|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पहिलो चरणको जागरण अभियान समापन भएको छ। ७७ वटै जिल्लामा शीर्ष तहका नेता पुगेर विभिन्न कार्यक्रम र अभियान चलाएर पूरा भएको पहिलो चरणको अभियानबारे विभिन्न टिप्पणी आएका छन्।

चुनावमा व्यहोरेको पराजयबाट आत्तिएको कांग्रेस जनता र कार्यकर्ताको नाडी छाम्न अभियानमार्फत देश दौडाहामा रहेको सत्तापक्षले आरोप लगाएको छ। तर कांग्रेस भने आगामी चुनाव केन्द्रित नभई पार्टी जगाउन र संगठन बिस्तारका लागि अभियान चलाएको जवाफ दिएर जोगिन खोजेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपासहित अन्य राजनीतिक दलले कांग्रेसको अभियानलाई लिएर धारणा बनाएजस्तै कांग्रेसभित्रै पनि केही नेता कार्यकताले यसलाई सकारात्मक र उत्साहजनक भनेका छन् भने कतिले उपलब्धिविहीन र समयको बबार्दी भन्ने ठानेका छन्।

थाहाखबरसँग कुरा गर्दै नेता मीन विश्वकर्माले अभियानमा पार्टी शुभेच्छुक तथा कार्यकर्तासँग अन्तर्क्रिया गरिएको र कार्यकर्ताहरूका अपेक्षाबारे जानकारी लिएको बताए। अभियान अवधिमा कार्यकर्ताहरुले पार्टीका प्रादेशिक संरचना तथा भ्रातृ संगठनको पूर्णतालाई प्रमुखताका साथ उठाएको उनले बताए। पार्टीभित्रका शीर्ष तहका नेताहरुले अभियान उपलब्धिमूलक भनेर दाबी गरे पनि  जिल्ला तहका नेताहरु यो स्वीकार्ने पक्षमा देखिँदैनन्।

सोलुखुम्बुका सभापति विनोदकुमार बस्नेतले जागरण अभियान भन्दा पनि पार्टीको महाधिवेशन नजिकै आइरहेको पो हो कि भन्ने झल्को दिएको बताए। उनले अभियानका क्रममा शीर्ष नेताहरुले नेता कार्यकर्तालाई आफ्नो प्रभावमा पार्न हर प्रयत्न गरेको आरोप लगाए। आफ्नो पक्षमा पार्ने कसरतले थप विभाजनलाई प्रश्रय दिने भएकाले अर्को चरणको अभियानमा एकमत, एउटै एजेन्डा र लक्ष्य बनाएर मात्रै गाउँ पस्न सुझाव दिए। 

नेता चन्द्र भण्डारीले गाउँगाउँका कार्यकर्तासँग भेटघाट गर्न पाउनु खुसीको कुरा भए पनि पार्टीको विषयलाई लिएर कार्यकर्ताले राख्ने जिज्ञासा र प्रश्नको उत्तर नभएको बताए। नेता भण्डारीले भने–कार्यकर्ताको हरेक प्रश्न र खबरदारीका उत्तर दिन सक्ने गरी पार्टीले गतिविधि गरेको भए  अभियान निकै उपलब्धिमूलक हुने थियो तर अभियानका क्रममा कार्यकर्तासँग नाजवाफ हुनुपर्दा यसले उपलब्धि दिन्छ भन्ने विश्वास लागेको छैन।

दोस्रो चरणको अभियान गर्दा पार्टीको संगठन निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ। नेता भण्डारीले मुलुकमै समयअनुकुलको नेतृत्वको खाँचो भएजस्तै कांग्रेसमा पनि समयसापेक्ष नेतृत्व गर्न सक्ने स्मार्ट नेताको आवश्यकता औँल्याएका छन्। भण्डारीलाई जस्तै नेता प्रदीप पौडेललाई पनि जागरण अभियानले ठूलो उपलब्धि दिन्छ भन्ने लागेको छैन। पौडेलले भने  ‘अभियानले केहि हुँदै हुदैन भन्ने चाहिँ होइन तर पनि कांग्रेसलाई बदल्ने गरी रक्तसञ्चार भने गर्न सक्दैन।’ संघीयतापछि सीमा परिवर्तन भएका कांग्रेसका गढहरुमा पुगेर कार्यक्रम गर्न पाउनु खुशीको कुरा भए पनि तल्लो तहका संरचना खाली भएका कारण कार्यक्रम उत्साहजक हुन नसकेकोमा नेता पौडेललाई खिन्न लागेको छ।

