|

जुम्ला : दृष्टिविहीन विद्यार्थीले ब्रेल पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन्। जुम्लाको सिञ्जामा सञ्चालन भइरहेको भैरव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले शैक्षिक सत्र शुरु भएको ३ महिना नाघी सक्दा पनि पाठ्यपुस्तक पाएका छैनन्।

उक्त विद्यालयकमा २६ दृष्टिविहीन विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीले अहिलेसम्म पनि ब्रेललिपिका पाठ्यपुस्तक नपाउँदा अध्ययन गर्न कठिन भएको बताउँछन्। पाठ्यपुस्तक छापिरहेको भन्ने खबर आएको र दृष्टिविहीनले पाठ्यपुस्तक नपाएको स्रोत शिक्षक दत्तबहादुर बुढाले बताए। उनले भने, ‘जुम्ला लगायतका हिमाली जिल्लाहरूमा शैक्षिक शत्र फागुनबाट शुरु हुन्छ तर ३ महिना बितिसक्दा पनि यस विद्यालयका दृष्टिविहीन विद्यार्थीले नयाँ पाठ्यपुस्तकको मुहार देख्न पाएका छैनन्।’ उनका अनुसार हरेक वर्ष अन्य पाठ्यपुस्तक समयमै आइपुग्छन् तर ब्रेललिपि पाठ्यपुस्तक समयमा पुर्‍याउन सरकारले ध्यान दिएको देखिँदैन।

श्री भैरव मावि नराकोटमा दृष्टिविहीन विद्यार्थीका लागि आवासीय अध्ययनको व्यस्था स्रोत कक्षामार्फत नेपाल सरकारले  सञ्चालन गरिरहेको छ। नेपाल सकारको सहयोगमा दृष्टिविहीन कल्याण संघले पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको शिक्षा विभागका नारद धमालाले बताए। उनी भन्छन् ‘यस वर्ष कर्मचारी समायोजनको काममा ढिला भएकाले अब छाप्ने काम अन्तिम अवस्थामा रहेको छ।’ उनले अब  एक हप्ता भित्रमा  विद्यालयको आवश्यकताअनुसार प्याकिङ गरेर पठाउने तयारी रहेको बताएका छन्।

भैरव माध्यामिक विद्यालयमा भने शैक्षिक सामग्री र पाठ्यपुस्तक हरेक वर्ष तीन-चार महिना ढिला पठाउँदा पढाइ प्रभावित हुँदै आएको त्यहाँ अध्ययनरत विद्यार्थीको गुनासो छ। यस विषयमा सरकार र नेपाल नेत्रहीन संघ, दृष्टिविहीन कल्याण संघले पनि समयमै पाठ्यपुस्तक पुर्‍याउन पहल फागुन अगावै गर्न जरुरी देखिन्छ। गत वर्ष पनि ६ महिनापछि पाठ्यपुस्तक पुगेको विद्यार्थीले बताएका छन्।

पाठ्यपुस्तक समयमै नपुग्दा हाल यहाँका विद्यार्थीलाई पूराना पाठ्यपुस्तक पढ्नुपर्ने बाध्यता छ। कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत २१ जना विद्यार्थीले कक्षामा शिक्षकले पढाएको कुरा सुन्नुको विकल्पबाहेक अरू नरहेको गुनासो गरेका छन्। कक्षा ९ मा ५ जना विद्यार्थी अध्ययनरत भए पनि सबै जनालाई १ सेट पाठ्यपुस्तक पनि उपलब्ध नहुँदा आफूहरूलाई अध्ययन गराउन असहज भएको शिक्षक बताछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.