विषादी जाँच्‍ने कीट नै सकियो

|

काठमाडौ : तरकारीमा विषादीय प्रयोगको समस्या विकराल बन्दै गएको छ। किसानहरुले प्राविधिकको सल्लाह नलिइ जथाभावी विषादीको प्रयोग गर्दा काठमाडौंबासीको भान्सामा विषादी पाकिरहेको छ।

काठमाडौं उपत्यका आसपास र तराईका जिल्लाबाट भित्रिन तरकारीको परीक्षण हुन नसक्दा विषादीसमेत मानिसको पेटमा पुगिरहेको छ। सरकारका नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा विषादी र तरकारी एकैचोटी पाकिरहेको छ। 

काठमाडौं उपत्यकामा बेचिने अधिकांश तरकारीको परीक्षण नै हुँदैन । दैनिक ३० ट्रक भन्दा धेरै तरकारी बिक्री हुने स्थानमै सबै तरकारीको विषादी परीक्षण नै गरिन्‍न। यो कथा  देशकै सबैभन्दा ठूलो कालीमाटी तरकारी तथा फलफूल बजार  हो ।

सकियो कीट

कालीमाटी तरकारी तथा फलफूल बजारमा दैनिक ५० भन्दा बढी प्रकारका तरकारीको कारोबार हुन्छ। सबै तरकारीको विषादी परीक्षण गरिँदैन। विषादी परीक्षण नहुँदा उपभोक्ताको स्वास्थ्यमा खेलबाड भइरहेको छ। कालीमाटी तरकारी बजारमा दैनिक पाँच तरकारीको विषादी परीक्षण भइरहेको छ। 

विषादी परीक्षण गर्ने कीट नहुँदा सबै तरकारीको विषादी परीक्षण गर्न नसकिएको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला इकाइ कालीमाटी नायव प्राविधिक सहायक जागेश्वर शर्माले बताए । उनका अनुसार कालीमाटी तरकारी बजारका सबै तरकारी बजार विषादीमुक्त छैनन्। 'पर्याप्त कीट र कर्मचारीको अभावले सबै तरकारीको विषादी गर्न सकिएको छैन', उनले भने।

कालीमाटी तरकारी बजारमा मंगलबारदेखि विषादी परीक्षण कीट सकिने शर्माले बताए। कीट सकिएपछि बजारमा बिनापरीक्षण तरकारी जाने उनले बताए। यो अवधिमा धेरै नेपालीको भान्सामा विषादीयुक्त तरकारी पाक्ने कुराले उनी चिन्तित छन्।

परीक्षण नै हुँदैन

उपत्यकाको बजारमा उपलब्ध हुने सबै तरकारीका विषादी परीक्षण गरिँदैन। बल्खु तरकारी बजार, बालाजु तरकारी बजार,जडीबुटी तरकारी बजार र टुकुचा तरकारी बजार लगायतका ठाउँमा तरकारीको विषादी परीक्षण हुँदनै । कालीमाटी तरकारी तथा फलफूल बजारमा मात्र विषादी परीक्षण हुन्छ ।

कालीमाटी तरकारी बजारमा भएका सबै तरकारीहरु विषादीमुक्त नभएको स्वीकार्छन् प्राविधिक सहायक शर्मा। कर्मचारी र कीट अभावले सबै तरकारीमा विषादी परीक्षण गर्न सकिएको छैन। 'विषादी परीक्षण किट भियतनामबाट ल्याउने गरिएको छ,' उनले भने, 'तरकारीलाई विषादीमुक्त गर्ने सरकारको घोषणा कीट र कर्मचारी अभावमा  कार्यान्यवन गर्न सकिएको छैन।'

देखिँदैन विषादी

तरकारीमा नदेखिने विषको प्रयोग गरिएको हुन्छ। विषादीको दुई किसिमबाट प्रयोग गरिने शर्माको भनाइ छ। पहिलो चरणमा बिरुवा रोप्दै गर्दा विषादी हालिन्छ । फल फलिसकेपछि तरकारी छिटो बजारमा पुर्‍याउन पनि कृषकले विषादी हाल्ने गरेको शर्माको भनाइ छ। 

प्रयोग गर्न नहुने ज्ञानको अभावमा किसानहरुले कडा भन्दा कडा विषादी तरकारीमा हाल्ने गरेका छन्। काठमाडौं बाहिरबाट ट्रकमा ल्याइएको तरकारीको विषादी परीक्षण गेटमै गरिने उनले बताए। शर्माका अनुसार ट्रकबाट केही तरकारी निकालेर परीक्षण गरिन्छ। स्वस्थ भेटिए बजारमा त्यतिकै पठाइन्छ नत्र त्यसलाई प्रयोगमा ल्याउन नदिई  फालिदिने गरिएको उनको भनाइ छ ।

स्वास्थ्यमा गम्भीर खतरा

विषादीयुक्त तरकारी र खानाले मानिसलाई विभिन्‍न रोग लाग्छ। मानिसको वंशाणुगत क्षमतामै असर, गर्भवतीले बढी खाएमा बच्चा अस्वस्थ जन्मिने,लुलो लंगडो हुने र क्यान्सरले समेत सताउँछ। वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिमल दाहालका अनुसार तरकारीलाई तीन चार पटक राम्ररी पखालेर राम्ररी पकाउनुपर्छ। 'प्रर्याप्त जानकारी हुँदाँहुदै पनि बाध्यता उपभोक्ताले सेवन गरिरहेका छन्', उनले भने। 

विषादी परिक्षण कीट सकिएको स्वीकार्छन् केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बालीसंरक्षण अधिकृत राजीवदास राजभण्डारी। उनका अनुसार भियतनामबाट चाँडै मगाउन लागिएको छ। 'प्राविधिक कारणले पनि विषादी जाँच्ने किट समयमा आउन सकेको छैन,' उनले भने, 'समयमा टेण्डर हुन नसक्दा विषादी परीक्षण कीट नेपाल आउन नसकेको हो ।'

अहिले दैनिक पाँच प्रकारका तरकारीको मात्र विषादी परीक्षण भइरहेको उनले ताए। विगतको तुलनामा तरकारीमा विषादी घट्दै गएको राजभण्डारीको भनाइ छ। सरकारको विषादी प्रयोग गर्नेलाई कडा कारवाहीको कानुनी व्यवस्था नगर्दा यस्तो भएको उनले बताए। 

धादिङका कृषक अगाडि

धादिङका कृषकले सबैभन्दा बढी विषादी प्रयोग गरेको पाइएको विषादी बीउबिजन पसलका एक व्यापारीले बताए। उनका अनुसार तरकारी बजारमा चाँडो पठाउने होडबाजीले विषादी प्रयोग धेरै हुने गरेको हो।  

कालीमाटी तरकारी तथा फलफूल बजारका व्यापारी अर्जुन श्रेष्ठका अनुसार पसलको तरकारीको विषादी परीक्षण भएकै छैन। 'बाहिर हेर्दा राम्रो हुन्छ, विषादी नेदेखिने गरी तरकारीमा हालिएको हुन्छ', उनले भने। 

कालीमाटी तरकारी तथा फलफूल बजारमा २०७१ असार ५ गतेदेखि तरकारीमा विषादी परीक्षणको सुरुवात गरिएको हो। तत्कालीन समयमा दैनिक ३० प्रकारका तरकारीको विषादी परीक्षण गरिएको प्राविधिक शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.