|

सिन्धुपाल्चोक : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम ठप्प छ। आयोजना निर्माणको जिम्मा लिएको मुख्य ठेकेदार कम्पनी सिएमसीले काम छोडेपछि आयोजनाको काम ठप्प भएको हो। तर, सरकारले एक वर्षभित्र काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने बाचा गरेको छ।

सरकारको यसअघिको वाचा पनि पटकपटक खेर गइरहेको छ। अहिलेको सरकारले एक वर्षमा मेलम्चीको पानी काठमाडौं लैजाने गरेको वाचा पनि पूरा हुने सम्भावना कमै रहेको छ। आयोजनाको काम निर्माण कम्पनीले छोडेपछि मेलम्चीको पानी काठमाडौं कहिले जान्छ भन्नेमा पुन: अनिश्चित भएको छ। सरकारले मेलम्चीको पानी काठमाडौंवासीको धारोमा खसाल्न बनाएको योजना पटकपटक असफल हुँदै आएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गते संसदमा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा मेलम्ची खानेपानी आयोजना यस वर्ष पूरा गर्ने बताइन्। यसर्थ २०६७ साल असार मसान्तसम्म आयोजना सम्पन्न भइसक्नुपर्ने हुन्छ। सरकार परिवर्तन भएपिच्छे मेलम्ची खानेपानी आयोजना पूरा हुने मिति सर्दै आएको थियो। तर, सिएमसीले काम छोडेपछि अब लगभग दुई वर्ष मेलम्चीको पानी नजाने भएकोे छ।

लामो समयदेखि मेलम्ची खानेपानीको पर्खाइमा बसेका उपत्यकावासीले पानी नपाउने भएका छन्। गत दसैंमा नै मेलम्ची खानेपानी आउने आश्वासन सरकारले दिएको थियो। खानेपानीमन्त्री बिना मगरले मेलम्चीको पानी काठमाडौं पुर्‍याएरै छाड्ने प्रतिबद्धता जाहेर गरेकी छिन्। पटकपटक मन्त्री मगर विवादमा तानिँदै आएकी छन्। मेलम्चीको विवाद नसुल्झँदा आयोजना पूरा हुने समयसीमा गुज्रँदै गएको छ। 

सरकार गएको दशैँमा नै मेलम्चीको पानी काठमाडौंका धारामा खसाल्ने लक्ष्य लिएको थियो। ठेकेदार पक्ष र आयोजनबीच सम्झौता मिल्न नहुँदा सिएमसीसँगको ठेक्का रद्द गर्‍याे। त्यसपछि बाँकी काम सम्पन्न गर्नको लागि नेपाली सेनाको जिम्मा दिने निर्णय भयो। निर्णय भएको लामो समय बितिसक्दासमेत सेनालाई काममा लगाउन सकेन।

सुरु भएन नयाँ ठेक्का प्रक्रिया

काम ठप्प भएको महिनौँ बितिसक्दा समेत आयोजनाको बाँकी काम गर्नको लागि नयाँ ठेक्का आह्वान हुन नसकेको खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले जनाए। ‘आयोजनाको काम गर्नेको लागि अझै ठेक्का प्रक्रिया सुरु भएको छैन। नयाँ ठेक्का आह्वानपछि कसले पाउँछ। त्यसपछि मात्रै आयोजनाको काम अघि बढ्छ जसको लागि अझै लामो समय लाग्छ’ उनले भने।  

काम सुरु भएको करिब दुई दशकपछि आयोजनाको ब्रेक थ्रू गत चैतमा नै गरेको थियो। अम्बाथानबाट सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ मार्ग निर्माण भएको छ। जसमध्ये ४१० मिटरको मात्रै अन्तिम ‘फिनिसिङ’को काम हुन बाँकी रहेको आयोजनाले जनाएको छ। जसमा ८८५ मिटरमा ढलानको काम बाँकी छ। 

