सिन्धुपाल्चोक : खेलक्षेत्रको उदाउँदो नक्षत्रको रूपमा अग्रणी नाम हो प्रेम भण्डारी। बलेफी गाउँपालिका–३ मा वि.सं. २०३१ सालमा दिर्गकुमारी र डम्बरबहादुर भण्डारीबाट उनको जन्म भयो। सामान्य परिवारमा जन्मेका भण्डारीको खेल क्षेत्रमा सानै उमेरदेखि रुचि थियो।
उनी तेक्वान्दोबाट आफ्नो भविष्य खोज्न थाले। सामान्य परिवार भएकाले आर्थिक संकटको सामना गर्दै आफ्नो भविष्यको लागि निरन्तर मिहिनेत गर्न थाले उनी। ‘मिहिनेतको फल मिठो हुन्छ’ भन्ने उखानलाई भण्डारीले चरित्रार्थ आफ्नो जीवनमा उतारे।
सामान्य परिवारमा जन्मिएकाले आफ्नो जिम्मेवारी ठूलो थियो। एसएलसी दिएपछि आफ्नो घरपरिवारका लागि भए पनि केही गर्नुपर्छ भन्ने सोचले जागिरको खोजीमा निस्किए उनी। कामको सिलसिलामा दाइसँगै पोखरा पुगे। पोखरामा गएपछि होटलमा काम सिक्न थाले।
आफूले काम गर्ने होटलनजिक एकजना दाइले तेक्वान्दो खेलेको देखेपछि तेक्वान्दो खेलको मोह जाग्यो उनमा। त्यहीँबाट आफ्नो खेल क्षेत्रको सुरुवात गरे तेक्वान्दोबाट। त्यसपछि जिल्ला, राष्ट्रिय हुँदै अन्तराराष्ट्रिय प्रतियोगितामा समेत आफ्नो छाप छोड्न सफल भए उनी।
नेपालकै उत्कृष्ट तेक्वान्दो खेल प्रतियोगितामध्येमा पर्ने सिन्धु आमन्त्रण राष्ट्रिय प्रतियोगिता वि.सं. २०६८, २०७० र २०७२ मा गरी ३ वटा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरे। अन्तर्राष्ट्रियस्तरमा एकपटक जोर्डनमा मात्रै सम्पन्न भएको विश्व तेक्वान्दो महासंघको विश्वस्तरीय तेक्वान्दो डेमोस्ट्रेसन कार्यक्रमसमेत सिन्धुपाल्चोकको लामोसाँघुमा आयोजना गरियो।
विश्व तेक्वान्दो इतिहासमै दोस्रोपटक नेपालमा वि.सं. २०७२ मा आयोजना भयो। उक्त कार्यक्रमको उद्घाटन नेपालका तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका थिए।
यसरी सुरु गरे खेल
उनी कामको खोजीमा पोखरा गएका थिए। ‘होटलमा काम गर्दै थिए, एक्कासि तेक्वान्दो खेल्न लागेका देखेँ। त्यसपछि मेरो मन मोडियो’ उनले ठट्यौउँली पारामा थाहा खबरसँगको कुराकानीमा भने, ‘त्यसपछि मलाई खेल क्षेत्रको भूत चढ्यो। खेल क्षेत्रमा लागेपछि आफ्ना पूर्णजीवन सुम्पिएर लागेको छु। अहिले राष्ट्रिय, अन्तर्रााष्ट्रिय सम्मान तथा पुरस्कार पाउँदा धेरै खुसी लाग्छ।’
राष्ट्रिय रेफ्री एवं अन्तर्राष्ट्रिय कोच
२०४७ सालमा तेक्वान्दोमा प्रवेश गरेका भण्डारीले राष्टिय रेफ्रीदेखि अन्तर्राष्ट्रिय कोचको जिम्मेवारीसमेत सम्हालेका छन्। २०४७\५१ सम्म प्रशिक्षक कृष्ण गुरुङ र चिनकाजी गुरुङसँग प्रशिक्षण लिए। प्रशिक्षण आफूलाई खार्दै लगे। भण्डारीले वि.सं. २०५६ मा टु डान लिन सफल भए।
हाल जिल्ला तेक्वान्दो संघको सचिवको जिम्मेवारी सम्हालिरहेका उनले वि.सं. २०५९, ६४ र ७० मा क्रमशः तेस्रो, चौथो र पाँचौँ डानसमेत लिए।
