बैंकको लापरवाहीले करौडौंको चेक अनादर

|

कपिलवस्तु : पश्चिम नेपालको सबैभन्दा ठूलो चामल उद्योग कपिलवस्तु मल्टिएग्रो इन्ड्रस्ट्रिजमा शिलबन्दी गरिएको छ।

जिल्लाको बाणगंगा नगरपालिका ८ बोडगाउँमा रहेको मल्टीएग्रो इन्ड्रस्ट्रिजको चेक धमाधम अनादर (बाउन्स) भएपछि चामल ब्यापारीहरूको मुद्दाका आधारमा जिल्ला अदालत कपिलवस्तुको रोहबरमा शिलबन्दी गरिएको हो। सोही वडाका भिमलाल पौडेल, इन्द्रमणि पौडेल लगायतका ब्यक्तिहरु संचालक रहेको उक्त इन्ड्रस्ट्रिजमा अदालतले दिएको बिगो कोर्टसम्बन्धी मुदको आदेशानुसार शिल गरिएको अदालतका तहशिलदार लेषनाथ अर्यालले बताए।

साविक मोतीपुर गाबिस ४ (ख) को कित्ता नम्बर ३५४ को १ बिघा २ कठ्ठा २ धुर क्षेत्रफलमा रहेको प्रालिको राइसमिल प्लान्ट, गोदाममा ९ वटा ताला लगाई शिलबन्दी गरिएको छ। कपिलवस्तु नगरपालिका १० पचेहरास्थित न्यु पुजा खाद्य उद्योग संचालक तौलन बानियाले जिल्ला अदालत कपिलवस्तुमा मल्टिएग्रो संचालक भिम पौडेल र इन्द्रमणि पौडेलबिरुद्ध २५ लाख रुपैयाँका ६ वटा चेक अनादरका मुद्दा जिल्ला अदालत कपिलवस्तुमा दिएका थिए।

जिल्ला न्यायाधीश भरतमणि खनालको इजलासको फैसला अनुसार सो मुद्दामा बानियाले कुल सावा रकम एक करोड ७८ लाख ८ हजार २९९ रुपैयाँको सो ब्याज समेत भराइ पाउने ठहर गरेको थियो। २०७५ साल पुस ९ गतेको फैसलाले प्रस्तुत गरे अनुरुप उद्योगका संचालकहरू रहेका प्रतिवादीका नामको ३५ दिने सूचना दिँदा समेत बिगो दाखिला गर्न नल्याएपछि प्रतिवादीहरूको नाममा रहेको चल अचल सम्पत्ति रोक्का समेत गरिएको थियो।

वादी बानियाले प्रतिवादीहरू र कानुनी ब्यक्ति उद्योग समेतबाट आर्थिक कारोबार गर्न नपाउने गरी उद्योग, गोदाम, धर्मकाटा लगायतमा शिलबन्दी गरि आफ््नो बिगो बापतमा अदालतको कब्जामा राख्नका लागी दिएको निबेदनका आधारमा सो शिलबन्दी गरिएको थियो।

बादी बानियाको माग अनुरुप वादीको बिगो भराइ दिन प्रतिवादीहरुको उद्योग, गोदाम लगायतको चलअचल सम्पत्तीमा शिलबन्दीको आदेश अनुरुप कार्यवाहक वडाध्यक्ष नाथुराम चौधरी, वडासदस्य शिवप्रसाद पाण्डेय, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी हवल्दार जितेन्द्र बिष्टको रोहबरमा शिलबन्दी गरिएको तहशिलदार अर्यालले जानकारी दिए।

बानियासहित जिल्लाका अन्य १४ जना ब्यबसायीले आफूहरूले पाउनुपर्ने ५ करोड ९२ लाख ४६ हजार २०० रुपैयाँ रहेकोमा इन्ड्रस्ट्रिजद्बारा सम्बन्धित फर्मका नाममा दिएको तीद्द करोड ३२ लाख ३७ हजारको चेक अनादर (बाउन्स) भएको बताइएका थिए।

बैंकको समेत चरम लापरवाही

नेपाल इन्भेस्टमेन्ट बैंक भैरहवा शाखा कार्यालयमा खाता संचालन रहेको सो उद्योगको चेक अनादर भएको हो। कपिलवस्तु मल्टी एग्रोइन्डष्ट्रिज प्रालिको नाममा नेपाल इन्भेष्टमेन्ट बैंक भैरहवा शाखाको खाता नम्बर ०१००१०३०२५४८५४ का चेकहरू अनादर भएका हुन्। चेक अनादर भएकाका बिषयमा बैंकका शाखा प्रवन्धक राजाराम उपाध्यायले कुनै प्रतिक्रिया दिन मानेनन्।

