कञ्चनपुर : पुनर्वास नगरपालिका १ भकुण्डामा छ करोड ९१ लाख ६ हजार ३१३ रुपैयाँको लागतमा राना थारु संग्रहालयका लागि भवन निर्माणको अगाडि बढाइएको छ।
पर्यटन विभागको सहयोगमा निर्माण भइरहेको राना थारु संग्रहालय भवन निर्माणको कार्य ड्रागन विएनसी जेभी काठमाडाैं नामक निर्माण कम्पनीले गरिरहेको छ।
संग्रहालयका लागि पाँच वटा भवन, पर्खाल र मन्दिर निर्माण भइरहेको निर्माण कम्पनीका नरेश कार्किले बताए। भवन निर्माणको कार्य ७० प्रतिशत पूरा भएको छ।
दुईवर्ष अघिदेखि निर्माण थालिएको संग्रहालय भवन निर्माणको कार्य वि.सं २०७७ को असार मसान्तभित्र सम्पन्न गर्नु पर्ने लक्ष्य निर्धारण गरिएको छ।
संग्रहालयमा राना थारु समुदायका संस्कृति झल्कने पहिरन, गहना, दैनिक प्रयोग गर्ने परम्परागत माटा, काठका, धातुका वस्तुहरू, कृषिमा प्रयुक्त हुने परम्परागत सामग्री, माछा मार्न प्रयोग गरिने सामग्री र रहन सहन बारेका वस्तुहरू राखिने छन। निर्माणाधीन राना थारु संग्रहालय तीन विघा क्षेत्रफलमा फैलिएको छ।
संग्रहालय स्थापना भएपछि यस क्षेत्रका बासिन्दाको आर्थिक अवस्थमा सुधार हुने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाले राना थारु संग्रहालय निर्माणको कार्य अगाडि बढेझै गरी यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउनका लागि सडकको विग्रँदो अवस्थामा सुधार ल्याउन माग गरेका छन। हिउँदमा कच्ची सडकमा धुलो उडेर सवारी साधान गुडाउन निकै समस्या रहेको स्थानीय दिनेश रानाले बताए। ‘वर्षातमा सडक हिलाम्मे हुने भएकाले सवारी साधान गुडान त परको कुरा हिड्न मुस्किल हुने गरेको छ’, उनले भने।
पुनर्वास नगरपालिकाले संग्रहालय सम्म पुग्ने सडकको स्तरोन्नतिका लागि आगामी आवमा कार्य अगाडि बढाइने जनाएको छ। नजिकैको बेलौरी नगरपालिकाले समेत सडकको स्तरोन्नतिका लागि सडकमा ग्राभेल राख्ने कार्य शुरु गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।