निर्णय सच्याउन नेपाली व्यवसायीको आग्रह

|

काठमाडौं:  गृह मन्त्रालयले भारतबाट कच्चा पदार्थ बोकेर नेपाल आउने मालबाहक सवारीसाधनको चेकजाँच नगर्न निर्देशन दिएको छ। मन्त्रालयले मेचीदेखि महाकालीसम्म भारतसँग सीमा जोडिएका जिल्ला प्रशासनलाई परिपत्र गरेर चेकजाच नगर्न निर्देशन दिएको हो।

नेपाली उद्योगका लागि भारतबाट कच्चा पदार्थ लिएर नेपाल प्रबेश गर्ने मालवाहक सवारी साधनको चेकजाँच नगर्न परिपत्र जारी गरिएको मन्त्रालयका शाखा अधिकृत दीपक पौडेलले जानकारी दिए। भारतीय मालबाहक गाडीलाई प्रहरीले ठाउँ ठाउँमा रोकेर अनाबश्यक दुख दिएको उद्योगीले लिखित गुनासो गरेकाले चेकजाँच नगर्न परिपत्र गरिएको पौडेलले थाहालाई जानकारी दिए। 

बाटोमा ट्राफिक प्रहरीबाट ओभरलोड भनेर ट्रक र ट्रेलरहरु समाति दुःख दिने, जरिवाना तिराउने, हैरानी दिने, दुई/तीन दिनसम्म होल्डमा राख्ने गरेको लिखित र मौखिक गुनासाहरु आएको हुँदा भारतबाट आयात गरिने औद्योगिक कच्चा पदार्थ बोकेका भारवहन ट्रक र ट्रेलरहरुलाई चेकजाँच नगर्न गृहको परिपत्रमा भनिएको छ।

बैशाख २७ गतेको गृहमन्त्री स्तरीय निर्णयबाट जारी भएको परिपत्रको नेपाली ट्रक व्यवसायीले विरोध गरेका छन्। भारतीय ट्रक र ट्रेलरहरुको चेकजाँच नगर्ने तर, कच्चा पदार्थ बोकेका नेपाली ट्रकलाई भने दुःख दिने गरिएको भन्दै व्यवसायीले बिरोध गरेका हुन्।

नेपाली ट्रक व्यवसायीले निर्णय सच्याउन गृहमन्त्रालयमा लिखित गुनासो गरेका छन्। नेपाली व्यवसायीको गुनासोबारे भने गृहमन्त्रालय छलफलमै रहेको शाखा अधिकृत पौडेलले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.