कञ्चनपुर : भीमदत्त नगरपालिका १ बाराकुण्डा रौटेलाका धनबहादुर विष्ट २०३७ मा बैतडीबाट तराई झर्दा ३७ वर्षका थिए। तीन सन्तानका बुवा विष्टसित डेढ बिगाहा जमिन छ। त्यहीं जमिनको भरमा विष्ट घर परिवार चलाउँदै आएका छन।
नगरपालिकाले जैविक धामिर्क पर्यटन मार्ग बनाएपछि उनी खेतीपातीसँगै व्यवसाय गर्ने सोचमा छन। ‘यस्तो बाटो बन्ला भन्ने त सोचेकै थिएनौं। घर अगाडि यति ठूलो बाटो बन्यो’ विष्ट भने, ‘अब यहाँको माहौल कस्तो हुन्छ। त्यस अनुसार पसल हाल्छु।’ विष्ट आउँदा जंगल र फाँट भएको रौटेलामा एक दशकदेखि खरले छाएका घर देखिन छाडेका छन। वस्तीमा धमाधम पक्की घर निर्माण हुने क्रम बढ्दो छ।
‘वस्तीका वासिन्दा खुसी छन, जग्गाको भाउ बढेको छ' स्थानीय रविन्द्र कुँबर भन्छन,‘बाटोले व्यवसाका अवसर आएका छन। वन संरक्षण हुन्छ। अरु विकासका काम पनि आउँछन।’ दुई वर्ष अघि स्थानीय तह निर्वाचनमा गरिएको चुनावी प्रतिवद्धता अनुसार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले उच्च प्राथमिकता दिएर रौटेलादेखि ब्रह्मदेबसम्म १५ किलोमिटर जैविक मार्ग बनाएका छन।
२२ मिटर चौडा यो मार्गबाट उत्तरी क्षेत्रका वडा नं १, ३, ७, ८, ९, १० एक आपशमा जोडिएका छन। यी वडाका वासिन्दाले स्थानीय तह निर्वाचनमा घाँडीघाँच क्षेत्रलाई चुनावबाहेक अरु बेला सबैले बिर्सिदै आएको गुनासो राखेका थिए। घाँडीघाँच भन्ने बित्तिक्कै अहिले पनि अभाव र दुर्गमवस्ती भनेर चिन्ने गरिएको थियो।
स्थानीय तह निर्वाचनपछि सबैभन्दा ठूलो विकासको पूर्वाधारका रुपमा निर्माण गरिएको जैविक धार्मिक पर्यटन मार्गले घाँडीघाँचको पुरानो परिचय फेरि दिएको छ।
‘अरु पनि थुप्रै विकासका काम भएका छन। त्यसमा पनि जैविक मार्गले यो क्षेत्रको पुरानो परिचय फेर्ने फेरि दिएको छ। अब घाँडीघाँच अभाव र समस्याग्रस्त क्षेत्र होइन। नगरको समृद्धशाली क्षेत्रका रुपमा अघि आएको छ’ बाराकुण्डाका कुँबर भन्छन।
बाटाघाटो, विजुली, खानेपानी लगायतका पूर्वाधार नभएकाले घाँडीघाँचका स्थानीयलाई बुहारी भित्र्याउन समेत धौधौ थियो। पानीको समस्याले वैवाहिक नाता जोड्न धेरैले घाँडीघाँचलाई अस्वीकार गर्दै आएका थिए। घाँडीघाँचकाका स्थानीयले दाउरा बोकेर जीविका चलाउने गरेका कारण पनि यो क्षेत्र नगरभित्रको अविकसित क्षेत्रका रुपमा हेर्ने गरिएको थियो। अहिले धेरै जनाले दाउरा बेच्न छाडेका छन।
बाराकुण्डामा मात्रै ४० बिघा जमिन भएर निर्माण गरिएको यो मार्गले उत्तरी क्षेत्रमा जग्गाको भाउ ह्वात्तै बढेको छ। भीनपा ९ का वडा अध्यक्ष राम नाथले जैविकमार्ग निर्माणपछि जग्गाको भाउ चार गुनासम्म बढेको बताए। ‘हजारमा पनि किन्न नखोज्ने जग्गाको भाउ आज लाखौ पुगेको छ। बाहिरबाट आएर घडेरीका लागि जग्गा किनिन थालिएको छ’ उनले भने, ‘यो सडक पक्की भएपछि झन भाउ बढ्छ।’
भीनपाका नगर प्रमुख विष्टले उत्तरी क्षेत्रका वासिन्दालाई आवत-जावत, चुरे क्षेत्रको संरक्षण, स्थानीय र वन्यजन्तुबीच द्वन्द्व अन्त्य, धार्मिक पर्यटन प्रवर्द्धनका लागि मार्ग निर्माण गरिएको बताए। 'यो बाटोबाट रौटेला ब्रह्मदेब मात्रै होइन। त्यो क्षेत्रका सबै धार्मिक पर्यटकीयस्थल एक आपशमा जोडिएका छन। चुरे अतिक्रमण रोकिएको छ। स्थानीय र वन्यजन्तुबीच द्वन्द्व अन्त्य भएको छ’ नगर प्रमुख विष्टले भने।
