्छ भन्दै सदनलाई जानकारी गराउन अनुरोध गरिन्। त्यो विषयले हलमा सहभागीलाई गम्भीर बनायो। 

सोमबार धनकुटामा नमुना संसदको अभ्यास गर्दै नमुना युवा सांसदले शून्य समयमा सरकारका काम कारबाहीबारे छलफल गर्दाको क्षण थियो त्यो। त्यहाँ प्रतिपक्षीले सरकारको विरोध गरे। सत्तापक्षले सरकारको समर्थन गरे। सत्तापक्षकै कतिपय नमुना सांसदले छुवाछुत, भेदभाव, बोक्सीप्रथा लगायतले प्रश्रय पाइरहेको भन्दै सरकारको आलोचना गरेका थिए।

साइबर क्राइम, विकृति विसंगति,चोरी डकैती, लुटपाट जस्ता घटनामा समेत नियन्त्रण हुन नसकेको विषय सत्तापक्षकै कतिपय नमुना सांसदले उठाएका थिए। सरकारले युवा तथा किसान लक्षित कार्यक्रम ल्याउन नसकेको गुनासो सदनमा उठेको थियो। शून्य समय, विशेष समय, मन्त्रीसँग प्रश्नोत्तर, प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा मन्त्रीले जवाफ दिए। नमुना युवा प्रधानमन्त्री भूमिका पोख्रेलले सरकार हरेक नागरिकको बाँच्न पाउने अधिकारका लागि तयार रहेको बताएकी थिइन। प्राकृतिक विपत्तिमा तत्काल सरकारले उद्दार गरेको, त्यसपछि उपचार र राहत सेवा दिएको भन्दै सरकारका तर्फबाट कुनै किसिमका कसर बाँकी नरहेको उनले बताएकी थिइन्।

संघीय संसदको झल्को दिने गरी व्यवस्थापिका संसद, यसको प्रक्रिया साथै नीतिगत व्यवस्थाबारे गरिएको नमुना अभ्यास जिल्ला युवा समिति र धनकुटा नगर समितिले गरेको हो। सहभागी नमुना प्रधानमन्त्री, सभामुख र मन्त्रीबाहेक अन्य नमुना सांसद सवै आ–आफ्नो मौलिक पोसाकमा सजिएका थिए। 

धनकुटा नगरपालिकाको १० वटै वडाबाट ३/३ जना युवाले सहभागिता जनाएको कार्यक्रम धनकुटा नगरपालिकाको हलमा ३ दिनसम्म चलेको थियो। तेस्रो दिन नीति तथा कार्यत्रम पास गर्दै संसद बैठक टुंगिएको जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङले बताए। उनका अनुसार संसदमा सरकार, संसद र प्रतिपक्षीले खेल्नुपर्ने भूमिकाबारे अभ्यास गरिएको थियो। उनले चुनावी प्रक्रियाबाटै प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, गृहमन्त्री र अन्य मन्त्री चयन गरिएको जानकारी दिए। 

सभामुखमा अस्मिता निरौला चुनिएकी थिइन्। राष्ट्रपतिमा सावित्रा राई, प्रमुख प्रतिपक्षी दलका नेता आकृति राई चुनिए। संसदमा सदस्य ३० मध्ये २७ जना सांसद प्रधानमन्त्रीको चुनावमा सहभागी भए। प्रधानमन्त्रीमा भूमिका पोख्रेल चुनिइन। त्यसपछि गृह मन्त्रीमा विनय राई, अर्थ मन्त्रीमा सजन शाक्य, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा विना गौतम, युवा तथा खेलकुद मन्त्रीमा संगीता राई, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सुजाता तिमल्सिना र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नर्वदा मिश्र चुनिए। 

नमुना संसदको अभ्यास सुरुका २ दिन प्रशिक्षण दिइएको थियो त्यसपछि बैठकको अभ्यास गरिएको थियो। संसदमा विधेयक निर्माण, दर्ता, पारित गर्ने प्रक्रियाको अभ्यास गरिएको थियो। युवा संसद र सरकारको अभ्यास गर्दै युवाका समस्या, मुद्दा र सम्भावनाका विषयलाई सुझावको आधारमा धनकुटा नगरपालिकामा पेस गरिने जिल्ला युवा समितिका अध्यक्ष छाराहाङले बताए।

नमुना युवा संसद बैठकको पूरै हेरेका प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले संसदीय अभ्यासले युवामा अनुशासन सिकाएको बताए। ‘संसदीय अभ्यासले भावी दिनमा युवालाई संसद र सरकार कसरी चलाउने भन्ने सिकाएको छ’ उनले भने, ‘वास्तविक संसदमा भन्दा कार्यक्रम सभ्य रहेको देखियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.