|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका विपन्न महिलाहरू लघु उद्यम सञ्चालन गरेर आत्मनिर्भर हुनका लागि साडीमा कडाई गर्ने  ( बुट्टा भर्ने) तालिम लिन थालेका छन्।

घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरको सहयोगमा सञ्चालित एक महिने निःशुल्क तालिममा नगरपालिका क्षेत्रका १९ जना महिला सहभागी रहेका छन्।

आर्थिकरूपमा विपन्न अवस्थामा रहेका महिलाहरुलाई स्वरोजगार बनाउनका लागि तालिम दिन थालिएको कार्यालयका सहजकर्ता धनबहादुर चौधरीले बताए।

तालिम लिएर दक्ष बन्ने महिलाहरुलाई सामूहिक वा एकलरूपमा तालिमअनुरूपको कार्य गर्नका लागि कार्यालयका तर्फबाट प्रविधि र सहुलियत ऋण सहयोगसमेत प्रदान गरिने व्यवस्था गरिएको छ।

 तालिम लिदै गरेका सावित्री रानाले साडीमा कडाई गर्न सिकेपछि यसलाई व्यावसायिकरूपमा अपनाउने बताइन्। साडीमा हाल धागो बुट्टा भर्ने, लेस बनाउने, सितारा राख्ने, मोती दाना राख्ने लगायतका सीपहरू सिक्न थालेको उनको भनाइ रहेको छ।

 साडीमा कडाई गर्ने कार्य सुदूरपश्चिम प्रदेशमै छैन। त्यसैले पनि यो व्यवसाय गरे अरू व्यवसायको तुलनामा बढी आम्दानी लिन सकिने भएकाले तालिममा सहभागी भएको मञ्जु कुमारी कामीले बताइन्।

व्यवसाय सञ्चालन गर्न सहुलियत ऋण र प्रविधिमा सहयोग पाइने भएकाले सीपलाई व्यवसायमा बदल्नका लागि निकै आतुर रहेको गीता चौधरीले बताइन्। तालिम पाएपछि साडी कडाईको व्यवसाय गरेर परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्य बोकेको उनको भनाइ रहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.