चरिचरण र चोरी सिकारी बढ्यो

|

कपिलवस्तु : विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालको पानी सुक्दा चरिचरणदेखि जलयुक्त जीवको चोरीसिकारी बढ्दै गएको छ। प्रदेश ५ को प्रमुख पर्यटकीय गन्तव्‍यका रूपमा सरकारले घोषणा गरेको तालमा पछिल्लो समय पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालयले फाटक र नहर मर्मत गर्ने भन्दै पानी सुकाएको छ।

कपिलवस्तु नगरपालिका ९ र १० भित्र १५७ हेक्टरमा फैलिएको तालको उत्तरतर्फको नहर र दक्षिणतर्फको फाटक मर्मत गर्न तालको पानी सुकाए पछि तालको अस्तित्व नै संकटमा पर्दै गएको हो। ताल सुकाउँदा त्यहाँ रहेको जैविक विविधता नष्ट हुन गई ताल सिमसारबाट हट्न सक्ने भन्दै जगदीशपुर जलाशय बहुसरोकार मञ्चले चिन्ता व्यक्त गरेको छ।

जतिबेला मन लाग्यो त्यतिबेला पानी सुकाउँदा समस्या

पानी सुकाउँदा तालमा रहेका संरक्षित एवं विभिन्न लोपोन्मुख प्रजातिका चराचुरुंगी, कछुवा, सरिश्रृप तथा माछा धमाधम मर्न थालेका छन्। पानी सुक्नासाथ केही स्थानीय तालभित्र पसेर माछा मार्नसमेत सुरु गरेको स्थानीय अब्दुल रसिद खाँले बताए। ‘पानी सुकाइँदा सुन्दर र मनमोहक ताल कुरूप बनेको छ’, उनले भने। ताल भैँसी बाख्रा चरिचरण गर्ने थलो भयो। विविधता खतरामा पर्‍यो' उनले चिन्ता व्यक्त गरे।

जगदीशपुर जलाशय बहुुसरोकार मञ्‍चका सचिव सुन्दर पाण्डेले सिँचाइले जगदीशपुर ताललाई मात्र सिँचाइको लागि पानी संकलन गरिएको स्थलका रूपमा बुझ्ने हुँदा समस्या आएको बताए। ‘पटकपटक सिमसारमा सूचीकृत तालको पानी जतिबेला मन लाग्यो त्यतिबेला सुकाउन मिल्छ?’ उनले प्र‍श्‍न गरे। तालको गुरुयोजना निर्माण गरेर मञ्‍चले विभिन्न कार्यक्रम अघि बढाइरहेका बेला तालबाट पूरै पानी निकास गरेपछि योजनासमेत प्रभावित बनेको छ।

सन् २००३ मा सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालको पर्यटकीय विकास र संरक्षण लागि २०६९ सालमा बहुसरोकार मञ्‍च गठन गरिएको थियो। बर्ड वाचिङको उत्कृष्ट गन्तव्‍यका रूपमा चिनिँदै गएको जगदीशुपर जलायश सिमसार क्षेत्र नेपालकै गौरव हो। यसको संरक्षणका लागि सबै सरकारी निकायबीच तालमेल नहुँदा समस्या बल्झँदै गएको स्थानीय अगुवा एवं बहुसरोकार मन्चका अध्यक्ष ललित गुरुङ बताउँछन्।

समस्या आएकोले पानी सुकाएका हौँ :  सिँचाइ प्रमुख घोरासैनी

तराईइको बढ्दो गर्मी अझ त्यसमाथि तालको पानी सुक्दा तालमा रहेका वनस्पति, विरुवा, माछा तथा विभिन्न प्रजातिका चराचुरुंगी उच्च संकटमा छन्। वाणगंगा सिँचाइ प्रणालीअन्तर्गत पानी संकलन गरेर वितरणका लागि बनाइएको ताललाई सिँचाइ कार्यालयले सिमसारका विषयमा बेवास्ता गरेकोले यस्तो समस्या आएको स्थानीयको आरोप छ। फाटक र नहर बिग्रेर नहरमा राम्ररी पानी निकास नभएकाले मर्मतका लागि पानी सुकाइएको सिँचाइ कार्यालयको दाबी छ।

‘पानी निकासको समस्या आएकोले तालको पानी सुकाइएको हो’ सिँचाइ कार्यालयका प्रमुख रामकृष्ण घोरासैनीले भने, ‘सिँचाइको प्रयोजनका लागि तालको निर्माण भएकाले त्यसैलाई प्राथमिकता दिई कार्य गरेको हो।’ घोरासैनीले तालको मूलनहरको फाटक जीर्ण र अन्य नहर मर्मत कार्य अनिवार्य भएकाले ताल सुकाउनुपरेको दाबी गरे।

