|

ताप्लेजुङ : मैवाखोला गाउँपालिकास्थित साँघुमा कोलडाँडा रमिते ढुंगा सामुदायिक होमस्टे पुग्दा सञ्चालनमा छ। २२ घर परिवारले सञ्चालन गरेको उक्त सामुदायिक होमस्टेमा पछिल्लो समय पर्यटकहरुको आकर्षण बढेको छ।

मदन भण्डारी राजमार्ग हुँदै गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले ओहोरदोहोर गर्ने पर्यटकदेखि विभिन्न कार्यक्रमका लागि पुगेकाहरु प्राय साँघुमा रहेको होमस्टेमा नपुगी फर्कंदैनन्। त्यसैले होमस्टेमा पर्यटकको चहलपहल बढ्दै गएको होमस्टे सञ्चालकहरु बताउँछन्।

होमस्टे रहेकै क्षेत्र साँघुमा हालै सम्पन्न पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागी त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लबलगायतका टिमका खेलाडीहरु तिनै होमस्टेमा बसे। घरायसी वातावरणमा खान र बस्न पाउँदा थकानको कुनै महसुस नभएको त्रिभुवन आर्मी क्लबका प्रशिक्षक लोकेन्द्र बुढाले बताए। पाँच दिनको बसाइको समय बितेको पत्तै नभएको उनले बताए।

‘स्वच्छ वातावरणसँगै होमस्टेको न्यानो स्वागत सत्कार, स्थानीय उत्पादनको स्वाद लिन पाउँदा र घरायसी वातावरणमा बस्न पाउँदा आफ्नै घरमा बसे झैँ लाग्यो,’ बुढाले भने, ‘समय बितेको पत्तो भएन।’

होमस्टेमा घरायसी वातावरणमै लिम्बू समुदायको परम्परागत खाना याङ्बेन, तोङ्बा, सुकुटी, लोकल कुखराको मासु, तीतेलगायतका परिकार खान पाइन्छ । ‘होमस्टे सञ्चालन गर्ने हामी सबै लिम्बू समुदायकै छौं,’ होमस्टे सञ्चालक समितिकि अध्यक्ष शिवकुमारी लिम्बूले भनिन्, ‘पाहुनालाई विशेष लिम्बू समुदायकै परम्परागत खाना तथा परिकार खुवाँउछौँ, पाहुनाले पनि त्यसैलाई रुचाउँछन्।’

पाहुनाको स्वागतका लागि होमस्टेमा लिम्बू जातिको मौलिक नाच धाननाच र च्याब्रुङ नाच देखाइन्छ। पाहुनाले उक्त नाचको अवलोकन गर्नुका साथै नाच्न पनि पाउँछन्। 

गाउँमा होमस्टे सञ्चालनमा आएसँगै स्थानीयको आयआर्जनमा सुधार आएको छ भने रहनसहनमा समेत परिवर्तन भएको छ। घर आँगनको सरसफाइ र विभिन्न सजावटले गाउँघरकै रुप फेरिएको छ।

‘पहिले घर पालुवा जनावरलाई घरनजिकै जताततै राख्ने गरिन्थ्यो,’ होमस्टे सञ्चालक समितिका सचिव लोकमणि चोङबाङले भने, ‘वर्षमा एक पटक दशैँ तिहारमा घर आगँन सिघारिन्थ्यो तर अहिले दैनिक सरसफाई गर्न थाले पछि गाउँको रुप नै फेरिएको छ।’ सबैका घर आँगन सफा राख्ने, विभिन्न प्रजातिका बोटविरुवा र फूल रोपेपछि गाउँघर हराभरा र सुन्दर देखिन थालेको चोङबाङले बताए।

स्थानीयको बोलीचालीमा समेत परिवर्तन आएको छ। होमस्टे कै कारण सबै घरपरिवार सभ्य बन्दै गएका छन्। होमस्टेमा स्थानीय उत्पादन नै आवश्यक पर्ने भएकाले गाउँमा उत्पादन भएका सागसब्जी समेत किनबेच हुन थालेको छ। होमस्टे सञ्चालनका लागि हिमाली संरक्षण मञ्चले सघाउ पुर्‍याएको छ। 

होमस्टे सञ्चालन तथा व्यवस्थापनका लागि उक्त संस्थाले तालिम दिनुका साथै भौतिक पूर्वाधार निर्माणमा समेत सघाएको छ। तिनजुरे मिल्के जलजले संरक्षण क्षेत्र तथा डब्लुडब्लुएफको सहयोगमा हिमाली संरक्षण मञ्चले होमस्टेको व्यवस्थापनका निमित्त काम गरिरहेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए। आगामी दिनमा होमस्टेमार्पmत ग्रामीण पर्यापर्यटनलाई प्रवर्द्धन गर्नका लागि स्थानीय तहलगायतका सरोकारवाला पक्षसँग समन्वय गरेर काम गर्ने हिमाली संरक्षण मञ्चका प्राविधिक तथा फिल्ड कोडिनेटर सन्दिप सुवेदीको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.