|

कपिलवस्तु : जिल्लाकाे भूमिगत पानीकाे स्राेतमा उच्च आर्सेनिक रसायनको मात्रा देखिएको छ। कपिलवस्तुका तीनैवटै नगरपालिकावासीले स्वास्थ्यको दृष्टिले ‘मन्द विष’ रहेको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्।

२०६५ सालमा युनिसेफको सहयोगमा तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कपिलवस्तुले घर-घरमा गएर आर्सेनिक परीक्षण गर्दाको क्रममा साबिक महेन्द्रकोट, थुन्हीया, उदयपुर, महाराजगंज, दुबिया र बुड्ढी गाविसलगायत दर्जनौं गाउँ आर्सेनिकको जोखिममा परेका थिए। सो अध्ययनले बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका र महाराजगंज नगरपालिकाका दर्जन बढी गाउँ आर्सेनिकयुक्त पानी पिउन बाध्य भएको तथ्यांक निकालेको थियो।

१० वर्षयता यस जोखिमयुक्त क्षेत्रमा न आर्सेनिक नै परीक्षण भएको छ न पानी शुद्धीकरण गरिएको छ। यो ठाउँका स्थानीय डराउँदै ‘मन्द विष’ मानिने आर्सेनिक रसायनयुक्त पानी पिउन बाध्य छन्। ‘हेर्दा नल्का (हेण्डपम्प) बाट निकालेको पानी सफा हुन्छ।

बाल्टीमा राखेको पानी एक घण्टा पनि नबित्दै हेर्दा हेर्दै दूधमा तर लागे जस्तो हुन्छ’ शिवराज नगरपालिका ११ का ५० वर्षीय गोपाल केसीले आफूले पिउने पानी देखाउँदै भने, ‘त्यही पानीले लुगा धुँदा भने पहेँलो पहेँलो हुन्छ।' अर्का स्थानीय लक्ष्मी पौडेलले भनिन्, 'बाढीको बेला यस्तो पानी खानु हुन्न भनेर अर्ती लाउने त धेरै आउँछन्। तर हाम्रो नल्काको पानी के भएको हो कोही भन्दैनन्। जोखिम हुन्छ भन्ने डर भए पनि हामीले खाइरहेका छौं।’

थुन्हियाका स्थानीय छिमेकी ६० वर्षीय फुलमती थापा पनि त्यस्तै तर लाग्ने पानी खान बाध्य भएको बताइन्। उनले भनिन्,‘हामीले खाने पानीमा के छ भनेर कसैले भन्दैन। तर हेर्दा राम्रो पानी आउँछ। हामी खान्छौं। भाँडामा राखेको पानी हेर्दा हेर्दै मैलो हुन्छ। के भएको हो? कसैले भन्दैनन्।’ उनले आफूहरूले खानेपानीमा आर्सेनिकको खतरा छ भन्ने सुनेको गुनासो गरे। सोही स्थानकी संचारकर्मी शारदा कुँवरले दशकअघि आर्सेनिक रसायनको परीक्षणका लागि आउँदा सिंगो गाउँभरमा ३ वटा नलको पानी उपभोग गर्न मिल्ने बताइएको सम्झिइन्। उनले दशक पार गर्दासमेत खानेपानीको शुद्धता नापजाँच नगरिनु उपभोक्ताको स्वास्थ्यमाथिको खेलवाड रहेको बताइन्।

जिल्लाका आर्सेनिक प्रभावित क्षेत्रका उक्त गाउँमा हेण्डपम्प गाड्दा कम्तीमा १५ फिटमै पानी आउँछ। कम गहिराइमै पानी आउँदा कम पाइप प्रयोग हुने र खर्च पनि कम हुने भएकाले स्थानीय गहिराइमा हेण्डपम्प गाड्दैनन्। यहाँका हेण्डपम्प १५ फिटदेखि मुस्किलले ५० फिट गहिराइमा गाडिएका छन्। यस्तो पानीमा आइरन र आर्सेनिकको सम्भावना रहने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रूपन्देहीको सम्पर्क कार्यालय कपिलवस्तुले जनाएको छ।