वर्षौंदेखि तालको सफाइ नगरिँदा फोहोर, बालुवा, माटो भरिएर पानी संकलनका लागि समस्या भएरै ताल सुकाएर काम गर्न सुरु गरिएको उनको भनाइ छ। ४५ लाख घनमिटर पानी अट्ने तालमा अहिले प्राय भू-भाग सुख्खाग्रस्त बनेको छ। ताल संरक्षण, वातावरण संरक्षण, जैविक विविधता र विश्व सिमसारसँग सम्बन्धित विषयमा विभिन्न सरोकारवाला निकाय भए पनि सिँचाइ कार्यालयले आफ्नो लालपुर्जाअन्तर्गत ताल रहेको भन्दै एकलौटी गरेको डिभिजन वन कार्यालय तौलिहवाका प्रमुुख ईश्वरीप्रसाद पौडेलले बताए। उनले छिटो काम सकेर पानी खोल्नुपर्ने बताए।

तालमा आवश्यक पानी राख्‍न प्रजिअको निर्देशन 

तालमा अलिकति भएको पानी पनि स्थानीयले रातिको समयमा खोल्दा समस्या परेको बताए। तालमा पानीको समस्याले अस्तित्व नै संकटमा पर्न थालेपछि डिभिजन वन कार्यालय, सरोकार मञ्‍च, सिँचाइलगायत सरोकारवालालाई बोलाएर बैठक गरी तालमा आवश्यक पानी राख्न निर्देशन दिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेलले बताए।

पहिले यो ताल सिँचाइका लागि बनाइएको भए पनि रामसार क्षेत्रमा सूचीकृत भइसकेको र बहुसरोकारसँग सम्बन्धित भएकोले सिँचाइलाई मात्र बुुझ्न नहुने उनको धारणा छ। यता, कपिलवस्तु नगरपालिका ९ का अध्यक्ष शिव वाग्ले सिँचाइले आफ्नो काम गरेको बताउँदै डिप बोरिङ जडान गरे मात्र दीर्घकालीन समस्या समाधान हुने बताउँछन्। तालमा पानीको मात्रा सुकेसँगै अहिले चरा तथा माछा मर्न थालेका छन्।

तालमा पानी सुकेसँगै घुुम्न आउने पर्यटक समेत निराश भएर फर्कने गरेका छन्। आइतबार बिहान मात्रै तालबाट २० किलो बढीको माछा मरेको अवस्थामा फेला पारी तालबाट निकालेका थिए। यता, जगदीशपुर ताल संरक्षण समिति, जगदीशपुर ताल बहुसरोकार मञ्च, जगदीशपुर होमस्टेलगायत संस्थाले तालको जैविक विविधता कायम राख्न तत्काल फाटक बन्द गरी तालमा पानी भर्नुपर्ने माग राखेका छन्।

बढ्न थाल्यो तस्करी

तालमा पानीको मात्रा घट्दै गएपछि चरा, कछुवा र माछाको अस्तित्वसमेत संकटमा परेको छ। कछुवा पाल्न, सजावटका सामग्री, मासु खान, परम्परागत कछुवाको बहुपक्षीय उपयोग र महत्व भएका कारण यसको माग बजारमा बढी रहेको नेपालका कछुवा विज्ञ डा. करणबहादुर शाहले बताए। पछिल्लो समय अवैध संकलन तथा तस्कारीले कछुवा हराउँदै जान थालेका बेला तालमा पानीको कमी भएसँगै कछुवासमेत तस्करीले मार्न थालेको स्थानीयले बताए। केहीदिन अघि मात्र २१ किलाको कछुवा स्थानीयले मारेको स्थानीयको भनाइ छ।

केही समयअगाडि तालमा पक्षी, माछा, कछुवालगायत कुनै पनि तालमा भएका प्राणीको सिकार गर्न प्रतिबन्ध लगाएको भए तापनि हाल आएर खुलेआम माछा र कछुुवाको सिकार भइरहेको छ।

हाल स्थानीयले भए पनि त्यसलाई रोक्का लागि पहल नगरिँदा यो लोप हुने संघारमा पुगेको डा. शाहले बताए। वन जंगल विनास, ताल तलैया सुकाउने र प्रदूषित गर्ने तथा ताल क्षेत्रमा गरिने भौतिक निर्माणले समेत कछुवाको बासस्थानसमेत विनास हुँदै गएकाले कुछुवा लोप हुने अवस्थामा पुगेको उनले बताए। जगदीशपुर ताल कछुवा संरक्षणको प्रमुख ताल भएको र पानीको मात्रा सुकेपछि पानी तातेर कछुवा मर्ने भाग्ने र भाग्दा मानिसले सिकार गर्ने गरेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.