|

काठमाडौं :  सबै अभिभावको राेजाइमा अहिलेे बोर्डिङ स्कुल छ। सामुदायिक विद्यालयले निजी विद्यालयले जसरी विद्यार्थी अभिभावकको मन जित्न सकेका छैन् भन्ने अधिकांश अभिभावकको बुझाइ छ। तर लतिलपुरस्थित श्रमिक शान्ति माध्यमिक विद्यालय च्यासलमा विद्यार्थीको भर्नादर बढ्दै गएपछि विद्यार्थी भर्नाको काम नै बन्द गर्नु परेको छ।

श्रमिक शान्ति माध्यमिक विद्यालय २०१२ सालमा स्थापना भएको पूरानो सामुदायिक विद्यालय हो। नयाँ शैक्षिक सत्रसँगै विद्यार्थीको भर्ना हुने क्रम बढ्दै गएपछि उक्त विद्यालयमा कक्षा पाँचदेखि नौ सम्मको भर्नालाई रोकिएको छ। यस्तो अवस्था काठमाडौंका कुनैपनि निजी विद्यालयमा समेत देखिदैन्।

विद्यालयका प्राध्यानध्यापक सानुलाल व्यञ्जनकारले कक्षा पाँच देखि नौ कक्षा सम्ममा सात सयको हारहारीमा विद्यार्थी रहेको बताए। अहिले कक्षा १० मा मात्रै ९९ विद्यार्थी अध्ययनरत छन्। त्यस्तै कक्षा ९ मा अहिले १३० विद्याथी अध्ययन गरिरहेका छन्। यस विद्यालयबाट गत चैतमा सञ्चालित एसईइ परीक्षामा ९९ परीक्षार्थी सामेल भएका थिए भने ७४ सालमा ९० परीक्षार्थीले एसईइ दिएका थिए। अघिल्लो वर्ष एसईइमा विद्यार्थीले नतिजा ३.९५ जिपिए सम्म ल्याएको प्रअ बताउँछन्। यो ललितपुर महानगरभित्रका विद्यालयको नतिजामध्ये पहिलो स्थान हो।

‘विद्यार्थीको संख्या बढी भएपछि विद्यार्थीलाई खेल्ने, डुल्ने ठाउँ भएन’, उनले भने, ‘विद्यार्थीको भर्नादर बढी देखेर सरकारले अर्को भवन बनाउन वजेट उपलब्ध गराइदिन्छौ भनेको छ तर त्यसको लागि हामीसँग जग्गा नै भएन।’ उनले त्यहाँ पढ्ने रहर गरेर आएका विद्यार्थीलाई पढाउने इच्छा भएपनि भर्ना लिन नसकेको बताए। उनका अनुसार अहिले पनि दैनिक चार–पाँच जना विद्यार्थी भर्नाको लागि आएर भर्ना नै नभई फर्किन बाध्य छन्।

उक्त विद्यालयमा कक्षा १० लाई तीन सेक्सनमा विभाजन गरिएको छ। त्यस्तै कक्षा आठ र नौ लाई दुई दुई सेक्सनमा बाँडिएको छ। कक्षा पाँचदेखि आठलाई दुई सेक्सनमा बाँडिएको छ। तर पनि नयाँ शैक्षिक सत्रमा भर्ना हुन आएका विद्यार्थीलाई भर्ना लिन नसकेको प्रअ बताउँछन्। विद्यालयमा प्रशस्त कक्षाकोठा, नयाँ भवन बनाउनका लागि खाली ठाउँ र पर्याप्त मात्रामा शिक्षक भएको भए नयाँ भर्नाका लागि आएका विद्यार्थीलाई भर्ना नै नगरी फर्काउन नपर्ने उनको भनाइ छ।

उनले अघिल्ला वर्षमा विद्यार्थीको चाप बढेपनि विद्यार्थीलाई भर्ना नै नगरी फर्काउनुपर्ने अवस्था नआएकाे। ‘अघिल्ला वर्षहरुमा पनि विद्यार्थी भर्नाको चाप त थियो नै’ उनले भने, ‘यो वर्ष निकै वढ्यो, भर्ना मात्र गरेर हुँदैन भन्ने सोचेर नै हामीले भर्नाको काम बन्द गरेका हौं।’ कक्षा चारसम्म भने विद्यार्थी भर्ना थेग्न नसक्ने अवस्था अहिलेसम्म नभएको उनको भनाइ छ।

विद्यार्थीको आकर्षण के मा?

प्रअ व्यञ्जनकारले विद्यालयमा अभिभावक र विद्यार्थी आकर्षण हुनुको मुख्य कारण विद्यालयको अनुशासन रहेको बताए। उनले भने, ‘अनुशासनसँगै विद्यालयको सफा र शान्त वातावरण, अंग्रेजी माध्यमबाट पढाई, विद्यार्थीका लागि प्रर्याप्त अतिरिक्त खेलकूद, स्थानीयको सहयोग, पढाईको गुणस्तर र व्यवहारिक शिक्षाले नै विद्यार्थी अभिभावकलाई आकर्षण गरेको हो। यो सँगै एसईइमा पनि धेरै विद्यार्थी सहभागी हुन्छन् र नतिजा पनि उष्कृट नै छ।’ श्रमिक शान्ति माध्यमिक विद्यालय ललितपुरकै उत्कृष्ट विद्यालय रहेको उनी बताउँछन्। विद्यार्थीको भर्नालाई थप गर्नु भन्दा पनि भर्ना भएका विद्यार्थीको पढाईमा गुणस्तर ल्याएर पठनपाठनलाई अघि बढउने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.