शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा प्राथमिकता

|

तनहुँ : शुक्लागण्डकी नगरपालिकाको पाँचौ नगरसभाबाट आगामी आर्थिक वर्षको लागि शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिदैँ ८५ करोड ६८ लाख १२ हजार ८७५ रुपैयाँको बजेट पारित गरेको छ। नगरसभाले पारित गरेको बजेट मंगलबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरिएको हो।

नगरपालिकाको आम्दानीमा आन्तरिक स्रोततर्फ राजस्व संकलनबाट १० करोड आठ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ। राजस्व बाँडफाँडबाट १२ करोड ८३ लाख ७३ हजार ८७५ रुपैयाँ, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १४ करोड ७१ लाख रुपैयाँ, सशर्त अनुदान २५ करोड ९३ लाख रुपैयाँ रहेको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए।

उनका अनुसार प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान एक करोड २७ लाख ३९ हजार, समपुरक अनुदानमा ३ करोड ६० लाख, सशर्त अनुदानमा ३० लाख रुपैयाँ रहेको छ।

नगरपालिकाको मध्य भागमा पृथ्वी राजमार्ग र सेती गण्डकी रहेको, पर्यटन, कृषि तथा उद्योगको पर्याप्त सम्भावना रहेको, धार्मिक सांस्कृतिक पहिचान बोकेको, प्राकृतिक स्राेत र साधनको प्रचुरता भएको एवं स्थानीय उत्पादनको बजरीकरण गर्न सकिने आधार भएकोले विकासका लागि पर्याप्त सम्भावना रहेको नगरको रुपमा रहेको छ।

जिल्ला समन्वय समितिबाट एक करोड ८० लाख, सामाजिक सुरक्षा भत्ता १२ करोड, सडक बोर्ड नेपालबाट ४० लाख र अघिल्लो वर्षको मौज्दात दुई करोड ७० लाख रुपैयाँ आम्दानी हुने उनले बताए। खर्च तर्फ चालुमा वडा कार्यालयसहित नगर कार्यपालिका सञ्चालन खर्च आठ करोड २६ लाख ७२ हजार ३७५, सर्शत खर्चमा कुल ४४ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको प्रवक्ता कुमालले बताए। 

नगरपालिकाले कृषिमा विविधिकरण तथा व्यबसायीकरणमा जोड दिदै भौगोलिक सम्भाव्यता र निर्मित पूर्वाधारको मध्यनजर गरी तुलनात्मक लाभप्रद बाली उत्पादनमा जोड दिइनेछ। नगरपालिकाले प्राकृतिक रुपमा रहेका नदीनाला, वन, जडिबुटी साथै खनिज स्राेतको प्रयोग र दिगो व्यवस्थापन गर्दै उत्पादन वृद्धि र आय आर्जन वृद्धिमा जोड दिएको छ।

कृषियोग्य भूमिको अभिलेखीकरण गर्ने भूमिको विकासको लागि कृषियोग्य जमिनको चक्लाबन्दी गर्ने, किसानलाई वर्गीकरण गरी निश्चित सीमा भन्दा माथिको कृषि आयमा कर लगाउने, कानुन तर्जुमा गरी कृषि उत्पादनमा बृद्धि गर्ने नीति नगरपालिकाले लिएको छ। 

पुँजीगत खर्चमा आर्थिक विकासका लागि एक करोड ८७ लाख, सामाजिक विकासमा छ करोड ७४ लाख रुपैयाँ, पुर्वाधार विकासमा आठ करोड ६१ लाख रुपैयाँ, वातावरण तथा विपद व्यवस्थापनमा एक करोड दुई लाख, सुशासन तथा संस्थागत विकासमा एक करोड ४२ लाख ५७ हजार ५०० रुपैयाँ विनियोजन गरिएको छ। यहाँका १२ वटा वडाका लागि दश करोड ६६ लाख ८३ हजार रुपैयाँ विनियोजन गरिएको कुमालले जानकारी दिए। 

कृषि उत्पादन र उपभोक्ताबीच सिधा सम्पर्कको लागि बजार व्यवस्थापन गरी बिचौलिया प्रवृत्तिको अन्त्य गर्नुका साथै कृषक सहयोग कार्यक्रम संचालन एवं व्यवस्था गर्ने नीति लिएको छ। किसानको हक हित संरक्षण गर्ने, कृषि सामग्री र कृषि उपज मूल्य र बजार पहुँच सुनिश्चितताका लागि पूर्वाधार तयार गर्ने योजना नगरपालिकाको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.