स्थानीयले चुरेतिर जमिन अतिक्रमण गर्दा घाँडीघाँच क्षेत्रका स्थानीय र वन कार्यालयबीच वर्षौदेखि द्वन्द्व चल्दै आएको थियो। जैविक मार्गबाट चुरे र वस्तीको सीमा यकिन भएपछि चुरे अतिक्रमण सदाका लागि रोकिएको छ। जिल्ला वन कार्यालयका सहायक वन अधिकृत जीवछ यादवले जैविक मार्गले चुरे अतिक्रमण स्वतः रोकिएको बताए।
‘अब यो मार्ग भन्दामाथि कसैले जान पाउँदैन। यस अघि अतिक्रमण हुने र हटाउने कार्य हुँदै आएको थियो’ उनले भने। जैविक मार्ग बाराकुण्डाको बाह्र ताल, रौटेला मन्दिर, विष्णु मन्दिर साकेतधाम, भम्केनी धाम, कालिताल झर्ना, झिलमिला ताल, सिद्धनाथ मन्दिर लगायतका धार्मिक पर्यटकीयस्थल एक आपसमा जोडिएका छन। भम्केनी धामसित अन्य धार्मिक स्थल जोडेर धार्मिक सर्किट बनाउने विषयमा छलफल सुरु भएको छ।
जैविक मार्ग सुदूरपश्चिम प्रदेश सरकारको प्राथमिकतामा परेको छ। प्रदेश सरकारले गत वर्ष यो मार्गलाई काली गोदावरी कर्णाली नाम दिएर चिसापानीसम्म पुर्याउने लक्ष्य राखेर नीति तथा कार्यक्रममा समावेश गरेको थियो। जैविक मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) बनाउन तीन करोड बजेट समेत विनियोजन गरिएको छ।
जैविक मार्गलाई हराभरा बनाउन ब्रह्मदेबदेखि बाराकुण्डासम्म मार्गका किनारमा वृक्षारोपण गरिएको छ। गत पुसमा जैविक धार्मिक मार्ग म्याराथन दौडमा म्याराथन धावक बैकुण्ठ मानन्धरसहित हजारौ स्थानीय यो मार्गमा एकै साथ दौडेका थिए। भीनपाका नगर प्रमुख विष्टले जैविक धार्मिक पर्यटन मार्गबाट पूर्णागिरी माताका दर्शनार्थीलाई बाराकुण्डा पुगाउने लक्ष्य राखेका छन।
पूर्णागिरी माताको दर्शन गरेपछि ब्रह्मदेब आउने दर्शनार्थी बाराकुण्डामा आउने उनको विश्वास छ। दर्शनार्थीहरूलाई बाराकुण्डासम्म पुराउन मुसेट्टीमा झोलुङ्गे पुल वा नाका सञ्चालनका लागि भारतसित छलफल समेत गरिएको छ। ‘यो मार्ग धार्मिक पर्यटन प्रवर्द्धनका लागि उपयुक्त हुन्छ। त्यसबाट रोजगारका अवसर आउँछन् स्थानीयले गाउँमा रोगजार पाउँछ। त्यसका लागि दर्शनार्थी बाराकुण्डासम्म पुगाउन कार्यलाई प्राथमिकताका साथ अघि बढाएका छौं’ उनले भने।
धार्मिक पर्यटन प्रवर्द्धनका लागि बाराकुण्डामा एक करोड बढी लगानीमा १२ कुण्ड पुनःभरण गरी पर्यटकीय स्थलका रुपमा विकास गरिएका छन। भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणका लागि भीनपाले एक करोड सहयोगको प्रतिवद्धता गरेको छ। भीनपाले निर्माण गरेको जैविक मार्ग विकास नमूना भएको कञ्चनपुर क्षेत्र नं ३ का सांसद डा.दिपक प्रकाश भट्टले बताए।
‘यति चौडा सडक कसैले परिकल्पना गरेको थिएन’ उनले भने, ‘भीनपाले आफ्नै स्रोतमा छोटो समयमा बनाएको यो सडक विकासको नमूना हो।’ भीनपाले उत्तर क्षेत्रमा जैविकमार्ग र दक्षिणमा शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिरहेको छ। वडा १९ देखि झोलुङ्गे पुलसम्म निर्माण हुने यो मार्गको ट्रयाक खोलेर स्तरोन्नति गरिएको छ। यी दुबै मार्ग जोड्ने गरी नगर चक्रपथ निर्माण कार्य थालनी गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।