|

मनाङ : हिमाली जिल्ला मनाङका  २२ वटा लेकमा धमाधम यार्सा संकलन भइरहेको छ। नाम्क्याखर्क, घुजुम्रो, नारलगायत २२ वटा लेकमा बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न स्थानीय तथा बाहिरी जिल्लाका नागरिक पुगेका छन्।

नार र फूमाबाहेक अन्य लेकमा यार्सागुम्बा टिप्न खुला गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका संरक्षण कार्यालय मनाङद्वारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सा टिप्नेलाई पूर्जी दिनेगर्छ।

नार र ताचै बगरछापको सीमा नम्ग्या खर्कमा सुरुमा यार्सागुम्बा टिप्न खुला गरिन्छ। नम्ग्याखर्क व्यवस्थापन संयुक्त उपसमितिका अध्यक्ष याद घलेका अनुसार वैशाख १६ गतेबाट नम्ग्याखर्कमा यार्सा टिप्न खुला गरिएको हो।

ताचैको घुजुम्रो लेकमा जेठ ८ गतेबाट खुला गरिएको छ। नम्ग्याखर्कमा जाने यार्सागुम्बा संकलकमध्ये स्थानीयलाई तीन हजार रुपैयाँ, छिमेकी गाउँलाई चार हजार ५०० र जिल्ला बाहिरकालाई १० हजार रुपैयाँ पूर्जी काट्ने गरिएको अध्यक्ष घलेले बताए।

अध्यक्ष घलेका अनुसार समितिले यार्सागुम्बाको पूर्जीका लागि टेन्डर आह्वान गरी व्यवस्थापन गर्दै आएको छ। टेन्डरमार्फत यस वर्ष ३६ लाख २० हजार रुपैयाँ सम्झौतामा चामेका मेघबहादुर विश्वकर्मालाई पूर्जी व्यवस्थापनको जिम्मा दिइएको अध्यक्ष घलेले बताए।

गत वर्ष वैशाख ३ गतेबाट पूर्जी खुला गरिए पनि यस वर्ष हिमपातका कारण केही ढिलाइ भएको बताइएको छ। उक्त खर्कमा ६५० जनासम्मले यार्सा टिप्न पाउने क्षमता भए पनि हालसम्म पाँच सय ४० जनाले पूर्जी लिइएको उनले बताए। जेठ मसान्तसम्म यार्सा टिप्न खुला गरिने उनको भनाइ छ।

'गत वर्ष संकलन अवधिभर करिब दुई सय जनाले यार्सागुम्बा टिपेका थिए। यस वर्ष बढी हिमपात भएकाले बढी यार्सा पाउने आशले धेरैले पूर्जी लिएका छन्', उनले भने।

यार्सागुम्बा खोज्न धादिङ, गोरखा, लमजुङलगायत जिल्लाबाट संकलक आएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार मनाङका करिब २२ वटा लेकमा यार्सागुम्बा पाइने अनुमान गरिएको छ। नार र फूबाहेकका सबै लेकहरूमा यार्सागुम्बा टिप्न खुला गरिएको उनले बताए। उनका अनुसार लेकअनुसार पूर्जी मूल्य फरक–फरक छ।

पूर्जीबाहेक व्यापारीलाई छोडपूर्जीबापत एक किलो बराबर १० हजार रुपैयाँ रोयल्टी संरक्षण समितिले लिने गर्छ। स्थानीय तहले निकासी करबापत प्रतिकिलो १० हजार रुपैयाँ लिन्छ। व्यवसायीले सरकारलाई प्रतिकिलो ३० हजार रुपैयाँ राजस्व बुझाउनुपर्छ। मनाङमा गत वर्ष १२९ किलो यार्सागुम्बाको छोडपूर्जी दिइएको एक्यापले जनाएको छ।

फागुनसम्मै हिमपात भइरहेकाले यस वर्ष यार्सागुम्बा बढ्न सक्ने अनुमान गरिएको छ। व्यवसायीका अनुसार एक किलोको ११ लाखदेखि १६ लाख रुपैयाँसम्म बिक्री हुन्छ।

पछिल्ला वर्षमा यार्सागुम्बा टिप्न कडाइ गर्न थालिएको छ। गुण्डागर्दी, चोरीडकैती, लुटपाट, अमर्यादित गतिविधिलगायत क्रियाकलाप रोक्न यार्सागुम्बा टिप्न जानेको नागरिकताको फोटोकपी राखेर परिचयपत्र दिने गरिएको छ। नारको लेकमा सात जना गोर्खालीको हत्या भएपछि यार्सागुम्बा संकलनमा कडाइ गरिएको हो।

स्थानीय तह, प्रशासन, एक्याप, संरक्षण क्षेत्र व्यवस्थापन समितिले बैठक राखेर यार्सागुम्बा संकलन स्थलमा सुरक्षा व्यवस्था कडाइ पारेको छ। मनाङका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार यार्सागुम्बा संकलन गर्ने समयमा घटना, दुर्घटना हुनसक्ने भन्दै सुरक्षा सतर्कता बढाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.