|

रुकुम : रुकुम पश्चिममा थालिएको मदिरा मुक्त घोषणा अभियानको विषयमा आलोचना भएको छ। सरकारी मदिरा उद्योग खुलाउने तर निजी व्यवसायमाथि प्रतिबन्ध लगाएको भन्दै आलोचना भएको हो।

मदिरा मुक्त गर्ने अभियानअन्तर्गत रुकुम पश्चिममा कुनै पनि मदिरा बिक्रीवितरण गर्न नपाइने निर्णय गरिएको छ भने कहीँ कतै खोलेको पाइएमा प्रहरी परिचालन गरेर नै बन्द गर्ने गरिएको छ। जिल्लामा पहिलोपटक आठबिसकोट नगरपालिका मदिरामुक्त स्थानीय तहको रूपमा घोषणासमेत गरिएको छ।

जहाँ कुनै पनि व्यवसायीलाई मदिरा बिक्रिवितरणको लागि प्रतिबन्ध गरिएको छ। जसमा घरेलु तथा अन्तशुल्क लागेको लाइसेन्स प्राप्त मदिरा व्यवसायमा पनि रोक लगाइएको छ। तर मदिरा मुक्त घोषणा गर्ने स्थानीय सरकारकै करोडौं लगानीमा आठबिसकोटमा नै मदिरा उत्पादन भइरहेको छ।

एक वर्षअघि देखिको तयारीमा संचालित उक्त मदिरा उद्योगमा हाल वाईन उत्पादनको अन्तिम तयारीमा पुगेको छ। मदिरा मुक्त गर्ने नगरपालिकाले नै आफैँ मदिरा उद्योग बन्द नगराएको भन्दै अन्य व्यवसायीहरूले बिरोध तथा आलोचना पनि गरेका छन।

मदिरा व्यवसायी संघ रुकुम पश्चिमका अध्यक्ष नबिन खड्काले व्यवसायीको मदिरा बिक्री वितरण गर्न प्रतिबन्ध गर्ने र सरकार आफैँ वाइन उत्पादन गर्नु निरंकुशतावादी शैली भएको बताए।

‘हामी व्यवसायीहरूको प्रहरी लगाएर मदिरा पसल बन्द गराउने तर सरकारले संचालन गरेको मदिरा उद्योगको लागि भने प्रहरी चुपचाप छ’ उनले भने, ‘कानुन लागू हुने हो भने त सबैलाई एउटै लागू हुनुपर्ने हो तर रुकुममा त ठूलाबडालाई एउटा र सानोलाई अर्को कानुन रहेछ।’

मनोमानी निर्णयले व्यवसाय धरापमा

 संघीय सरकारबाट अनुमति प्राप्त मदिरा व्यवसाय गर्दा पनि स्थानीय सरकारको मनोमानी निर्णयले आफूहरूको व्यवसाय नै धरापमा परेको मदिरा व्यवसायीहरूको भनाइ छ। उता आठबिसकोट नगरपालिकाले भने वाईन उद्योग बन्द गर्नुको साटो वाईन उद्योगको लागि थप सामाग्रीहरू समेत माग गरेको छ।

नगरपालिकाले पत्रिकामा सूचना प्रकाशित गरेर वाइन भण्डारण सामग्रीको बोलपत्र समय थपसमेत गरिएको बताएको छ। नगरपालिका आफैँ मदिरा मुक्त घोषणा गर्ने अनि आफैँ वाईन उद्योगमा लगानी गरेको विषयमा सामाजिक संजालहरूमा चर्को आलोचना भएको छ।

तर यस विषयमा नगर प्रमुख गोर्खबहादुर केसीले अहिले उत्पादन भइरहेको वाइन बन्द गर्न नसकिने भए पनि अब क्रमस जुस उद्योगको रुपमा विकास गर्ने प्रतिक्रिया दिँदै आएका छन्।

नगरपालिकाले करिब ४ करोडको लागानीमा स्थानीय डिम्मुरको फलबाट वाइन उत्पादन गरिरहेको छ। उद्योगबाट उत्पादित वाइन जिल्लाबाहिर लिएर मात्र बिक्रिवितरण गर्ने नगरपालिकाको तर्क छ।

मदिराको समस्या र्वोच्चमा

जिल्ला समन्वय समिति रुकुम पश्चिमले जिल्लालाई मदिरा मुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेपछि जिल्लास्थित व्यवसायीहरू आन्दोलित भएका थिए। त्यस निर्णय बिरुद्ध मदिरा व्यवसायीहरूले उच्च अदालत सुर्खेतमा मुद्दासमेत हालेका थिए। अदालतले जिल्ला समन्वय समितिको निर्णय कार्यान्वयन नगर्न र अन्तशुःक लगाएर आएको मदिरा र लाइसन्स लिएर गरिएको मदिरा व्यवसायमा रोक नलगाउन अन्तरिम आदेश गरेको थियो।

त्यसपछि जिल्ला समन्वय समिति नै उच्च अदालतको निर्णयविरुद्ध सर्वोच्चमा गएको थियो। सर्वोच्चले उच्च अदालतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेसँगै अहिले जिल्लामा मदिरा व्यवसाय बन्द गरेको छ। बाहिरी जिल्लाबाट मदिरा आयात र बिक्रीवितरण गर्न दिइएको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.