वेद विद्याश्रम - महानगर विवाद

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले गौशालास्थित नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयको जग्गामा वडा कार्यालय बनाउने भएको छ। उक्त जग्गामा महानगरले वैशाख ३१ गते डोजर चलाएको थियो। जेठ २ गते महानगरका मेयर विद्यासुन्दर शाक्यले भवन शिल्यानास गरेका थिए।

वडा नम्बर ८ का अध्यक्ष दिनेशकुमार डंगोलले उक्त जग्गामा छिट्टै वडा कार्यालय बन्ने बताए। ‘हामीले गुठी संस्थानसँग अनुमति लिइसकेका छौं, महानगरपालिका र पशुपति विकास क्षेत्र कोषले पनि वडा कार्यालय बनाउने विषयलाई अनुमति दिइसकेको छ,’ उनले भने, ‘अब हामी छिट्टै वडा कार्यालयको भवन निर्माण गर्नेछौँ, विद्यालयका शिक्षकको गुनासोप्रति हाम्रो कुनै चासो छैन।’

उनले आगामी हप्ताको सोमबार भवन निर्माणको लागि जग्गा नाप्ने काम गर्ने र लगत्तै कार्यालय निर्माणको काममा जुट्ने बताए। ‘२०७३ सालमा बसेको बैठकले विद्यालयको उत्तरपूर्वको जग्गामा कार्यालय बनाउने निर्णय भएको थियो। हामी त्यहीअनुरूप अगाडि बढेको छौँ,’ उनले भने, ‘विद्यालयका कर्मचारीले उजुरी दिए पनि हामी हाम्रो काममा रोकिने छैनौँ, यो महानगर मेयरको सचिवालयमा गर्ने हुँदा हामी लड्न परे पनि तयार छौँ।’

अध्यक्ष डंगोलका अनुसार उक्त कार्यालय बनाउन पशुपति विकास क्षेत्र कोषले ४ रोपनी जग्गा दिएको छ। सोमबार इन्जिनियर आएर जग्गा नाप्ने र पशुपति क्षेत्र विकास कोषले दिएको जग्गाअनुरूप काम अघि बढाउने उनको भनाइ छ।

विद्यालयसँगै वडा कार्यालय बनाउँदा के विद्यालय र त्यहाँ पढ्ने विद्यार्थीलाई असर नपर्ला त? भन्ने प्रश्नमा अध्यक्ष डंगोल भन्छन्, ‘हामी विद्यालयको होस्टेलतर्फको जग्गामा कार्यालय बनाउँदै छौँ, तसर्थ विद्यालय र विद्यार्थीलाई कुनै असर पर्दैन।’ पशुपति विकास क्षेत्र कोषले उक्त विद्यालयलाई त्यहाँ नराखी अन्तै ठाउँमा सार्ने विषयमा छलफल गरिरहेको पनि उनले बताए।

महानगरले हामीलाई कुनै जानकारी गराएको छैन : प्रअ

विद्यालयका प्रधानध्यापक केशवराज अधिकारीले २ गते मेयरले शिलन्‍यास गरेपछि उक्त जग्गामा अन्य कुनै काम नभएको बताए। उनले भने, ‘विद्यालयको जग्गामा वडा कार्यालय बनाउने नबनाउने विषयमा अझै निर्णय भएको छैन, महानगरले हामीलाई कुनै जानकारी गराएको छैन।’ उनले वैशाख ३१ गते डोजर लगाएपछि भवन बनाउने विषयमा कुनै काम नभएता पनि गुठी संस्थान र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिरहेको बताए।

सुरुमा डोजर लगाउँदा पनि हामीलाई केही थाहा भएन, महानगरपालिकाले कतैबाट पनि सूचना दिएन, हामीसँग सल्लाह पनि गरेन, त्यस्तै अबका दिनमा के गर्दै छ भन्ने विषयमा हामीलाई केही थाहा छैन, प्रा.अधिकारीले भने। विद्यालय र वडा कार्यालयसँगै राख्दा विद्यालय र विद्यार्थीलाई असर पर्ने साथै पठनपाठनका लागि शान्तिमय वातावरण नहुने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.