विशेषगरी ५० को दशकमा प्रतियोगीका रूपमा कलर द ग्रेड च्याम्पीयनसिप, राष्ट्रिय खेलकुद, भ्याली च्याम्पियनसीप जस्ता खेल प्रतियोगीहरूमा सहभागी उत्कृष्ट ठहरिएका भण्डारी त्यसपछिको दशकमा भने राष्ट्रियस्तरका खेलहरुमा प्रशिक्षक तथा रेफ्रीका रूपमा मात्रै सहभागी भए।
सन् २०१५ मा कोरियामा भएको प्रशिक्षक तालिममा उत्कृष्ट प्रशिक्षार्थीको रूपमा सम्मानित भएका उनी २०१६ मा भुटानमा उत्कृष्ठ कोचको रूपमा सम्मानित भएका थिए। उनको खेल जीवनमै ठूलो सफलता हो भने सन् २०१७ मा दक्षिण कोरियामा भएको ११औँ विश्व तेक्वान्दो कल्चर एक्स्पो प्रतियोगितामा प्राप्त सफलता हो।
आफ्नै तीन लाखभन्दा बढी व्यक्तिगत खर्च गरी सहभागी हुन पुगेका उनले १ सय १३ देशका प्रतिस्पर्धीसँग खेल्दै फाइट र पुम्से दुवै प्रतिस्पर्धामा रजत पदक जित्न सफल भएका छन्।
विभेदपछि जागिर खाए तर, टिकेनन्
दत्तचित्त भएर आफ्नो जीवनलाई खेलक्षेत्रमा समर्पित गरेर लागेका उनलाई प्रशिक्षणकै क्रममा 'ब्ल्याक बेल्ट' लिने बेलामा प्रशिक्षकले विभेद गरे। प्रशिक्षकको विभेदपछि उनी नेपाल प्रहरीमा जागिर खान पुगे र जागिर खाए पनि। तर, उनी प्रहरीको जागिरमा टिक्न सकेनन्।
‘आफ्नो रुचिले लागेको कामलाई सहजै छोड्न सकिएन, जागिर त खाएँ तर, चौध महिना पनि पूरा हुन नपाउँदै छाडेर तेक्वान्दोमै फर्किएँ’ उनले भने, ‘जागिर छाडेपछि तेक्वान्दोको विकास आफ्नै जम्मभूमिबाट गर्नुपर्ने ध्येयका साथ सिन्धुपाल्चोक फर्किए।’
सिन्धुपाल्चोकमा पनि तेक्वान्दो खेललाई प्रोत्साहन गर्नको लागि बाह्रबीसेमा तेक्वान्दो प्रशिक्षण सुरु गरेको बताउँछन् उनी। ब्ल्याक बेल्ड लिएर तेक्वान्दो प्रशिक्षण सुरु गरेका भण्डारी जिल्लामा तेक्वान्दो खेलको सुरुवात गर्ने पहिलो खेलाडीको रूपमा दर्ज भए।
प्रशिक्षार्थी विश्व च्याम्पीयनसिपमा सहभागीतासम्म
उनले सिन्धुपाल्चोकमा तेक्वान्दो सुरु गर्दा खासै सहयोग नपाएको भए पनि पछिल्लो चरणमा उनकै प्रशिक्षणमा तेक्वान्दोप्रेमीको वृद्धि भएको बताउँछन्। उनीसँग हालसम्म १ हजार ८ सय भन्दा बढीलाई तेक्वान्दो प्रशिक्षण दिएको अनुभव छ। भण्डारीकै प्रेरणामा तेक्वान्दोमा प्रवेश गरेका ६० भन्दा बढीले 'ब्ल्याक बेल्ट'समेत लिएका छन् भने केहीले त पाँचौँ डानसमेत प्राप्त गरेका छन्।
सरकारी निकायबाट सहयोग मिलेन
सिन्धुपाल्चोक जिल्लाको मात्रै नभएर सिंगो देशको तेक्वान्दो खेललाई अन्तर्रााष्टिय क्षेत्रसम्म फैलाउँदासमेत आफूमाथि सरकारी निकायबाट खासै सहयोग नपुगेको बताउँछन् उनी। तर, उनलाई तेक्वान्दो खेलमा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सहयोग गरेका थिए।
आफैंमा तेक्वान्दो खेलको पाचौँ डानसम्म पुगेका बस्नेतले सिन्धुपाल्चोकको तेक्वान्दो विकासको गरेको सहयोग प्रशंसायोग्य रहेको उनको भनाइ छ।
बस्नेतको सहयोगमा बाह्रबीसेको पँलातीमा क्षमादेवी तेक्वान्दो डोजाङ र यमुनाडाँडामा पनि तेक्वान्दो डोजाङ भवनको निर्माण भयो। जिल्लाको पीपलडाँडा, खाडीचौर, सुकुटे, बलेफी, जलबिरेलगायत स्थानमा समेत डोजाङको भवन बनाउने योजना सरकारी तथा अन्य निकायको सहयोग नभएकाले योजना साकार पार्न नसकेको उनको गुनासो छ।