सुरुङभित्रको हावा जान निर्माण गर्नुपर्ने तीन ‘भ्यान्टिलेसन’मध्ये दुईवटा भ्यान्टिलेसनको काम पनि बाँकी रहेको छ। हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको वित्तीय खर्च भने ८४ प्रतिशत मात्रै भएको छ। सन् २०१४ मा लागत संशोधन गरी २३ अर्ब ४५ करोड पुगेको आयोजना सुरु भएदेखि अहिलेसम्म २३ अर्ब ६७ करोड खर्च भइसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी पन्तको भनाइ छ। 

आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब लागत पुग्ने अनुमान गरिएको छ। लागत बढेपछि एसियाली विकास बैंकले २५ लाख र नेपाल सरकारको १३ लाख अमेरिकी डलर लागत थप गरेर कुल लागत २८७.४ लाख अमेरिकी डलर पुर्‍याइएको हो। त्यसलै आयोजनको लागि बढ्ने आयोजनाले जनाएको छ। 

एक वर्षमा काम सक्नै मुस्किल 

हालसम्मको आयोजनाको काम हेर्दा १ वर्षभित्र मेलम्चीको पानी काठमाडौं पुग्न मुस्किल पर्ने आयोजनाकै कर्मचारीहरूले बताउँदै आएका छन्। सुरुङ बनाउने काम ९८ प्रतिशत सकिएको छ। २७.५ किलोमिटर लामो सुरुङमा अब ५ सय ११ मिटर मात्र खन्न बाँकी छ। तर, सुरुङ फिनिसिङको काम भने पूरै बाँकी छ। अहिलेसम्म जम्मा २ हजार ५०० मिटर सुरुङ ‘फिनिसिङ’ भए पनि २५.१ किलोमिटर भने बाँकी नै रहेको पन्तले जनाए। यस्तै वाटर ट्रिटमेन्ट प्लान्टको काम पनि अझै आधाजस्तै बाँकी छ।

सुन्दरीजलमा दैनिक ८ करोड लिटर पानी ट्रिटमेन्ट गर्ने प्लान्ट बनिसके पनि त्यत्रै अर्को ८ करोड लिटरको ट्रिटमेन्ट प्लान्टको काम बाँकी नै छ। ग्याल्थुमबाट अम्बाथानबीचको ‘भ्यान्टिलेसन’को काम भने यसअघि नै सकिइसेकेको छ। सुन्दरीजलबाट सिन्धुबीच र सिन्धुबाट ग्याल्थुमबीचको ‘भ्यान्टिलेसन’ ड्रिल गर्न बाँकी छ। सुन्दरीजलस्थित सुरुङको आउटलेटबाट प्रशोधन केन्द्रसम्म पानी ल्याउन ठूलो जिआई पाइप राख्न बाँकी छ। 

ठोस योजना  ठेक्का ढिलाइ 

सरकारले मेलम्ची आयोजनाको विषयमा ठोस योजना तयार पार्न नसक्दा अन्योलको स्थिति आएको छ। खानेपानी मन्त्रालयले मेलम्ची आयोजनालाई प्राथामिकता राखेको भए पनि निर्माणको जिम्मा कसलाई कसरी दिने भन्ने निर्णय लिन नसकेको स्रोतले जनायो। मन्त्रालयको कर्मचारी र निर्माणको जिम्मा पाएको सिएमसीबीच आर्थिक भागबण्डा नमिलेकै कारणले सिएमसीले काम छोडको स्रोतको दाबी छ। 

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढ्न पुगेको आयोजनाले जनाएको छ। खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार हालसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ। 

पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर, दोस्रो चरणमा याङरीबाट १७ करोड लिटर र तेस्रो चरणमा लार्केबाट दैनिक १७ करोडसमेत गरी काठमाडौं उपत्यका दैनिक ५१ करोड लिटर पानी लैजाने योजना छ। आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.