जिल्लामा ८७ प्रतिशत बढी घरपरिवारमा पानीको पहुँच छ। तर, कपिलवस्तुमा अझै पनि दर्जन बढी गाउका नागरिक आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्।खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रूपन्देहीको कपिलवस्तुका संपर्क कार्यालयअनुसार तत्कालीन दर्जन बढी गाविसमा पिउन अयोग्य आर्सेनिकयुक्त पानी पिउने गरिएको छ।

एक दशकअघि युनिसेफ र खानेपानी सरसफाइ सवडिभिजन कार्यालयको संयुक्त टोलीले तत्कालीन ३ वटा निर्वाचन क्षेत्रमा रहेका २४ हजार ६०१ घरघुरीमा आर्सेनिक रसायनको नमुना परीक्षण गरिएको थियो। त्यसमध्ये ४८९ ट्युबवेलको पानी अयोग्य रहेको कार्यालयका इन्जिनियर खरानन्द इसरले बताए। उनले तत्कालीन आर्सेनिक परीक्षणको रिपोर्टबारे प्रष्ट पार्दै भने,‘५० पीपीबीभन्दा बढी आर्सेनिक रसायन भएको पानी मात्र पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ।आर्सेनिक का बारेमा अझै पनि जिल्लाका अधिकांश नागरिकलाई जानकारी छैन।'

नमुना परीक्षणका क्रममा खान अयोग्य नलको पानी नखान आग्रह गरिएको इन्जिनियर इसरले बताए। उनले आफ्नो नलको आर्सेनिक परीक्षण गराएर पानी पिउनु पर्ने बताए। ५० पिपिबी भन्दा माथीको पानी खान अयोगय भए पनि ४८९ परिवारले बाध्य भएर पानी खाने गरेका छन्। उनले २०६५ सालपछि आर्सेनिक देखिएको ठाउँमा त्यसको विकल्प बारे के गर्ने भन्ने कुनै कार्यक्रमसमेत नआएको कारण जाँच गर्ने सिवाय अरु केही गर्न नसकिएको स्पष्ट पादै भन्छन्‘ शुरुमा सफा देखिने पानी केही समयमै फोहर हुँदा स्थानीयमा अनुमानका आधारमा आर्सेनिक हो कि भन्ने डर छ।

 लुगा फोहर हुने वा पानी धमिलो हुँदैमा आर्सेनिक नै हो भनेर नडराउन र आइरन बढी भएको पानीले पनि लुगा धुँदा पहेंलो हुने अरु कारण पनि हुनसक्छन्। यही कारण डराउनु पर्दैन।’ बुद्धभूमि नगरपालिका १ महेन्द्रकोटमा ५५ वटा नलमा अधिक आर्सेनिक भएकाले खान अयोग्य घोषित गरिएको छ। तर पिउने पानीको अभावले ती परिवार अझै सोही नलको पानी खाने गरेका छन्।

वडा अध्यक्ष तेजबहादुर बस्नेतले आफ्ना वडामा रहेको नलहरूमा आर्सेनिकयुक्त पानी भएकाले खानेपानीको समस्या भएको देखिएकाले त्यसका समाधानका लागि पहल गर्ने बताए। यस्तै शिवराज नगरपालिको थुन्हीयामा ६८ नलमा, महाराजगंजको उदयपुरमा ४६ नलमा, महाराजगंजमै ६२ नलमा अधिक आर्सेनिक भेटिएका छन्। यसैगरी दुबियामा ३६, बुडढीमा २६ नलको पानीमा आर्सेनिक भेटिएका छन्।

आर्सेनिकयुक्त पानीको नियमित सेवनले क्यान्सर, पेटसम्वन्धी रोग, छाला लाग्ने अधिक संभावना हुने डाक्टरहरू बताउछन्। जिल्लामा अझै पनि धेरै परिवारहरूले आर्सेनिकयुक्त पानी खान बाध्य भएकाले स्थानीय निकायले शुद्ध पानीका लागि ठाउँ ठाउँमा खानेपानीको ब्यवस्था गर्नुपर्ने उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डेयले बताए। उनले आर्सेनिकबारे प्रचारप्रसार गरी खानेपानीको आर्सेनिक परीक्षणको समेत व्‍यवस्था मिलाउनुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.