पुरानो कुरालाई मिडियाले अतिरञ्जित गरेको गुनासो

|

काठमाडौं : पार्टी एककताका बेला भएको सहमतिलाई लिएर आरोप प्रत्यारोपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार दुई पटक वार्ता भएको छ । 

दुई नेताबीच आइतवार बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुरानकानी भएको थियो। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदमबहादुर राईलाई पार्टी प्रवेश गराउनुअघि प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। 

बिहान पार्टी केन्द्रीय कार्याल धुम्बाराहीमा नेता राईलाई सत्तारुढ नेकपामा प्रवेश गराउनुअघि प्रचण्ड, पार्टी महासचिव विष्णु पौडेलसहित बालुवाटारमा भेटवार्ता भएको हो। ‘दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता भएको हो’, स्रोतले भन्यो, ‘मिडियामा आए जस्तो दुई नेताबीच केही पनि असमझदारी छैन।’

बिहान केहीबेर बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गरेपछि अध्यक्ष प्रचण्डले धुम्बाराही पुगेर नेता पदम राईलाई पार्टीमा प्रवेश गराएका थिए। बिहानको भेटवार्तामा दुई नेताबीच विप्लव र उनको पार्टीको गतिविधिमा केन्द्रित भएर छलफल भएको थियो । 

बिहानको छोटो वार्तापछि दुई अध्यक्षबीच आइतवार दिउँसो ३ बजेपछि करिब २ घण्टासम्म सम्वाद भएको छ । बिहानको सम्वादलाई अघि बढाउने क्रममा दुई नेताबीच पार्टी सचिवालयको बैठकका एजेन्डा र पार्टी एकतालाई अन्तिम रुप दिनेबारेमा छलफल भएको स्रोतले जनाएको छ । 

‘मिडियाले चर्चा गरे जसरी दुई अध्यक्षबीच कुनै  असमझारी छैन’, नेकपानिकट स्रोतले भन्यो, ‘बिहान भएको भेटवार्तालाई निरन्तरता दिने क्रममा पार्टी एकताको बाँकी रहेको सबै प्रक्रिया यथाशक्य चाँडो सक्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको छ । त्यसकै लागि दुई नेताबीच पार्टी सचिवालयको बैठकको तयारीबारेमा कुरा भएको छ ।’

दुई अध्यक्षबीच भएको छलफलका क्रममा पार्टी महासचिव विष्णु पौडेल र अर्का नेता रामबहादु थापा बादल पनि सहभागी थिए। यो भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणबारे पनि प्रचण्डलाई जानकारी गराएका थिए । 

भेटका क्रममा दुवै नेताले पार्टी एकताको विषयलाई लिएर सञ्चारमाध्यमले अतिरञ्जित गरेर समाचार प्रकाशित गरेको जनाएका थिए । भेटमा अध्यक्ष प्रचण्डले पहिले नै सार्वजनिक भइसकेको पार्टी एकताको सहमतिपत्रलाई अहिले केही सञ्चारमाध्यमले अतिरञ्जित गर्ने गरी प्रकाशित गरेको गुनासो गरेका थिए । 

दुवै नेताले भेटका क्रममा आफ्ना अभिव्यक्तिबारे प्रष्ट पार्ने कोशिश गरेका थिए । दुवैले सञ्चारमाध्यमले पुरानो विषयलाई अहिले उचालेको भन्दै सचेत हुनुपर्ने भन्दै एकअर्कालाई सुझाएका थिए ।

दुई नेताको भेटमा पार्टी एकताको टुंगो, पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्यको कार्यविभाजनबारे पनि छलफल भएको छ। प्रचण्डले पुरानो विषयलाई लिएर आफूले बोले पनि सञ्चारमाध्यमले नयाँझैँ प्रस्तुत गरेपछि समस्या भएको बताएका थिए । 

दुवै नेताले छलफका क्रममा पार्टी एकतालाई टुंगोमा पुर्याउन नदिन चलखेल भइरहेको भन्दै सचेततापूर्वक अघि बढ्नु जरुरी रहेको उल्लेख गरेका थिए । 
प्रधानमन्त्री केपी शर्मा ओली समकक्षी नरेन्द्र मोदीको सपथमा भारत गएका बेला प्रचण्डले अबको १५ महिनामा आफूलाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताएपछि दुई नेताबीच असमझदारी भएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.