|

काठमाडौं : राजधानीका निजी विद्यालय, हजारौं रकम खर्चेर छोराछोरीलाई पढ्न पठाइन्छ। यिनै पैसावाल निजी विद्यालयले सामुदायिक विद्यालयको स्तरलाई तल्लो स्तरमा पुर्याउँदै आएको छ।

अहिले सामुदायिक विद्यालय भन्ने वित्तिकै न त अभिभावकको ध्यान झट्टै जान्छ न त विद्यार्थीको नै। यिनै निजी विद्यालयको बीचमा राजधानीकाे बाफलस्थित एउटा यस्तो सामुदायिक विद्यालय पनि छ, जसले निजी विद्यालयको स्तरलाई खस्काउँदै अब्बल नतिजा ल्याउँदै आएको छ।  याे विद्यालय हो ज्ञानोदय माध्यमिक विद्यालय।

२०२० सालमा टहराबाट पठापाठन सुरु गरेको यस विद्यालयका अहिले तीनवटा पक्की भवन छन्। आज यस विद्यालय गुणस्तरीय तथा प्राविधिक शिक्षा प्रदान गर्ने उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा चिनिन पुगेको छ। गुणस्तर शिक्षा तथा प्राविधिक शिक्षा प्राप्तिकै लागि यस नयाँ शैक्षिक सत्रमा २८ सय ६१ विद्यार्थी भर्ना भएका छन्। जुन राजधानीका निजी विद्यालयमा यो संख्या विरलै मात्र भेटिन्छन्। यस वर्ष मात्रै निजी विद्यालय छोडेर ज्ञानोदय विद्यालयमा भर्ना हुन आउने विद्यार्थी संख्या पाँच सयको हारहारीमा छ।

विद्यालयका लेखापाल रमेश धितालका अनुसार २०७५ सालमा छात्र ११७ र छात्रा १४७ गरी २६४ विद्यार्थी एसईइ परीक्षामा सामेल भए। यस वर्ष कक्षा १० मा मात्रै २८६ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा भएका सबै भवनमा विद्यार्थी टनाटन छन्, उनी भन्छन्, ‘ठाउँ अभावका कारण यहाँ पढ्न आउने सबै विद्यार्थीलाई हामी भर्ना लिन सक्दैनौं, हामीले अहिले दुई कक्षाबाटै भर्ना रोक्नु परेको छ।’ अहिले पनि भर्नाको लागि दिनहुँ विद्यार्थी विद्यालयमा आउँदै फर्किदै गरेको बताउँछन् उनी।

विद्यालयको नामजस्तै प्यारा छन् त्यहाँ अध्ययनरत विद्यार्थी पनि। अनुशासन नै हाम्रो गहना हो भन्ने बुझेका छन् साना–साना नानीबाबुले पनि। विद्यार्थीसँगै विद्यालयका प्राध्यानध्यापकमा पनि उत्तिकै मिठासपन छ। आफू उच्च पदमा रहे पनि विद्यालयका हरेक क्रियाकलापमा उनले सक्रियता जनाउँछन् अन्य कर्मचारीसँगै।  

विद्यालयका प्राध्यानध्यापक हुन् नातिकाजी महर्जन। उनी विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म विद्यालयमै खट्छन्। उनको सबै खुसी भनेको नै विद्यालय बनेको छ अहिले। विद्यालयप्रतिको उनको मेहनत, लगाब र सफलतालाई कसैले नर्कान सक्दैन।

विद्यालयलाई अझ उच्च स्थानमा पुर्याउनका लागि २०७० सालदेखि ११/१२ कक्षा पनि समावेश गरिएको छ। प्राध्यानध्यापक महर्जनका अनुसार ११/१२ कक्षामा सिभिल इन्जिनियरिङ, वयवस्थापन र विज्ञान संकायको पढाई हुदैँ आएको छ। २०७५ सालको ब्याजमा ११ कक्षामा २११ र १२ कक्षामा १५० विद्यार्थी अध्ययनरत थिए।

लेखापाल धितालले यस वर्ष नर्सरी कक्षामा १११ बालबालिका भर्ना भएका छन्। त्यस्तै जे.केजीमा ११४, एस.केजीमा ११७ र कक्षा एक मा १२६ बालबालिका भर्ना भएका छन्। यो सँगै कक्षा दुईमा १२२, कक्षा ३ मा १४९, कक्षा ४ मा १८५ विद्यार्थीलाई भर्ना गरिएको छ।

कक्षा ५ मा मात्रै १९४ विद्यार्थी भर्ना भएका छन् जसलाई चार सेक्सनमा विभाजन गरि अध्यापन गराइएको छ। त्यस्तै कक्षा ६ मा १७७ विद्यार्थी भर्ना भएको र चार सेक्सनमा विभाजन गरी पढाउँदै आएको धिताल बताउँछन्। कक्षा ७ मा मात्रै २५४ विद्यार्थी छन्, जसलाई पाँच सेक्सनमा बाँडिएको छ। कक्षा ८ मा ३४१, कक्षा ९ मा मात्रै ३३५ विद्यार्थी अध्ययनरत छन्, जसलाई ६ वटा सेक्सनमा विभाजन गरी पठनपाठन गराइएको छ। कक्षा १० मा अध्ययनरत २८६ विद्यार्थीलाई पाँच सेक्सनमा विभाजन गरी अध्यापनकार्यलाई अघि बढाइएको धिताल बताउँछन्, उनी भन्छन्, ‘यो भन्दा बढी विद्यार्थी हाम्रो विद्यालयले थेग्न सक्दैन, त्यसैले भर्नाको काम रोक्नुपरेको छ, भर्ना हुन आएका विद्यार्थीलाई विना भर्ना फर्काउनु परेको छ।’ विद्यालयले भर्नाको काम वैशाख १५ बाटै रोकेको छ।

