१२ पास गरेर आफूजस्तै दृष्टिविहीनलाई पढाउने प्रेमको लक्ष्य

|

रुकुम : शारीरीक रूपमा दुर्वलता भएका व्यक्तिलाई क्षमतालाई मध्यनजर गरी आवश्यकताको आधारमा अवसर दिएको खण्डमा जस्तोसुकै काम पनि गर्न सक्छन्।  सामान्य व्यक्ति जस्तै अपांगता भएका व्यक्तिहरूले पनि उदाहरणीय काम गर्न सक्छन्।

त्यसैको एउटा उदाहरणीय काम रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको छ। चौरजहारी नगरपालिका-१२ को विकट गाउँमा जन्मिएका प्रेम नेपाली जन्मजात दृष्टिविहीन व्यक्ति हुन्। उमेरले २५ वर्ष पुगेका नेपालीले जन्मजात दुवै आँखाको ज्योति गुमाउन पुगे। उनका अभिभावकले छोराको उपचारका लागि नेपालगञ्जदेखि भारतको कोलकत्तासम्म पुर्‍याएका थिए। तर पनि उनको उपचार सम्‍भव भएन।

ऋण तिर्न गएका बाबु फर्किएनन्

स्थानीयस्तरमा समेत वैद्यिक उपचार विधि अवलम्बन गरे तर त्यो पनि सम्‍भव भएन। विकट गाउँको गरिब परिवारमा जन्मेका प्रेमका २ भाई र २ बहिनी छन्। उनीको उपचारमा भएको जायजेथा पनि सकियो।

त्यो उपचारमा लागेको खर्च तिर्नका लागि उनका बाबु भारत गए तर आजभन्दा १७ वर्ष पहिले भारत काम गर्न गएका हालसम्म घर फर्किएनन्। घरका परिवारका अन्य सदस्यहरूले समेत उनी आउने आस मारिसकेका छन्। साढे एक दशकसम्म सम्पर्कविहीन भएपछि सायद उनको निधन भइसकेको हुनसक्ने उनकी श्रीमती टिकुली नेपाली बताउँछिन्।

जेठा छोरा प्रेम दृष्टिविहीन भएपछि उनी घरको आँगन वरिपरि नै सीमित भए। घरबाहिर जानका लागि पनि त्यहाँको भू-बनोटले साथ दिएन। जंगलको बीचमा रहेको उनको घर वरिपरि जंगल र भिरालो भूभागले घेरिएको थियो।

२०६६ सालमा अपांगताको क्षेत्रमा काम गर्दै आइरहेको मानव विकास तथा सामुदायिक सेवाअन्तर्गत आशा बाल विकास सेवाले रुकुम पश्चिमको चौरजहारीमा सिविआर कार्यक्रम संचालनमा ल्यायो। उक्त संस्थामार्फत त्यहाँ चौरजहारी अस्पताल पनि संचालनमा छ। कार्यक्रमपछि प्रेमको बारेमा जानकारी लिइयो।

ब्रेललिपिबाट अध्ययन

त्यो बेला प्रेमको इच्छा पढ्ने थियो तर परिवारका सदस्यहरूले प्रेमले विद्यालयमा पढ्न नसक्ने भन्दै नपढाउने निर्णय गरे। सामुदायिमा आधारित पुनर्स्थापना सेवाका सहजकर्ताको पटकपटकको परामर्श र दृष्टिविहीनहरूले पनि पढन सक्छन् भन्ने कुराले गर्दा अन्तत: प्रेमलाई विद्यालय पठाउने निर्णय लिए।

कार्यक्रमको पहलमा उनलाई जाजरकोटको भेरी नगरपालिका ६, रहेको लक्ष्मी माध्यामिक विद्यालयमा भर्ना गरियो। जुन विद्यालयमा दृष्टिविहीनहरूका लागि ब्रेललिपिको माध्यमबाट पठनपाठन भइरहेको थियो।

एउटा विकट ठाउँ र गरिब परिवारमा दृष्टिविहीनता भएर जन्मलिएका प्रेम परिवार हाल उक्त विद्यालयको कक्षा १० मा अध्ययन गरिरहेका छन्। छोराको पढाइ देखेर आमा टिकुली नेपालीले छोराले केही गर्छ भन्नेमा आशावादी छिन्। हाल एसइई परीक्षाको तयारीमा दृष्टिविहीन विद्याथीहरू लागिरहेका छन्।

कम्प्युटर मोबाइल चलाउन सक्नेदेखि लिएर उनीहरूले ब्रेलको माध्यमबाट पढन र लेख्नमा सक्षम बनेका छन्। प्रेमको अबको इच्छा १२ कक्षा उतीर्ण गरेर आफूजस्तै समस्या भएका व्यक्तिहरूलाई शिक्षा प्रदान गर्ने रहेको छ।

उक्त विद्यालयमा दृष्टिविहीनता छात्र तथा छात्राहरूको संख्या बढ्दो अवस्था रहेको प्रशिक्षक केन्द्रले बताएको छ। चौरजहारी नगरपालिकामा कुल ४ सय ३६ जना विविध प्रकृतिका समस्या भएका व्यक्तिहरू छन्।

अपांगता भएका व्यक्ति तथा परिवारहरूका लागि सिविआरले शिक्षा, स्वास्थ्य, सामाजीकरण, सशक्तीकरण, जीवन निर्वाहको लागि सीपमूलक तालिम कृत्रिम सामग्री प्रदान तथा स्थानीयस्तरमा पुनर्स्थापनका साथै उनीहरूको पक्षमा वकालत गर्दै आइरहेको छ। उक्त संस्थामार्फत अपांगता क्षेत्रका व्‍यक्तिहरूको पुनर्स्थापनाको क्षेत्रमा स्थानीय सरकारसँगको सहकार्यमा कार्यक्रम संचालन गर्दै आइरहेको सहजकर्ता गोपाल रेग्मीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.