कर्मचारी भन्छन्- समस्याको कारण नै विद्युत् र इन्टरनेट

|

ताप्लेजुङ : प्रविधिको प्रयोगका कारण सेवाग्राहीहरुलाई सुविधा पुग्नुपर्ने हो तर ताप्लेजुङको एक कार्यालयमा सुरु भएको प्रविधिले सेवाग्राहीलाई अझ दुःख दिएको छ। हचुवाका भरमा प्रविधिको प्रयोग गरिँदा मालपोत कार्यालय ताप्लेजुङ अस्तव्यस्त बनेको छ।

सेवाग्राही धेरैदिनदेखि काम नभएर अलपत्र छन्। गत जेठ २१ गते मालपोत कार्यालय ताप्लेजुङमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन शेवा सुरु गरियो। जहाँ न विद्युतको नियमितता छ न इन्टरनेटको नै भरपर्दो व्यवस्था छ।

बिना तयारीले थप अस्तव्‍यस्त

तयारीविना गरिएको अनलाईन सेवाले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले आजभोलि दैनिकरुपमा विभिन्न सास्ती पाइरहेका छन्। रोचक त के छ भने जुन दिन अनलाईन शेवा सुरु गरिने दिन थियो त्यही दिन जिल्ला सदरमुकाममा विद्युत थिएन्।

त्यसको प्रत्यक्षदर्शी भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दुवाडी पनि थिए। दुवाडीको उपस्थितिमा सुचारु गरिएको अनलाईन प्रणाली अहिले सेवाग्राही र कर्मचारीलाई निल्नु न ओकल्नु भएको छ।

सेवाग्राहीलाई सास्ती

छोटो समयमै सम्पन्न हुनुपर्ने कामका लागि समेत सेवाग्राहीहरु चार दिनसम्म मालपोत कार्यालयमा कुर्नुपर्ने अवस्था आएको छ। 'गाउँबाट आएर यहाँ होटलमा बसेको ५ दिन भयो।

एउटा जग्गा पास गर्न पनि सकिएको छैन।' सिरिजंगा गाउँपालिकाका विवस लिम्बूले भने, 'कर्मचारीहरुले कहिले नेट चलेन भन्छन्, कहिले विजुली छैन भन्छन्। हामीलाई त धेरै आर्थिक भार पर्यो।'

विनातयारी हचुवाको भरमा अनलाइन प्रणाली लागू गर्नुभन्दा पहिलेको नै ठिक भएको अर्का सेवाग्राही किक्र्या शेर्पा बताउँछन्। जिल्लाको दुर्गम पापुङ, याम्फुदिन, कालिखोला, ओलाङ्चुङगोला लगायतका स्थानवाट आएका सेवाग्राहीको समयमै काम नहुँदा आक्रोशित पनि हुने गरेको लेखापढी व्यावसायी शेरबहादुर ताम्लिङ बताउँछन्।

कर्मचारी भन्छन्- समस्या विद्युत् र इन्टरनेटको हो

यता अनलाइन प्रणालीमार्फत सप्टवेयर सञ्चालन गर्ने दक्ष कर्मचारी र पर्याप्त कम्प्युटर भए पनि विद्युत र ईन्टरनेटको समस्याका कारण विगतको तुलनामा न्यून मात्रामा काम भएको कर्मचारी स्वीर्काछन्।

'पहिले अफलाइनबाट काम गर्ने गरेका थियौँ। अहिले अनलाइन प्रणाली भएपछि विद्युत र इन्टरनेटको नियमितता छैन।' कर्मचारी तीर्थराज नेपाल भन्छन्, 'पहिलेभन्दा निकै ढिला हुने गरेको छ। सेवाग्राही पनि धेरै गुनासो गर्नुहुन्छ। तर काम चाँडो गर्न हामीलाई नै कठिन छ।'

कार्यालयबाट पहिले दैनिक कम्तीमा पनि २० वटासम्म जग्गा पास हुने गरेको भए पनि अहिले दैनिक २ देखि ३ ओटा मात्र पास हुने गरेको छ।

विद्युत र इन्टरनेटमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको निमित्त कार्यालय प्रमुख किशोर अधिकारी बताउँछन्। 'हामीले यस विषयमा माथिल्लो निकायमा जानकारी गराइसकेका छौँ। माथिबाट पनि समाधान गर्ने आश्वासन दिनुभएको छ।

अब चाँडै समाधान हुन्छ भन्ने आशा छ' अधिकारीले भने। यसरी हचुवाको भरमा अनलाइन प्रणाली लागू गरी सेवाग्राहीलाई समस्या थप गर्नुभन्दा आवश्यक उपकरण तथा अन्य आवश्यक कुराको व्यवस्था पछि मात्र यस्तो व्यवस्था लागू गर्नसके बढी प्रभावकारी हुने सेवाग्राहीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.