कञ्चनपुर : गहुँ बाली भित्र्याएर फुसर्दिला बनेका कञ्चनपुरका थारु समुदायका मानिस माछा मार्न वस्ती छेउछाउका नदी, खोना र तलाउमा व्यस्त छन्। नदी, खोनानाला र तलाउमा माछा मार्नु थारु समुदायको परम्परागत चलन हो।
यस समुदायका युवादेखि बुढापाकाहरु बिहानीको झिसमिसेमै खाना बाकेर नदी तलाउमा पुग्ने गरेका छन्। उनीहरु घरबाट ल्याएको रोटी र भातसँगै आफूले मारेका माछा पकाएर खाने गर्दछन्। बचेको माछा परिवारका लागि बोकेर साँझ घर फर्किन्छन्। ‘प्रायः फुसर्द नै हुँदैन,’ पुनर्वासका रामचरन रानाले भने, ‘फुर्सद हुने भनेकै गहुँ भित्राएपछि हो। यसलाई सदुपयोग गर्दै माछा मार्दै आएका छौं।’
बैशाख–जेठमा नदी तलाउमा पानीको मात्रा कम हुन्छ। यस्तै बेलामा माछा मार्न सजिलो हुने र माछा पनि अन्य समयभन्दा बढी पाइने भएकाले माछा मार्नकै लागि बालकदेखि बुढापाकासम्म मरिहत्ते गर्ने गरेको नरेन्द्रप्रसाद चौधरी बताउँछन्। ‘नदी तलाउमा मनोरञ्जन पनि हुन्छ,’ उनले भने, ‘पानीमा बढी समय बस्दा गर्मी पनि लाग्दैन।’
उहिले एक दिनमै एक जनाले जाल खेलेर १० देखि १५ किलोसम्म माछा मार्थे। तर, पछिल्लो समय नदी, खोला र तलाउमा बिषादी प्रयोग हुन थालेपछि माछा पाउन छाडेको बेलौरी कुण्डाका बन्धो राना बताए। ‘हाल दिनभरी एक किलो माछा पाउन पनि मुस्किल छ,’ उनले भने, ‘बिषादीका कारण धेरै प्रजातिका माछा लोप भैसकेका छन्। ठूला प्रजातिका माछा त पाउनै छाडे।’
माछा पाउन छाडे पनि पुर्खाले गर्दै आएको माछा मारेर खाने चलनलाई बचाइराख्नकै युवा देखि बुढापाकाहरु समूह बनाएर माछा मार्नका लागि नदी, खोला र तलाउ पुग्ने रानाको भनाइ छ। थारु समुदायले यस बेला मारेर ल्याएका माछाको सुकुटी बनाएर पछिसम्म खाने गर्दछन्। नदी तलाउ लगायतमा माछा कम पाइन थालेपछि धेरैले घरमै पोखरी बनाएर माछापालन गरी आम्दानी गर्दै आएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।