दुई छोरा नै तेक्वान्दोमा
उनी आफू मात्रै नभएर उनका दुई छोराहरू पनि तेक्वान्दोका अब्बल खेलाडीका रूपमा दर्ज भइसकेका छन्। उनका जेठा छोरा सगुन १५ र कान्छा छोरा प्रशान्त ११ वर्षका छन्। जेठो छोरा ८ वर्षबाट र कान्छो छोराले ७ वर्षबाट तेक्वान्दो खेल्न थालेको बताउँछन् उनी।
उनका छोराहरूले स्थानीय, जिल्ला, राष्ट्रिय हुँदै अन्तर्राष्टिय प्रतियोगितमासमेत सहभागिता जनाइसकेका छन्। तीनै बाउछोरा अन्तर्राष्टिय प्रतियोगितमा उत्रने योजना बनाएको बताउँछन् उनी।
‘हामी परिवारका तीनै बाउछोरा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्रेर सिंगो देशको नाम चिनाउने लक्ष्य लिएको छौं’ उनी भन्छन्, ‘त्यसैले हामी तेक्वान्दो खेलको विकासका लागि जुटेका छौँ।’ उनका दुवै छोराहरू गोठाटार तेक्वान्दो डोजाङबाट प्रशिक्षण लिँदै आएका छन्।
भण्डारीको सफलता चुलिँदै
तेक्वान्दो संघको अध्यक्ष भण्डारीको नेतृत्वमा जेठको १८ गतेबाट २१ सम्म भुटानको राजधानी थिम्पुमा भएको ५ औँ अन्तर्राष्टिय प्रतियोगितामा भण्डारीको टोली सफलता प्राप्त गर्यो। प्रतियोगितामा ३ स्वर्ण पदक, ६ रजत र २ कांस्य पदक जित्यो। १३ जनाको टोलीमा १० जनाले ११ पदक जित्यो।
उनी स्वयंले पुस्सेतर्फ नेपाली टोलीलाई पहिलो स्वर्ण पदक दिलाए। क्याडेटतर्फ ३३ केजी तौल समूहमा सिसम श्रेष्ठ र जुनियरतर्फ ५२ केजी तौल समूहका सञ्चिता खड्काले स्वर्ण पदक दिलाइन्।
भण्डारीका छोरा सगुन, सविन कार्की, दिप्सन केसी, सोनी लामा, चमेली तामाङ, गंगा तामाङले विभिन्न उमेर र तौल समूहमा एक/एक रजत दिलाए। प्रतियोगितामा सागर खड्का एक कास्य र सविन कार्कीले एक रजत र एक कांस्य दिलाउन सफल भए।
कहिल्यै छोडेन सिन्धुमोहले
कर्मथलो अन्यन्त्र बनाएपछि धेरैले जन्मथलोको माया मार्ने गरेका छन्। तर, उनले सिन्धुपाल्चोक जिल्लालाई कहिल्यै भूल्न सकेनन्। हालै भुटानको राजधानी थिम्पुमा भएको प्रतियोगितामा सफल भएपछि उनी सिधै सिन्धुपाल्चोक आइपुगेका छन्।
‘अरूले कर्मको लागि आफ्नो जन्मभूमि छोड्छन्। तर, म सिन्धुपाल्चोकलाई कहिल्यै भूल्न सक्दिनँ’ उनले भने, ‘जिल्लाले आफूलाई यहाँसम्म पुर्याएको हुनाले जिल्लाको मायाले आफूलाई सधैँ तान्छ।’
‘तेक्वान्दो विकासको धेरै संघर्ष गर्नुपरेको छ। तत्कालीन जिल्ला विकास समिति, जिल्ला खेलकुद विकास समितिले केही सहयोग गर्यो’ उनले भने, ‘उनीहरूले दिएको पैसाले नधानेपछि आफैंँले खर्च गरेर हिँड्नुपरेको छ।’
सिन्धुपाल्चोक जिल्लामा आफैँले तेक्वान्दो खेलको सुरुवात गरेको हुनाले यहाँको तेक्वान्दो खेलको विकासमा निरन्तररूपमा अहोरात्र खट्ने बताउँछन् उनी। आम्दानी नभए पनि आफ्नो सन्तुष्टिका लागि जिल्लाको तेक्वान्दो विकासमा लागेको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।