तल्ला तहका संरचना पूरा नगरी विना तयारी गरिएको अभियान प्रभावकारी र उपलब्धिमूलक हुन नसक्ने र त्यसले सकरात्मक नतिजा पनि नदिने उनले बताए। अभियानका क्रममा विभिन्न जिल्लामा आयोजना गरिएका कार्यक्रममा पुग्दा नेतृ धनकुमारी खतिवडालाई भने अभियानले नेता कार्यकर्तामा उत्साह जगाएजस्तो लागेको छ। थाहाखबरसँग कुरा गर्दै नेतृ खतिवडाले भनिन्, 'पहिलो चरणको अभियानले पार्टीमा सकरात्मक सन्देश दिएको छ। अब दोस्रो चरणको अभियानमा कांग्रेसले आफ्ना एजेन्डाहरुमा बहस गर्नुपर्छ।' नेतृ खतिवडाले आगामी अभियानका कार्यक्रमहरूमा कार्यकर्तालाई  विधानमा टेकेर प्रशिक्षण दिन जरुरी ठानेकी छिन्। बाहिर टिप्पणी भएजस्तो कांग्रेसमा हदैसम्मको गुटको समस्या नभएको उनको बुझाइ छ। गुट लगायत पार्टीका अन्य समस्या समाधानमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत शीर्ष नेताहरूले आखाँमा पट्टी लगाएर नबस्न उनले आग्रह गरिन्।

उनले पार्टीभित्र महिलालाई सम्मान र विश्वास गर्न नेतृत्वलाई आग्रह गरिन्। साथै महिलालाई पदीय मर्यादा र दायित्व सुम्पिन कांग्रेसले कन्जुस्याइँ गर्दै आएकाले जागरण अभियानले यो विषयमा पनि जागरुक बन्न सुझाव दिएको उनले बताइन्। जागरण अभियानका क्रममा गाउँ टोलमा पुग्दा नेता धनराज गुरुङसँग कार्यकर्ताले कांग्रेसले बलियो प्रतिपक्षीको भूमिका खेल्न नसकेको गुनासो गरे।

पार्टीभित्र ठूलो त्याग तपस्या गरेका कार्यकर्ताको गुनासोलाई आफूले सुझावको रूपमा लिएको र त्यसलाई शीर्ष तहसम्म पुर्‍याउने र बलियो प्रतिपक्षीको भूमिकाका लागि अझै कसरत गर्ने उनले प्रतिबद्धता जनाए। समाजमा व्याप्त महङ्गी, कालोबजारी, भष्ट्राचार, असुरक्षा देखेर नागरिकमा सरकारसँग वितृष्णा जागेको र सुशाासन, अमनचयन र शान्ति सुरक्षाका लागि जनताले  कांग्रेससँग अपेक्षा गरेको उनको भनाइ छ। नेता एनपी साउदले जागरण अभियानले पार्टी सुधार्दै देश बनाउन प्रेरणा जागेको बताएका छन्। कार्यकर्ताहरू पार्टीभित्रको गुटबन्दीको खिलाफमा रहेकाले शीर्ष नेताले कार्यकर्ताको मर्म र भावनाअनुरूप पार्टी अगाडि लैजानुपर्ने उनको भनाइ छ।

महिला संघ लमजुङकी सचिव अप्सरा बरालले शीर्ष नेताले केन्द्रमा बसेर भन्दा पनि स्थानीय तहसम्मै पुगेर पार्टी पराजयको कारण खोज्नुपर्ने बताएकी छिन्। विगतको निर्वाचनमा पार्टी पराजयको कारण बुझ्न र आगामी निर्वाचनको तयारीका लागि जागरण अभियान गतिलो पुल बन्ने उनको बुझाइ छ। ‘तसर्थ आगामी चरणका जागरण अभियानलाई महाधिवेशन केन्द्रित भन्दा पनि संगठन बिस्तार र पार्टीका एजेन्डा तल्लो स्तरसम्मै लैजानु पर्छ’, उनले भनिन्।
 
कांग्रेसले गत वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सकेको छ। सबै जिल्ला, क्षेत्र, गाउँ  नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ। दोस्रो चरण भदौ २४ गते (बीपी जयन्ती) का दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ भने तेस्रो चरण पुस ७ गते प्रारम्भ हुनेछ। अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्ने लगायत उद्देश्य राखेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.