|

काठमाडौं : सरकारलाई हस्तान्तरण गरिएको लाजिम्पाटस्थित डा. डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयमा ३० हजारभन्दा बढी पुस्तक छन् तर  पढ्न आउने पाठकको संख्या भने ३० जनाभन्दा बढी छैन। यहाँ इतिहास, धर्म–संस्कृति, राजनीतिक, जीवनी, साहित्य, दर्शन लगायत विधाका विश्वप्रसिद्ध पुस्तकको उपलब्धता भए पनि थोरैले मात्र चासो लिने गरेका छन्।

पुस्तकालयका सदस्य सचिव तथा प्रमुख भोलाकुमार श्रेष्ठका अनुसार पुस्तक पढ्न आउने पाठकको संख्या ३० को हारहारीमा छ। ‘पुस्तकालयमा कम्प्युटर, इन्टरनेटको सुविधा छ, पाठकले चाहेअनुसारका पुस्तकको उपलब्धता पनि छ,’ उनले भने, ‘पुस्तकालयमा सबै सुविधा हुँदाहुँदै पनि पाठकको संख्यामा वृद्धि भएको छैन।’ २०६० असार १२ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएपछि दैनिक ४०\५० जनासम्म पढ्नका लागि आउँथे तर पछिल्ला दिनमा पाठकको संख्या घट्दै गएको श्रेष्ठ बताउँछन्।

उक्त पुस्तकालयमा नेपाली र नेवारी भाषाका सयभन्दा बढी हस्तलिखित कृति छन्। हाल पाठकको सुविधाको लागि कम्प्युटर र फ्री नेटको व्यवस्था गरिएको छ। प्रमुख श्रेष्ठले बच्चालाई सानै उमेरबाट पुस्तकालयमा जाने पुस्तक पढ्ने, हेर्ने र पुस्तकालयको महत्त्वबारे ज्ञान दिन आवश्यक रहेको बताउँछन्। ‘बच्चालाई पुस्तकालयमा जाने र पढ्ने बानीको विकास गर्नुपर्छ,’ उनले भने, ‘मोबाइल फोनको लत बसाल्नुभन्दा बच्चालाई पुस्तकालयमा गएर पढ्न सिकाएमा उनीहरू पछिसम्म पनि पुस्तकालयमा गएर पढ्ने, पुस्तक हेर्ने गर्छन्, बच्चाबेला देखि नै पुस्तकालय जान सिकाउनुपर्छ।’

पुस्तकालयका लेखापाल चन्द्र ओझाले अंग्रेजी भाषाका इतिहास, राजनीतिसम्बन्धी दुर्लभ पुस्तक समेत पुस्तकालयमा रहेको बताए। उनले यस पुस्तकालयबारे प्रचारप्रसारको कमी र उपलब्ध पुस्तकबारे धेरैलाई जानकारी नभएका कारण दैनिक रूपमा आउने पाठकको संख्यामा कमी आएको बताउँछन्।

उनले पुस्तकालयलाई प्रविधिमैत्री बनाउन र पाठकको संख्या वृद्धि गर्नका लागि पहल गरे पनि पाठकको संख्या भने बढाउन नसकेको बताउँछन्। पुस्तकालयमा प्रत्येक शनिबार साहित्यिक कार्यक्रम गरिन्छ भने पुस ३ गते डिल्लीरमण रेग्मीको जन्मदिन मनाइन्छ। यो सँगै वर्षको दुईपटक राष्टिय तथा अन्तर्राष्टिय पुरस्कार वितरण समेत गरिने ओझा बताउँछन्।

केशर पुस्तकालयमा सय पाठक

केशरमहलस्थित केशर पुस्तकालयमा विभिन्न भाषाका ५५ हजार हाराहारीमा पुस्तक छन। यहाँ आउने पाठक संख्या १०० छ। पुस्तकालयमा ई लाइब्रेरीको व्यवस्था गरिएसँगै पाठकको संख्या बढ्न लागेको पुस्तकालयका प्रमुख दशरथ मिश्र बताउँछन्। ‘पुस्तकालयमा पाठकको संख्या बढाउनका लागि शान्तिपूर्ण वातावरणको व्यवस्था गरेका छौँ’, उनले भने, ‘पाठकको लागि सहज र सरल वातावरणसँगै प्रविधिमैन्त्री बनाउनमा जोड दिइरहेको छौँ।’

पाठकको रोजाइ अनुसारका पुस्तक उपलब्ध गराउन सकेमा र सुविधामा थप गर्न सकेमा पाठकको संख्या बढ्न सक्ने मिश्रको आँकलन छ। उनका अनुसार अहिले पुस्तकालयमा ई लाइब्रेरीसँगै कम्प्युटर, फ्रि इन्टरनेट र खानेपानीको सुविधा गरिएको छ। पाठकको लागि बस्ने ठाउँको थप व्यवस्था गरेर पाठकको संख्यामा वृद्धि गर्ने योजना रहेको मिश्र बताउँछन्। यस पुस्तकालयमा बढी मात्रामा अंग्रेजी पढ्नका लागि स्वदेशी र विदेशी आउँछन्।  

नेपाल राष्ट्रिय पुस्तकालयमा १२ पाठक

पुलचोकस्थित रहेको नेपाल राष्ट्रिय पुस्तकालयमा पुरानादेखि लिएर नयाँ ग्रन्थका लाखौँ पुस्तक छन् तर ती पुस्तकको अध्ययन गर्ने पाठक छैनन्। नेपाल राष्ट्रिय पुस्तकालय देशदेखि विदेशसम्म नाम चलेको पुस्तकालय हो तर यहाँ पढ्न आउने पाठकको संख्या १२ भन्दा बढी छैन।

पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनालीले दैनिक पढ्न आउने पाठकको संख्या १२ देखि १५ रहेको बताए। पुस्तकालय प्रविधिमैन्त्री नभएको कारण पाठकको संख्यामा घट्ने क्रममा रहेको उनको भनाइ छ। ‘पुस्तकालयमा पुराना ग्रन्थीका लाखौँ पुस्तक छन्,’ उनले भने, ‘पुस्तकालयमा पुस्तकबाहेक अरु प्रविधिको सुविधा छैन। दैनिक पत्रपत्रिका पढ्न २\४ जना आउँछन्।’ जमलस्थित जग्गामा आगामी साउनदेखि जग्गा नापजाँच गरेर नेपाल राष्टिय पुस्तकालयको नयाँ भवन निर्माण गर्ने र पुस्तकालयलाई प्रविधिमैन्त्री बनाउने तयारीमा रहेको उनी बताउँछन्।

यस पुस्तकालयमा चाइनिज पुस्तक पनि प्रशस्त छन्। अध्यक्ष मैनालीले नयाँ भवन निर्माण गरी विदेशी र विदेशमा पनि चाइनिजलाई आकर्षण गर्ने गरी पुस्तकालय सञ्चालन गर्ने तयारी रहेको बताए। उनका अनुसार पुस्तकालयमा नेपाली, चाइनिज, अंग्रेजी, ऐतिहासिक, धार्मिक, सांस्कृत र तीन चार सय वर्ष पूराना ग्रन्थका पुस्तकहरु रहेका छन्। नेपाल राष्ट्रिय पुस्तकालय देशदेखि विदेशसम्म परिचित तर पाठक एकदम कम छन्। भूकम्पपश्चात पाठकका लागि पर्याप्त ठाउँको उपलब्धता नहुँदा नेपाल राष्ट्रिय पुस्तकालयको नामले चिनाउन नै गाह्रो भएको उनी बताउँछन्।

नेपाल भारत पुस्तकालय ३५० पाठक

सुन्धारास्थित नेपाल भारत पुस्तकालयमा नेपाली, अंग्रेजी, हिन्दी, संस्कृत भाषाका ६५ हजारभन्दा बढी पुस्तक छन्। यस पुस्तकालयमा आउने पाठकको संख्या ३५० को हारहारीमा छ। राजधानीका अन्य पुस्तकालयको तुलनामा हेर्दा नेपाल भारत पुस्तकालयमा आउने पाठकको संख्या बढी हो तर पुस्तकालयमा उपलब्ध पुस्तकको तुलनाका पाठक संख्या कम नै देखिन्छ। पुस्तकालयका अध्यक्ष महेश शर्माका अनुसार अघिल्ला वर्षको तुलनामा अहिलेको पाठक संख्या बढ्ने क्रममा छ। उनका अनुसार गत वर्ष तीन सयको हारहारीमा पाठक थिए भने अहिले ५० पाठक थपिएका छन्।

नेपाल भारत नामले जोडिए पनि यस पुस्तकालयमा आउने पाठक सबै नेपाली नै छन्। ‘यहाँ आउने ३५० पाठकमध्ये १\२ जना मात्र इन्डियन छन्,’ अध्यक्ष शर्मा भन्छन्, ‘हामीले यो पुस्तकालय नेपालीहरुको सेवाको लागि खोलिएको हो, नेपालीलाई नै प्राथमिकता दिएकाले नेपाली संख्या नै बढी छ।’ यस पुस्तकालयमा फ्रि इन्टरनेट, कम्प्युटर र एसीको समेत व्यवस्था गरिएको छ।

नेपाल भारत पुस्तकालयको प्रचारप्रसार राम्रो र राजधानीको केन्द्रविन्दुमा रहेको हुनाले अन्य पुस्तकालयको तुलनामा पाठक संख्या बढी रहेको शर्मा बताउँछन्। ‘हामीले  पाठकले खोजेअनुसारका पुस्तकको उपलब्ध गराउदै आएका छौँ,’ उनले भने, ‘शान्तिपूर्ण वातावरण, सुविधा, र प्रविधिमैन्त्री वातारण हुनाले नै अघिल्ला वर्षको तुलनामा पाठक संख्या बढेको छ।’ उनले अघिल्ला वर्षहरुमा पाठकको संख्या बढाउन प्रचार गर्नु परे पनि हाल पाठक आफैँ आउने बताउँछन्। उनका अनुसार विदाको समयमा पाठक संख्या वृद्धि भई पुस्तकालय नै कोचाकोच हुन्छ। 

 

पाठकका लागि शान्तिपूर्ण वातावरणको सिर्जना, आवश्यक सम्पूर्ण पुस्तकको उपलब्धता, र विज्ञान तथा प्रविधिमैन्त्री वातावरणको व्यवस्था गरेपछि पाठकको संख्या बढ्दै जाने उनी बताउँछन्। उनका अनुसार पुस्तकालयबाट वर्षको दुईपटक पाठकलाई उपहारस्वरूप पुस्तक प्रदान गर्ने र मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम भइरहन्छ। नेपाल भारत पुस्तकालयले अन्य पुस्तकालयको तुलनामा पाठकको संख्या बढाउनमा सफल देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.