|

काठमाडौं :  ‘नासै छ्याँबा मनो ह्योल’ अर्थात् ‘गाउँहरूमध्येमा मनाङको गाउँ राम्रो’। अनि चेलीबेटीहरूलाई सम्बोधन गर्दै अर्को लाइन जोडिन्छ ‘हो रिमै जो’। गुरुङ भाषाको यो पहिलो अन्तरासँगै सुरु हुने नेपथ्यको चर्चित गीत ‘नासै छ्याँबा’ अब म्युजिक भिडियोमा उपलब्ध भएको छ।

ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ सन् २००४ ताका ट्रेकिङ गर्दै थोराङपास नाघ्ने बेला मनाङकै परिवेशमा बसेर यसको रचना गरेका थिए। यसको रेकर्ड भने त्यसको चार वर्षपछि अर्थात् सन् २००८ मा तयार भएको ‘ऐनाझ्याल’ एल्बमका निम्ति गरिएको थियो।

पदयात्रीहरूका निम्ति प्रसिद्ध यो मार्ग लमजुङबाट सुरु भएर मनाङ हुँदै थोराङ ला नाघेपछि मुस्ताङ पुग्छ। बाटैमा मुक्तिनाथ पनि पर्छ। स्थानीयहरूका निम्ति भने यही मार्गले सांस्कृतिक सामाजिक महत्व पनि समेटेको छ। मनसुनको बेला लमजुङ र कास्कीका मानिस मनाङ हुँदै मुस्ताङसम्म पुग्छन्। बाटोमा मुक्तिनाथ दर्शन गर्छन्। त्यसैगरी जाडोमा मुस्ताङ र मनाङका मानिस लमजुङ आउँछन्। यसरी ओहोरदोहोर गर्नेहरूको भावनालाई आधार बनाएरै यो गीत लेखिएको हो।

गीतमा उधौली उभौलीको कुरा पनि छ। त्यसलाई अर्को अन्तराले यसरी भन्छ–

‘बैशाख पूर्णे उभौली लाग्यो हिमाल काट्यो चरीले

चकितै पारि लाएको माया सम्झ्यो कि पापीले'

‘मलाइ धेरै अघिदेखि गुरुङ गीत गाउने इच्छा थियो,’ अमृत भन्छन्, ‘त्यसै हिसाबले यसको रचना थालेको थिएँ।’ तर, गीत पुरा हुने बेलामा भने नेपाली अन्तराहरु थपिन पुगे। ‘त्यो बेला भाषा र जातका कुराले मुलुकको सामाजिक सद्भाव नै खलबलिने अवस्था देखेपछि मलाई असाध्यै नरमाइलो लाग्यो,’ अमृतले थपे, ‘त्यसैले गीतको पछिल्लो भाग चाहिँ नेपालीमै पुरा गरेको हुँ ।’ यो गीत विशेषतः पहाड र हिमालका वासिन्दाहरुको बीचमा संवाद पनि भएको अमृत सुनाउछन् ।

यसको एउटा अन्तराले भन्छ– ‘हिमाल चुली त्यो पल्लो पट्टि पानी पर्छ कि पर्दैन’

यो लमजुङका वासिन्दाले आम रुपमा राख्ने जिज्ञासाकै सरल अभिव्यक्ति रहेको अमृत सुनाउछन्। ‘यसरी हिमाल र पहाड गरेर दुइ फरक प्रकृति र भुगोल समेटिएको यस गीतमा मैले तराइको झलक पनि आओस् भनेर संगीत चाहिँ दीपचण्डी तालमा गरेको हुँ,’ अमृतले थपे, ‘यो ताल प्रायः तराइकै गीतहरुमा प्रयोग हुन्छ।’

नेपाली संगीतमा संलग्न भएर नेपथ्यले २५ वटा स्वर्णीम वर्षहरु बिताइसकेको छ। गत वर्ष रजत महोत्सवका अवसरमा ब्याण्डले आफ्ना गीतहरुलाई म्यूजिक भिडियो बनाउँदै श्रृखलावद्ध रुपले सार्वजनिक गर्ने घोषणा गरेको थियो। त्यसैलाई निरन्तरता दिँदै यो म्यूजिक भिडियो तयार पारिएको हो। ‘पुराना गीतहरुलाई युट्युब दर्शकको निम्ति पुनः ताजा गर्ने उद्देश्यले यसको भिडियो तयार पारेका हौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यस गीतलाई लाइभ कन्सर्ट गर्दाको फुटेज र अमृतले त्यस भेगमा यात्रा गर्दा खिचेका तस्बिरहरु समायोजन गरेर म्यूजिक भिडियो तयार पारिएको हो।’

यो गीत गाइरहँदा आफूलाई जहिले पनि मनाङमा पैदल हिँड्दै पुग्दाको क्षण अनुभूत हुने अमृत सुनाउँछन्।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.