|

ताप्लेजुङ : जिल्लाको लेकाली क्षेत्रका फाँटहरूमा याक तथा चौँरीका गोठ छन्। मिक्वाखोला गाउँपालिकाको तोक्पेगोला, तीनपोखरी, लोदेन, सिङसोङदेन, साधुटारजस्ता लेकाली फाँट याक र चौँरीका गोठ हुन्।

तराईका समथर भूभागजस्ता देखिने खर्क ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङमा पर्छन्। सिजन अनुसार सो क्षेत्रका स्थानीयले चौँरी र याकको गोठलाई सार्छन्। तीनजुरे, मिल्के, जलजले (टीएमजे) बाट पापुङको लोदेन खर्कसम्म चौँरी र याकका गोठ रहेको तोक्पेगोलाका मिलन दोर्जी शेर्पाले बताए। शेर्पा र तोक्पेगोला (स्थानीय भाषामा ढोक्प्या) समुदाय याकपालनमा संलग्न छन्।

‘पशुपालन हाम्रो परम्परागत पेसा हो। तर हामी युवाले यसलाई व्यवसायका रूपमा अघि बढाउँदै छौँ’, तीनपोखरी गोठमा भेटिएका दोर्जीले भने। ‘टीएमजेबाट यहाँसम्म एक हजार याक पालिएका छन्’, चौँरी भने ७०० जति रहेको उनले सुनाए।

लेकाली क्षेत्रमा पशुपालन व्यवसाय फस्टाउँदै छ। ‘बीचमा जनशक्ति र बजारका कारण व्यवसाय घटेको थियो’, चौँरीपालक छिरिङ शेर्पाले भने, ‘पशुपालनमा युवा आकर्षित भएको र तिब्बत लैजान सजिलो भएपछि व्यवसाय बढेको हो।’ यहाँबाट ओम्बोक्ला नाका हुँदै दुई दिनमा तिब्बतको रिउ बजार पुगिन्छ।

तिब्बतीसँग यहाँका नागरिकको व्यापारिक सम्बन्ध छ। ‘रिउमा घिउ र छुर्पीभन्दा याकका बाच्छाको माग बढेको छ’, १५ वर्षदेखि गोठाला बसेका छिरिङले भने, ‘बाच्छा लिएर रिउ जान्छौँ। बेच्छौँ। अनि चामलबाहेकका खाद्यान्न र लत्ताकपडा चौँरीलाई बोकाएर फर्किन्छौँ।’ दुई वर्षसम्मका बाच्छा ७० हजारदेखि एक लाखसम्ममा बिक्री हुने उनले सुनाए।

तिब्बतीले नेपाली याकका बाच्छा पाल्नका लागि किन्छन्। उताबाट माग आएपछि मात्रै यताबाट लैजाने गरिएको उनले बताए। याक र चौँरीबाटै वार्षिक सातदेखि १० लाखसम्म आम्दानी हुने गरेको अर्का किसान पासाङ शेर्पाको भनाइ छ। ‘बच्चा पढाउन र घरखर्च धानेर बचत गर्न पुगेको छ’, उनले भने। पशुपालनमा किसानले समस्या पनि भोगेका छन्। बेला–बेला याकलाई ज्वरो आउने, पखालाजस्ता बिराम लाग्ने गरेको छ। यस्तो बेला घरेलु उपचारबाहेक अर्को विकल्प छैन।

‘हामीले जानेको घरेलु उपचार गर्छौँ’, मिलनदोर्जीले भने, ‘कहिले निको हुन्छन्, कहिले मर्छन्। कुनै एउटाको मृत्यु भयो भने त्यहीँ गाडेर गोठ सार्छौँ।’ पशु चिकित्सक र पशु कार्यालयका कर्मचारी कोही आइनपुगेको उनको भनाइ छ। ‘सरकारले सहयोग गरेको छैन’, फुजुङले भने, ‘मान्छे बिरामी हुँदा त बचाउन सकिँदैन, पशुको त के कुरा गर्नु।’ गोठको सुधार, चरन र खर्क विस्तारसँगै याकबाट लिन सकिने अन्य आम्दानीका स्रोतबारे तालिम पाए सहयोग पुग्ने किसानको अपेक्षा छ।

‘पापुङ पशुपालनको धेरै सम्भावना भएको ठाउँ हो। यहाँ दुई दर्जनभन्दा बढी समथर खर्क र चउर छन्। त्यहाँ पालिरहेका किसानलाई सहयोग गरे अन्यलाई पनि हौसला हुन्छ’, मिक्वाखोला गाउँपालिका ५ पापुङका वडाध्यक्ष डण्डु शेर्पले भने, ‘यसबाट किसानलाई त फाइदा हुन्छ नै। स्थानीय सरकारले पनि फाइदा लिन सक्छ।’

आगामी वर्ष उन्नत जातको याक बिउका लागि बजेट विनियोजन गर्ने उनले बताए। यसका साथै सीमान्तकृत तोक्पेगोला जातिको बस्ती र उनीहरूको रहनसहनका साथै गोठलाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको उनले सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.