|

काठमाडौं :  महानगरपालिकाले काठमाडौंका सार्वजनिक विद्यालयमा उद्यान (बगैँचा) बनाइदिने भएको छ। महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्रका सबै सामुदायिक विद्यालयमा उद्यान बनाइदिने घाेषणा गरेका छन्।  उनले विद्यालयमा उद्यान बनाउने काम सँगै सडकलाई धुलोमुक्त बनाउने र विद्युतिय बसको प्रयोगलाई प्राथमिकता दिने समेत बताए।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरभित्रका सामुदायिक विद्यालयमा कस्तो डिजाइनले बगैँचा बनाउने भन्नेबारे छलफल भइरहेको बताए। उनले भने, ‘बगैँचा त बनाउने हो तर कुन–कुन विद्यालयमा बनाउने, कस्तो बनाउने, लागत कति छुट्टाउने भन्ने विषयमा छलफल भइरहेको छ।’

प्रवक्ता डंगोलले सामुदायिक विद्यालयमा खाली जग्गा बढी भइरहेको ठाउँमा विद्यार्थीको लागि खेलकूद मैदान बनाउने विषयमा पनि छलफल भइरहेको बताए। उनले भने, हामीले सर्भेको काम गरिरहेका छौं, खाली जग्गा बढी भएको ठाउँमा खेलकूद पार्क र बगैँचाको लागि उपयुक्त ठाउँमा बगैँचा निर्माण गर्ने छलफल भइरहेको छ।’ बगैँचा तथा खेलकुदपार्क बनाउनका लागि बजेट छुट्टिएपछि निर्माणको कामलाई अघि बढाइने उनको भनाइ छ।

उनका अनुसार काठमाडौं महानगरभित्रका कुन–कुन विद्यालयमा बगैँचा तथा खेल मैदान बन्छ भन्ने अझै यकिन भएको छैन। उनले कतिपय विद्यालयमा खाली जग्गा नै नभएको, विद्यार्थीका लागि खेल्ने ठाउँ नै नभएको अवस्था हुँदा कुन विद्यालयमा के बनाउने भन्ने विषयको निष्कर्ष नआएको बताए। यो सँगै उनले छलफल पश्चात चाँडै नै निष्कर्षमा पुगेर महानगर निर्माणाधिनको काम अघि बढाउने तयारीमा जुटिरहेको जानकारी दिए।

विद्यार्थीका लागि पढाई सँगसँगै खेल्ने ठाउँ पनि हुनुपर्छ, विद्यालय वरिपरि हरियाली वातावरणको सिर्जना गर्नुपर्छ भन्ने उद्देश्यले नै यस कार्यलाई अघि बढाइदैछ। महानगर र सामुदायिक विद्यालयसँग सरसल्लाह र छलफल भइरहेको डंगोल बताउँछन्।

नक्सालस्थित केन्द्रीय बहिरा माध्यमिक विद्यालयका सूचना अधिकारी नवीन श्रेष्ठले विद्यालयमा बगैँचा बनाउने तयारी भइरहेको र सरकारले बजेट उपलब्ध गराउनासाथ काम सुरु गर्ने बताए। महानगरसँग हामीले सम्झौता गरिसकेका छौं, उनले भने, बगैँचा निर्माणका लागि २५ हजार र विद्यालय मर्मतका लागि ५० हजारको बजेट छुट्टाइएको छ, बजेट उपलब्ध हुनासाथ बगैँचा बनाउने र विद्यालय मर्मतको काम सुरु गर्नेछौ।’ उनका अनुसार बगैँचा निर्माणको काम असारमसान्त सम्ममा सक्नुपर्ने सम्झौता भएको छ। बगैँचाको लागि २५ हजार, विद्यालय मर्मतका लागि ५० हजार र अन्य शीर्षकका लागि ५ हजार गरी जम्मा ८० हजार बजेटको सम्झौता भएको पनि उनले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.