|

सिन्धुली : यहाँको सुनकोशी गाउँपालिका-५ रामटारबाट बिपी राजमार्गलाई छाडेर करिब आधा घण्टाको पैदय यात्रा गरेपछि ताम्लीङ ताम्लीङ बेशी पुगिन्छ।

वरिपरि डाँडापाखाले घेरेको ताम्लीङ बेशीमा खोलाको किनारमा खेतीयोग्य फाँट छ। धेरै लामो समयदेखि ताम्लीङ बेशीको नामबाट चिनिएको यस ठाउँको नाम केही वर्ष यतादेखि भने परिवर्तन हुँदै अहिले सुन्दर बस्ती नामकरण भएको रहेछ।

त्यहाँ पुगेर झट्ट वरिपरि हेर्दा सुन्दर पनि लाग्छ। यस सुन्दर बस्तीलाई आजभन्दा एक वर्ष अगाडि सुन्दर बस्ती भन्न कति सुहाउथ्यो सुहाउँदैनथ्यो त्यो भन्न सकिन्न। तर, अहिले यहाँ पुग्ने जोकोहीलाई पनि यस ठाउँको नाम सुन्दर बस्ती हो भनेर परिचित गराउँदा ठाउँ अनुसारको नाम भन्न कुनै हिचकिचाहट राख्दैनन्।

धान छाडेर फूलखेती

यसको  एउटै कारण छ। ज्ञानेन्द्र भट्टराईको फूलखेती। सुनकोशी गाउँपालिका–३ सुन्दर बस्तीमा स्थायी बसोबास गर्दै आएका उनले धान मकै लगायतका परम्परागत खेतीलाई छाडेर अहिले सयपत्री फूलखेती गरिरहेका छन्। ८/१० पाथी धान फल्ने आधा रोपनीको एउटा खेतको गराबाट फूलखेती सुरु गरेका उनले अहिले झन्डै ६ रोपनीभन्दा बढी खेतमा फूलखेती गरेका छन्।

उनले यस खेतमा धान मकै लगायतका परम्परागत खेती गर्न चटक्कै छाडेर अहिले बाह्रै महिना फूलखेती गरिरहेका छन्। ‘पहिलोपटक थोरै खेतमा मैले फूलखेती गरेको थिएँ।

थोरै गर्दा पनि आम्दानी सारै राम्रो भयो र यसलाई व्यवसायिकरूपमा गर्दा झन् राम्रो आम्दानी हुन्छ होला भन्ने लागेर यसलाई बढाएर ६ रोपनीमा फूल खेती सुरु गरेको हुँ’ उनले भने। उनले सुरुमा भारतको कलकत्ताबाट सयपत्री पुलको बिउ ल्याएर रोपेका हुन्।

व्यावसायिक तालिम

सुरुमा आधा रोपनीमा लगाएको फूलखेतीबाट ५०/६० हजारको आम्दानी भएपछि फूलखेतीमा आकर्षित हुँदै काठमाडौंमा रहेको पुष्प विकास केन्द्रमा उनले एक हप्ताको तालिम लिन गए। तालिम लिएर आएपछि व्यावसायिक रूपमा ६ रोपनीभन्दा बढीमा फूलखेती विस्तार गरेको उनले बताए।

फूल र माला बेचेर ६ लाख

उनले उत्पादन भएको फूलको माला बनाएर बेच्ने गरेका छन्। ‘यहाँ उत्पादन भएका सबै फूललाई टिपेर माला बनाउँदै बेच्ने गरेको छु। यस लटमा मैले झन्डै डेढ लाखसम्मको फूलको माला बनाएर बेचिसकेको छु। अझै ३ लाख जतिको फूल बगैँचामै छन्। त्यो दिन दिनै टिप्दै माला बनाउँदै पठाउँछु’ उनले मुस्कुराउँदै सुनाए।

सरदरमा एकपटक रोपेको विरुवा हुर्केर फूल फूल्न तीन महिना लाग्छ, उनले भने, ‘तीन महिनामा फूल टिपेर बजार पठाउन ठिक हुन्छ। थप एक महिनामा दिनदिनै टिपेर माला बनाउँदै बजार पठाउँछु। करिब ४/ ५ महिनाको अवधिमा फूल बेचेर ५ देखि ६ लाख आम्दानी हुन्छ।’

फूल टिप्‍न तीनजनालाई रोजगारी

उनले उत्पादन भएको फूल काठमाडौंको पशुपतिनाथ मन्दिरदेखि पूर्वको विराटनगरसम्म पठाउने गरेका छन्। स्थानीयस्तरमा गाउँपालिकामा हुने गरेका कार्यक्रम तथा शुभकार्यमा उनको फूलको प्रयोग हुने गरेको छ।

उनको फूल उत्पादन भएदेखि सरकारी कार्यक्रम तथा अन्य कार्यक्रममा खादाको सट्टामा उनले उत्पादन गरेको मालाको प्रयोग हुने गरेको छ। उनले बगैँचाको फूल टिप्‍न र माला बुन्न तीनजना स्थानीय महिलाहरूलाई रोजगारीसमेत दिएका छन्।

