|

डोल्पा : जिल्लामा बहुमूल्य जडिबुटी यार्सागुम्बाको मौसम सुरु भएको छ। यार्सागुम्बा संकलन गर्ने मिति नजिकिँदै गर्दा डोल्पालीलाई बन्दोबस्तीका सामान जुटाउन भ्यानभ्याइ छ।

घरको अन्य काम छोडेर पाटनमै लैजाने खाद्यान्न, लत्ताकपडा देखि सामान्य बिरामी पर्दा आवश्यक पर्ने औषधिको समेत जोहो गर्दैछन् उनीहरू। उच्च हिमाली भेगमा जानुपर्ने भएकाले पटक–पटक घर फर्किन नसकिने भएकाले एक महिनालाई पुग्नेगरी एकै पटक यार्सापाटनमा आवश्यक सामग्रीको सूची बनाएर  खरिद गरिरहेका छन्।

जेठ १३ गते औपचारिक रूपमा यार्सापाटन खुल्ने भएपछि यसअघि नुनदेखि यार्सागुम्बा खन्ने कुटोसम्मको बन्दोबस्त गर्नुपर्ने भएकाले उनीहरुको व्यस्तता बढेको हो।यार्सागुम्बा संकलन गर्ने समय नजिकिएपछि त्रिपुराकोट दुनै, जुफाल, लिकु र खदाङ लगायतका बजार यार्सागुम्बा टिप्न जान आवाश्यक सामान खरिद गर्ने सर्वसाधारणले भरिभराउ छ।

यार्सागुम्बा 'सिजन' नजिकिँदै गर्दा दैनिक सयौँ मानिस किनमेलका लागि आउने भएकाले सामान बेच्न भ्याइ नभ्याइ भएको त्रिपुरासुन्दरी नगरपालिका १ बगरका व्यापारी रामबहादुर रानाले बताए। अन्य समय सुनसान देखि पसलहरूमा यार्सागुम्बा सिजन सुरु भएसँगै कारोबार बढेको उनले बताए।

अर्का व्यापारी धर्मसिंह रोकायलाई पनि सामान बेच्न भ्यानभ्याइ छ। वैशाखदेखि अहिलेसम्म १० लाख रुपैयाँबराबरको सामान बिक्री गरिसकेको उनले बताए। नगद भन्दा पनि यार्सागुम्बा टिपेर चुक्ता गर्ने शर्तमा धेरैले उधारो सामान लिने गरेको उनले बताए।

प्रत्येक वर्ष यार्सागुम्बा सिजनमा डोल्पाका स्थानीय बजारहरूमा करोडौँ बराबरको कारोबारहुने उद्योग वाणिज्य संघ त्रिपुराकोटका प्रतिनिधि पुर्णकेशर न्यौपानेले जानकारी दिए। वर्षमा एक पटक आउने यार्सागुम्बा सिजन डोल्पालीको कमाउने समय भएकाले पनि गाउँनै खाली पारेर सर्वसाधारण पाटन जाने गरेको उनको भनाइ छ।

एक परिवारले एक महिनाको अवधिमामात्रै एकलाख देखि १५ लाखसम्मको आम्दानी गर्ने गरेको त्रिपुरा सुन्दरी नगरपालिका १ त्रिपुराकोटका स्थानीय रत्नबहादुर बिष्टले बताए। यार्सागुम्बा नै यहाँको रोजीरोटी जोहो गर्ने प्रमुख माध्यम  भएकाले बालबालिका, गर्भवती महिला, वृद्धवृद्धासमेत त्यहाँ जान कस्सिने गरेको बिष्टले बताए।

यार्सागुम्बा उच्च हिमाली क्षेत्रमा पाइने सुन भएकाले सबैले भेट्ने सौभाग्य प्राप्त नगर्ने उनले बताए। यार्सागुम्बा टिप्न जाने दिन नजिकिएकाले सामग्री खरिद गरिसकेको स्थानीय जमानसिंह कठायतले बताए। यार्सागुम्बा घुँडा धसेर खोज्नुपर्ने भएकाले मेहनत गर्नेले मात्रै भेट्ने उनले बताए। यार्सागुम्बा संकलन गर्न जानका लागि हिँउनै हिँउले ढाकिएका अग्ला हिमाल चढ्नुपर्छ। लेक लागेर, हिँउ पहिरोमा पुरिएर र बिरामी भएर वर्षैपिच्छ कतिले ज्यान गुमाउँछन्।

डोल्पा उच्च हिमाली क्षेत्रमा पाइने यार्सापाटनमा यार्सागुम्बा खोज्नकालागि डोल्पाका मात्रै नभई छिमेकी जिल्ला रुकुम, जाजरकोट, जुम्ला लगायतका जिल्लाबाट सयौँको सङ्ख्यामा सर्वसाधारण आउँछन्। जिल्लाकाभोक्पा, भाङ्का, सागबारी, प्यारीभोक्पा, कुनासा, डोक्पा, रुपपानी, ठाँगे, नावरपानी, कागमारा, टाङ्टुङे र माटे लगायतका सयौँ पाटनमा यार्सागुम्बा खोज्न सर्वसाधारण पुग्ने गर्छन्। वनस्पति र जीव दवैको गुण पाइने शक्तिबर्धक जडिबुटी यार्सागुम्बाको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उच्च छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.