|

काठमाडौं : शिक्षक सेवा आयोगले लिएको अन्तर्वार्तामा अनुत्तिर्ण शिक्षकलाई करारमा नियुक्त गर्ने भएको छ। शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २४ को उपनियम ३ वमोजिम करारमा शिक्षक नियुक्ति गर्ने प्रयोजनका लागि छनोट भएका उम्मेदवारको सूचि समेत प्रकाशन गर्ने आयोगले जनाएको छ।

आयोगको २०५७ को नियम २४ को उपनियम ३ मा आयोगले आफूले सञ्चालन गरेको परीक्षामा स्थायी नियुक्तिका लागि सिफारिस नभएका उम्मेदवारहरूमध्येबाट करारमा शिक्षक नियुक्ति गर्ने प्रयोजनको लागि सिफारिस भएका पदसंख्याको पचास प्रतिशतले हुने संख्यामा छुट्टै योग्यताक्रम अनुसारको सूची प्रकाशन गर्ने उल्लेख गरिएको छ।

शिक्षक सेवा आयोगका सूचना अधिकारी रामराज खकुरेलले शिक्षक सेवा आयोगले लिएको अन्र्तवार्तामा अनुत्तिर्ण शिक्षकलाई करारमा नियुक्तिका लागि आयोगले तयारी गरेको बताए। ‘आयोगले लिएको परीक्षामा ठूलो सङ्ख्यामा शिक्षक असफल भएपछि १२ हजार शिक्षक पूर्ति गर्ने तयारीमा आयोग जुटिरहेको छ’, उनले भने, स्थायी शिक्षक पूर्तिका क्रममा कुनै विद्यालयमा शिक्षक अपुग भयो भने, दरबन्दी रिक्त भयो भने उक्त दरबन्दी पूर्तिका लागि करारमा नियुक्त शिक्षकलाई पठाउने योजनासहित कामलाई अघि बढाएका छौं।’

उनले रिक्त दरबन्दी भएको खण्डमा करार सूचीमा रहेका अस्थायी शिक्षकले आवेदन दिन आएमा पहिलो प्राथमिकता उनीहरुलाई दिने र पदपूर्तिका लागि करारमा नियुक्त गर्ने  आयोगको योजना रहेको बताए। स्थायी शिक्षक नियुक्त गरेपछि कुनै पनि विद्यालयमा शिक्षकको अभाव हुन नदिनका लागि यो योजनालाई तय गरेको उनको भनाइ छ। उनले  भने, ‘जति शिक्षक स्थायी पदमा नियुक्त गरिन्छ त्यति नै सङ्ख्यामा करारमा नियुक्त हुन्छन् र दरबन्दी खाली हुनासाथ करार शिक्षकलाई पदपूर्तिका लागि पठाइनेछ। विद्यालयमा शिक्षक अभाव हुन दिने छैनौं।’

शैक्षिक सत्र सुरु हुँदा कुनै पनि विद्यालयमा शिक्षक अभावका कारण कक्षाकोठ रित्तो नहोस् भन्ने कुरालाई अघि सार्दै गत चैत महिनादेखि नै शिक्षक सेवा आयोग शिक्षक नियुक्तिको प्रक्रियामा लागेको थियो। आयोगले लिएको आन्तरिक परीक्षामा २३ हजार अस्थायी शिक्षकको सहभागितामा १४ हजार हारहारीमा शिक्षक उत्तिर्ण भएका थिए।

शिक्षा ऐन २०२८ (नवौं संशोधन) को दफा ११(च) को उपदफा ९ अनुसार आन्तरिक परीक्षामा असफल अस्थायी शिक्षकहरुलाई सुविधासहित अवकाश दिने प्रक्रिया आरम्भ भएको छ। यहि प्रक्रियाअनुसार असफल शिक्षकलाई अवकाश दिने निर्णय भएपछि कुनैपनि विद्यालयमा शिक्षक अभावका कारण विद्यार्थीको पठनपाठनमा असर नपरोस् भन्ने मनसायले अहिले करारमा शिक्षक नियुक्त गर्न लागेको खकुरेल बताउँछन्। उनले स्थायी शिक्षकको सिफारिस गर्ने काम पनि जेठ १० गतेबाट सुरु  गरिएकाे बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.