डिएसपी भन्छन्- कुकुर परिचालन गर्न ढिला हुँदा समस्या

|

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका-३ जाखमा वृद्ध दम्पतीको हत्या भएको घटनाको प्रहरीले भरपर्दो सुराक अझै पाउन सकेको छैन।

वैशाख ११ गते मध्यरातमा भएको आँकलन गरिएको उक्त घटनाको अनुसन्धान गर्न प्रहरीले तालिम प्राप्त कुकुरसमेत प्रयोग गरेको थियो तर घटना भएको यतिका दिन बित्दा पनि प्रहरीले अनुसन्धानलाई एउटै कोणमा केन्द्रित गर्न नसकेको स्वयं प्रहरी अधिकृत बताउँछन्। ‘घटनाको विभिन्न कोणबाट अध्ययन गर्ने काम हुँदै छ, निश्चित बिन्दुमा पुग्न सकिएको छैन।’ जिल्ला प्रहरी दार्चुलाका प्रमुख डिएसपी दीपेन्द्र शाही भन्छन्।

प्रहरी निरीक्षकको नेतृत्वमा नौजनाको टोली अनुसन्धानमा

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक प्रेमसिंह खड्काको नेतृत्वमा नौजनाको टोली परिचालन गरिएको डिएसपी शाहीले जानकारी दिए। शंकास्पद देखिएका व्यक्तिहरूको टेलिफोन नम्बर लिएर कल रेकर्डहरूसमेत जाँच सुरु गरिएको उनको भनाइ छ। ‘दर्जनौँको नाम शंकास्पद व्यक्तिका रूपमा उतार गरेर गाउँमै पुगेर अनुसन्धान गरिरहका छौँ, घटनास्थलमा कुनै पनि शंकास्पद वस्तु फेला नपरेकाले निष्कर्षमा पुग्न केही ढिलाइ भइरहेको छ’ डिएसपी शाहीले भने।

घटनास्थलमा चिपर्टबाहेक अरू वस्तु फेला नपरेको, पोष्टमार्टम रिपोर्ट आइनसकेको तथा घटना बस्तीबाट टाढा एकान्तमा भएकाले अनुसन्धानको दायरा फराकिलो बनाएर अनुसन्धान गर्नुपरेको अनुसन्धान अधिकृत प्रेमसिंह खड्काको भनाइ छ।

घटनामा संलग्नको संख्यामै दुविधा

कुटपिटमा परी घाइते भएका वृद्ध दम्पतीका नाती लोकेश महरले कुटपिटमा एक जना मात्रै संलग्न भएको प्रारम्भिक बयान दिएका थिए। लोकेश उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा रहेकाले प्रहरीले थप बुझ्न नसकेको बताएको छ भने घटनामा तीन जनाको संलग्नता हुनसक्नेतिर प्रहरीको अनुसन्धान केन्द्रित भएको छ।

वैशाख ११ गते राति करिब १० बजेतिर बांगाबगडबाट तीनजना युवा काँटैतिर लागेको बांगाबगडका स्थानीयले बताएको तथा घटनास्थलबाट प्रहरीले तीन गिलास र मदिराको एक खाली बोतलसमेत बरामद गरेको छ। त्यति मात्रै नभएर तालिम प्राप्त कुकुरले घटनामा संलग्नहरू हुस्कर मावि काँटैको प्रांगणमा समेत गएको देखिएको छ भने सोही राति करिब २ बजेतिर महाकाली नगरपालिका-२ मैखोली क्षेत्रको एक पसलमा तीनजनाले चाउचाउ मागेको तथा नौगाड गाउँपालिकाको सीमाक्षेत्र दल्लेकमा वैशाख १२ गते बिहानै तीनजनाले खाजा खाएको कुरासमेत प्रारम्भिक चरणमा देखिएकाले घटनामा ३ जना संलग्न भएको हुनसक्ने प्रहरीले जनाएको छ।

सोधपुछको क्रममा तीनजना देखिए पनि यति नै व्यक्ति उक्त घटनामा संलग्न थिए भन्न नसकिने अनुसन्धान अधिकृत खड्काले बताए। स्थानीयको सहकार्यमा शंकास्पद व्यक्तिहरूमध्ये सो क्षेत्रका तीनजना युवा सम्पर्कमा नआएकाले प्रहरीको अनुसन्धान उनीहरूतर्फ पनि जाने बताउँदै अनुसन्धान अधिकृत खड्का ती तीनजना को हुन् भन्नेबारे भने अनुसन्धान अवधिभर सार्वजनिक गर्न नहुने बताउँछन्। ‘तीनजना मात्रै होइनन् एक दर्जन बढी शंकाको घेरामा छन्, सबैलाई सोधपुछ गरेर छिट्टै नतिजामा पुग्छौँ’ अनुसन्धान अधिकृत खड्काले भने।

कुकुर प्रयोग गर्न ढिलाइ

दार्चुला जिल्लाको अनुसन्धान इतिहासमा पहिलोपटक तालिम प्राप्त कुकुरको प्रयोग गरिएको यो पहिलो घटना हो तर कुकुर प्रयोगमा ढिलाइ भएकाले अनुसन्धान सोचेजस्तो अपेक्षाकृत हुन सकेको छैन।

वैशाख ११ गते राति भएको उक्त घटनाको अनुसन्धान गर्न कुकुर वैशाख १२ गते बेलुकी मात्रै पुग्यो। धनगढीबाट कुकुर ल्याउनुपर्दा ढिलाइ भएको स्वीकार गर्दै डिएसपी शाही भन्छन् ‘तत्काल कुकुर परिचालन गर्न पाएको भए अहिलेसम्म अनुसन्धान निष्कर्षमा पुगिसक्थ्यो।’

एक त कुकुर नै ढिला पुग्यो, मुख्य सडकको छेउमा घटनास्थल भएकाले घटनामा संलग्नहरूको गन्धमा समेत ह्रास आएको र घटनास्थलमा आक्रमणकारीको कुनै वस्तु नभेटिएकाले अनुसन्धानमा ढिलाइ भएको प्रहरीको भनाइ छ।

शंकास्पद केही नियन्त्रणमा

प्रहरीले सोधपुछका लागि भन्दै महाकाली नगरपालिका-२ र ३ का केही युवालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले एक जनालाई नियन्त्रणमै राखेको र अन्यलाई बाहिरै सोधपुछ गरिरहेको बताएको छ। उनीहरूको कल रेकर्ड, पृष्ठभूमिको अध्ययन गरेर अनुसन्धान थालिएकाले अनुसन्धानको सुरुवातमै केही भन्न नसकिने दार्चुला प्रहरी प्रमुख शाहीले बताए।

कुटेरै मारेको हुनसक्ने

वृद्ध दम्पतीको हत्यामा संलग्न हुनेहरूसम्म पुग्न प्रहरीलाई केही समय लाग्ने देखिए पनि हत्या सुनियोजित नभएको निष्कर्षमा प्रहरी पुगेको छ।

अहिले नै सुनियोजित थियो वा थिएन भन्न सकिन्न तर घटनास्थल र प्रकृति हेर्दा घटना सुनुयोजित नदेखिएको डिएसपी शाहीको भनाइ छ। ‘कुनै किसिमका हतियारको प्रयोग देखिँदैन, दाउराको चिर्पट मात्रै घटनास्थलमा छ, राति मदिरा सेवनका क्रममा सामान्य विवाद भएको हुन सक्ने, सोही विवादका क्रममा हत्या भएको हुनसक्ने आशंका गर्न सकिन्छ’ डिएसपी शाहीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.