बैंकिङ नियमानुसार चेक अनादर भएको खण्डमा सबन्धित खातावालालाई जानकारी दिनुपर्ने हुन्छ। तर नेपाल इन्भेस्टमेन्ट बैंक भैरहवालाई जिल्ला अदालत कपिलवस्तुले कपिलवस्तु मल्टीएग्रोइन्डष्ट्रिज प्रालिका बारेमा पटकपटक जानकारी गराउदा समेत उपाध्यायले अटेरी गरेको ब्यापारीको आरोप छ। नियमानुसार अदालतले लिखित रुपमा खातावालाको खाता बन्द गर्नु भनी आएमा संबन्धित शाखाले केन्द्रीय शाखामा तुरुन्त जानकारी दिनुपर्ने हुन्छ।  

उद्योग र बैंक दुबैको मिलेमतोको आरोप

साना चामल व्यापारीले आफूलाई उद्योग र बैंकले ठगेको आरोप लगाएका छन्। दुई वर्षदेखि सो उद्योगलाई धान चामल बेच्दै आएका कपिलवस्तु नगरपालिका १० पचेहरास्थित न्यू पुजा खाद्य उद्योगका संचालक तौलन बनियाँले सो उद्योगले दिएको एक करोड २५ लाखको चेक अनादर भएको बताएका छन्।

‘२५ लाखका ५ वटा चेकबाट पैसा पाइएन। चेक अनादर भयो। असोज ३०, कार्तिक १, कार्तिक ११, कार्तिक २१ र माघ २९ मा उद्योगले २५/२५ लाखका चेक दिएको थियो।’ बनियाँले भने, ‘उद्योगका संचालकसँग चेक अनादर भएका विषयमा जानकारी गराउँदा समेत आलटाल मात्र गर्छन्। बैंकले पनि यस विषयमा कुनै चासो दिएको छैन्।’  

बानियाँले उद्योगबाट १ करोड ७८ लाख ८ हजार २९९ रुपैयाँ ८५ पैसा पाउन बाँकी रहेको बताए। उनले भने, ‘त्यस मध्येको १ करोड २५ लाखको चेक अनादर भएको हो। बैंकले चेक अनादर गरेपछि चेक रजिस्ष्ट्री गरेर उद्योगमै पठाएको थियो।’ यस्तै पचेहराकै फिन्स ट्रेडर्सका संचालक पशुपति बनियाँको ३० लाखको चेक अनादर भएको बताए।

कार्तिक १ मा ५ लाख, कार्तिक ११ मा १० लाख कार्तिक २१ मा १० लाख र फागुन २ मा काटिएका ५ लाख रुपैयाँका चेक बैंकबाट अनादर भएको बनियाँ बताउँछन्। उद्योगबाट पचेहराकै गोरख किराना तथा गल्ला उद्योगका गोरख बानियाँले  कुल पाउनुपर्ने ५३ लाख ७ हजार १५६ रुपैयाँ मध्ये १६ लाख ५० हजारको चेक अनादर भएको बताए।

बैंक कसुर तथा सजाए ऐन २०६४ अनुसार लगातार दुइदेखि तीनवटा चेक अनादर भए कालो सूचीमा राख्नका लागि कर्जा सूचना केन्द्रमा सिफारिश पठाउन सक्ने प्रावधान छ। तर बैंकले त्यसो नगरी उल्टै उद्योगलाई नै साथ दिएको पीडित व्यापारीको आरोप छ।

संचारकर्मीलाई अनादर भएका चेक देखाउँदै ब्यापारीले भने, ‘यी चेक साट्न पटक पटक भैरहवास्थित नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा धायौँ। चेक साटिएन। वैंकका प्रवन्धकले उल्टै विभिन्न बहाना गरी कम्पनीका संचालकहरूको पक्षमा ढाकछोप गर्न खोजे।’

एग्रो इन्डष्ट्रिजबाट व्यवसायी गोरखनाथ बनियाँले ५३ लाख, प्रभुनाथ बनियाँले ३ लाख ३५ हजार, पशुपति बनियाँले ४६ लाख २० हजार, राजनारायण गिरीले ९ लाख ९ हजार, हरिद्वार बनियाँले १८ लाख ६८ हजार रुपैयाँ प्राप्त गर्नुपर्ने देखिन्छ।

यसै गरी मिश्रीलाल बनियाँको ३ लाख ५८ हजार,रामदयाल चौधरीको १६ लाख, नरदेव चौधरीको ३ लाख ५१ हजार, नन्दलाल अग्रहरीको १६ लाख ५८ हजार, मुन्नुलाल अग्रहरीको १५ लाख २६ हजार, मनोज बनियाँको १ करोड ५० लाख, राधेश्याम बनियाँको १६ लाख २७ हजार, नन्दकिशोर बरईको १५ लाख ८ हजार, महेन्द्र बनियाँको ८ लाख ७ हजार रुपैयाँ सो कम्पनीबाट प्राप्त गर्नु पर्ने छ।

यसैगरी हरिराम यादवको ६ लाख, गौतम गुप्ताको २ लाख ४४ हजार,राम मिलन विश्वकर्माको ५ लाख ६८ हजार, सुभाष चन्द्र जयसवालको १८ लाख, नरसिंह कलवारको ७ लाख ३९ हजार, राम करन यादवको ३ लाख १५ हजार रुपैयाँ सो कंपनीबाट प्राप्त गर्नु पर्ने देखिएको ब्यापारीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.