प्राविधिक शिक्षामा जोड

प्राविधिक शिक्षा आजको आवश्यकता भएका कारण विद्यालयमा प्राविधिक शिक्षालाई विशेष जोड दिएको लेखापाल धिताल बताउँछन्। उनका अनुसार कक्षा ९,१०,११,१२ मा प्राविधिक शिक्षाअन्तर्गत शिभिल इन्जियरिङ विषयको पढाई हुँदै आएको छ। त्यस्तै कक्षा ४ देखि कक्षा १२ सम्म नै कम्प्युटर तथा ल्यापटपको व्यवस्था गरिएको छ। ‘विद्यालयको आइसिटी हलमा ५० ल्यापटप र ७२ डेक्सटप छन,’ उनले भने, ‘हामी विद्यार्थीलाई कक्षा सेक्सनअनुसार ल्यापटप चलाउन दिने गरेका छौं, त्यस्तै डेक्सटपमा हप्ताको ३ दिन सिकाउने गरिन्छ।

सिभिल इन्जिनियरिङ अध्ययपनका लागि माध्यमिक तहमा ३ जना र निम्न माध्यमिक विद्यालयमा २ गरी पाँच दक्ष इन्जिनियरको व्यवस्था गरिएको छ। धितालका अनुसार विद्यालयमा ८९ शिक्षक शिक्षिका छन् जसमध्ये ५२ जना स्थायी छन् भने बाँकी निजी स्रोतबाट आएका छन्। विद्यालयले प्राविधिक शिक्षासँगै विगत दुई वर्षदेखि अध्ययनरत छात्राको लागि एक रुपैयाँमा स्यानेटेरी प्याड प्रदान गर्दै आएको छ।

नर्सरीलाई दिवा खाजा

सरकारले सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था गर्ने भनेपनि त्यो पूरा गर्न सकेको छैन। तर ज्ञानोदय विद्यालयले विद्यालयको तर्फबाट नर्सरीका १११ बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्दै आएको छ। विद्यालयका शिक्षिकाको अनुसार बालबालिकाको लागि दैनिक दुध उपलब्ध हुँदै आएको छ। विद्यार्थी संख्या बढी हुँदा सबै विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्न नसकेको विद्यालयका कर्मचारी बताउँछन्।

विद्यालयको सफलता

निजी विद्यालयको भन्दा अब्बल नतिजा ल्याउनु, विद्यार्थी अभिभावकको मन मुटुमा बस्न सक्नु नै विद्यालयले पाएको सफतला हो भन्छन्, प्रा.महर्जन। हामीले कक्षाकोठालाई कसरी व्यवस्थित गर्ने, प्राविधिक शिक्षालाई अग्रस्थानमा कसरी लैजाने भन्नेबारे छलफल गरिहन्छौं, उनले भने, ‘दक्ष, मेहनती तथा प्राविधिक शिक्षक समूह, स्तरीय पुस्तकालय, विज्ञान प्रयाेगशाला, इन्जिनियिरङ ल्याब, हाेटल म्यानेजमेन्ट ल्याब, कक्षागत रुपमा अभिभावक भेला साथै अनुशासित विद्यार्थी समूह र सिकाईमा शैक्षिक सामाग्रीको प्रयोगबाट नै विद्यालयले सफता पाएको छ।’ उनले नर्सरी देखि कक्षा १२ सम्म नै अंग्रेजी माध्यमबाट पढाई हुँदै आएको बताउँछन्।

२०७४ सालको एसईइ परीक्षाको नतिजा हेर्ने हो भने पत्याउनै गाह्रो पर्ने खालको छ, जसमा सि प्लस ग्रेड ल्याउने विद्यार्थी संख्या दुई मात्र छ। ए प्लस ल्याउने विद्यार्थी संख्या ७१ छ भने, ए ग्रेड ल्याउने ४८ र बि प्लस ल्याउने विद्यार्थी संख्या ५६ रहेको छ, जसलाई सामुदायिक विद्यालय अन्तर्गत उत्कृष्ट नतिजा मानिन्छ। बिदाको समयमा कमजोर विद्यार्थीलाई उपचारार्थक कक्षाको नामबाट निःशुल्क रुपमा अध्ययापन गराउँदै आएको प्रा.महर्जन बताउँछन्।

विद्यालयमा शिक्षक विद्यार्थी र अभिभावक बीचको सम्बन्ध दरिलो हुँदै जानु, विदाको समयमा पनि बिदा नभनी शिक्षण पेसामै आवद्ध हुने शिक्षक समूह हुनु र विद्यार्थी अभिभावक दुवै पक्षबाट विद्यालयले पाएको माया नै विद्यालयले चुमेको सफतला बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.