भारतबाट आयात हुने फूलहरूले प्रभाव पार्ने भएकाले भारतकै फूलको मूल्यमा एउटा मालाको बजार मूल्य अनुसार २० देखि ३५ रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताए। ‘दिनमा मैले ५ सयदेखि ६ सय माला बजार पठाउने गरेको छु। कहिलेकाहीँ विषादी छरेको बेला, पानी परेको बेला, बन्द भएको बेलामा एक दुई दिन रोकिन्छ’ उनले भने।

११ युवाले थाले फूलखेती

गाउँमा भट्टराईले फूलखेती गर्दा उनी एक्लै थिए। सुरुमा फूलखेती गर्दा धान फल्ने खेतमा फूल रोपेको भनेर गाउँका बुढापाकाले उनको कुरा पनि काटे। ‘कृषि भनेपछि परम्परागत धान, मकै, गहुँ मात्रै लगाउनुपर्छ भन्ने सोच अझै पनि गाउँमा छ। व्यावसायिकरूपमा गर्नुपर्छ भन्ने सोच नै छैन् गाउँमा। अनि कसैले गरेमा विभिन्न कुरा काट्ने बानी पनि छ’ उनले भने।

सुन्दरबस्तीमा उनले गरेको फूलखेतीदेखि अरू वेरोजगार युवाहरु पनि फूलखेतीमा लागेका छन्। गाउँका ११ जना युवालाई फुल खेतीका बारेमा सिकाउँदै फूलखेती गर्न लगाएको उनले बताए।

‘मैले गाउँकै छिमेकी ११ जना युवाहरूलाई फूल खेतीमा लगाएका छु। मैले गरेको देखेरै मेरो प्रेरणाले गर्दा उनीहरुले पनि सुरु गरेका हुन्। उनीहरुले उत्पादन गरेको फुलको पनि मैले नै बजारसम्म पुर्याउने काम गर्छु’ उनले भने।

वर्षको तीन लाखका लागि विदेश जानुपर्दैन

वर्षको दुई तीन लाख कमाउन विदेश जानै पर्दैन, उनले भने ‘विदेशमा खटेजती यहाँ खट्ने हो भने बर्षमा दुई तिन लाख कमाउन विदेश जानै पर्दैन, यही मेहनत गर्दा आम्दानी हुन्छ भनेर मैले मेरै उमेरका ११ जना साथीलाई फूलखेती गर्न लगाएको छु’उनले भने। समूहमा मिलेर फूलखेतीलाई अझ बढाउँदै लैजाने आफ्नो सोच रहेको उनको भनाइ छ।

उनको फूलखेती देखिपछि सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बाहोरो दाहालले आगामी वर्ष फूलखेतीको विकासका लागि सक्दो सहयोग गर्ने बचन दिएको उनले सुनाए। गाउँपालिकाले सहयोग गरेको समूहमा थरीथरीका फूल रोप्ने उनको योजना छ।

विदेशबाट फर्केर फूलखेती

प्लस टु होटल म्याजेनमेन्ट र ब्याचलर कमर्शमा गरेका भट्टराई धन कमाउने आशामा विदेश गएका थिए। होटलमा काम गर्ने भन्दै दुवई होमिएका उनी मेडिकल चेकमा चेसमा दाग(निमोनियाको दाग) देखिएपछि कम्पनीले विदेशबाट घर फर्काईदियो।

‘मलाई त खासमा गाउँघरमै व्यवसाय गर्ने रहर थियो। मलाई बाख्रापालन गर्न सारै रहर पनि थियो। विदेशमा गएर केही सयम बसेर पैसा कमाउँछु र घर आएर बाख्रापालन सुरु गर्छु भन्ने सोचेर विदेश गएको थिए। तर मेडिकल चेकमा निमोनियाको दाग देखिएपछि तीन महिनामा घर फर्काईदियो। घर फर्कदा म खुसी साथ फर्के’ उनले भने।

विदेश ३ महिना बस्दा विदेशमा गर्ने दुःख स्वदेशमै गरेमा विदेशको भन्दा धेरे कमाउन सक्छु भन्ने आट् पलाएको उनले बताए। ‘कुरा काट्ने धेरै हुँदा रहेछन् मैले कसैको कुरा नसुनी फूल खेती सुरु गरेँ। अहिले सफल नै छु जस्तो लाग्छ’ उनले भने।

घाँसखेती बाख्रापालन र कागती

उनका दाजु, भाउजू, आमा, बुबासहितका परिवारले फूलखेतीसँगै पोषिलो घास, व्यावसायिक कागती खेती र बाख्रापालन पनि गरेका छन्। व्यवसायिकरूपमा बाख्रापालन गर्न करिब २ सय वटा बाख्रा अट्ने खोर निर्माण गरिएको उनले बताए।

चार रोपनीमा घाँसखेती गरेको उनले बताए। १४ रोपनी जग्गामा ८ सय कागतीका बोटहरू रहेको उनले बताए। कागत यो वर्षदेखि थोरै फल्न थालेकाले अर्को वर्षदेखि नियमित कागती फल्ने उनले बताए।

बाख्रापालनका लागि घाँस रोप्दै गरेको र खोर पनि निर्माण भईरहेकाले अहिले ३६ वटा लोकल जातका र बोयर जातका बाख्राहरु रहेको उनको भनाई। कृषिमा आम्दानी राम्रो भएपनि काम गर्ने कामदार भेटाउन मुस्कील पर्ने गरेको उनको गुनसो छ। कृषिलाई हेला गर्दा राम्रै पैसा दिदा पनि काम गर्ने मान्छे नभेटिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.