|

जनकपुरधाम : कमला नदी किनारमा शव जलाउने निश्चित ठाउँ पनि छैन, व्यवस्थित शव दाहस्थल पनि छैन। यत्रतत्र शवको दाहसंस्कार वर्षाैंदेखि भइरहेको छ। जसले गर्दा धनुषा र सिरहाको सिमाना भएर बग्ने कमला नदी दिनानुदिन फोहर हुँदै गएको छ। 

कमला नदीसँग जोडिएको दुई जिल्लाको बिभिन्न नगरपालिका तथा गाउँपालिका आसपासका क्षेत्रहरूमा शव जलाउँदा नदी नै फोहरै-फोहरले भरिएको छ। कमला नदी किनारमा वर्षौअघिदेखि शव जलाउँदै आइएकोमा अब त्यसलाई व्यवस्थित गर्न व्यवस्थित शवदह स्थलका साथै धार्मिक तथा पर्यटकीय हिसाबले देशकै नमुना पर्यटकीय स्थलको रुपमा चिनाउन प्रदेश सरकार अघि बढेको छ। 

कमला नदीको बिभिन्न किनारमा दैनिक एक दर्जन शव जलाउन ल्याउने गरिएकोमा त्यसलाई व्यवस्थित गरी कमला नदीलाई सिंचाइयोग्य नदी तथा धार्मिक हिसाबले पर्यटकीय नदीको रुपमा विकासका लागि दाहसंस्कार तथा अन्य फोहरजन्य वस्तुहरू फाल्नेमा कडाई गरिने भएको छ।

जथाभावी रुपमा दाहसंस्कार हुँदा मृतकले प्रयोग गरेको कपडा र अन्य समान नदी किनारमा फ्याल्ने गरिएकोले अव्यवस्थित बनेको कमलालाई सुधार योजना अन्तर्गत मोक्षधाम निर्माणको तयारी सुरु गरिएको आन्तरिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले जानकारी दिए। 

वर्षाको समयमा बाढी आएको बेलामा शव जलाउनै समस्या हुने तथा पूर्णरुपमा नजलेको शवका टुक्रासमेत नदी किनारमा भेटिने गरेकोमा हाल कमला नगरको अस्तित्व नै संकटमा परेकोले यसको धार्मिक महत्व र अस्तित्व बचाइराख्न ‘मोक्षधाम’ निर्माण थालिएको कमला नगरपालिकाका प्रमुख रामउदगार गोइतले बताए। 

धार्मिक तथा पर्यटीकय हिसाबले समेत धनुषा र सिरहा जिल्लाको सिमाना छुट्टयाउने पवित्र नदीको रुपमा रहेको कमला नदीमा ’मोक्षधाम’ बन्नेपछि वर्षेनी कमला स्नानका लागि आउने नेपाल तथा भारतका लाखौं श्रद्धालु भक्तजनहरू यहाँको आनन्द उठाउन सक्ने कमला नगरपालिकाका स्थानीयबासी विपत्ति पासमान बताउँछन्।

सिरहा जिल्लाको सिरहा नगरपालिका ६ स्थित हुलाकी राजमार्ग तथा कमला नदीको दक्षिणी पूर्वी तटमा मोक्षधाम निर्माण हुने भएको छ। प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री यादवले शिलान्यास गरेको मोक्षधाममा निर्माणपछि अहिले कमला नदीमा जथाभावी गरिएको दाहसंस्कार नियन्त्रण भई मोक्षधाममै दाहसस्कारको उत्तम व्यवस्था हुने जनाइएको छ।

दुई बिघा क्षेत्रफलमा निर्माण हुने मोक्षधाममा दाहसंस्कारसहित मन्दिर, स्वीमिंग पूल, योगास्थल, पार्किंङ, लज, धर्मशाला, होटेल लगायतको व्यस्था हुनेछ। मन्त्री यादवले भने, ‘यस मोक्षधामलाई देशको नमुनास्थल बनाउन सकिन्छ। साथै सांस्कृतिक रुपले पनि अलगै पहिचान बोकेकी कमला नदीलाई सिरहा र धनुषा समाजले प्रत्यक्ष फाइदा लिन मोक्षधामको निर्माणमा जोड दिइएको हो।’ 

यसैगरी ‘कमला बचाऊ’ अभियानका अभियानी एवं अगुवा विक्रम यादवले समेत कमला नदीमा सामुदायिक जङगलको परिकल्पनासहित विभिन्न प्रकारका पर्यटकीय भागहरू निर्माण गरी कमला नदीको पानीलाई समेत उपयोग गन सकिने बताए। कमला नदीमै मोक्षधाम बन्ने भएपछि कमला बचाऊ अभियानलाई समेत प्रत्यक्ष रुपमा फाइदा हुने अभियानी यादवले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.