फिचर

जहाँबाट अन्त्य भयो सुरेन्द्रको राष्ट्रिय करियर

भन्छन्- खुट्टा चल्दासम्म खेलाडी हाइहाइ

असार २७, २०७६

    इलाम : हरेक खेलाडीको करियरको सफलतासँगै देश विदेशका प्रतियोगितामा माग समेत उच्च हुन्छ। त्यस्तै माग डेढ दशकअघि इटहरी निवासी पूर्वराष्ट्रिय खेलाडी सुरेन्द्र तामाङको। एक दशक ए डिभिजन क्बल थ्रीस्टारमा बिताएका उनको भारतको पश्चिम बंगालमा आयोजना हुने प्रतियोगितामा खेल कौशल देखाए। उनको खेल हेर्न नेपालीभाषीहरुले रंगशाला र खेलमैदान भरिभराउ हुन्थ्यो। 

    सिक्किम, दार्जिलिङ, आसाम, कोलम्पोङलगायत पश्चिम बंगालमा हुने प्रतियोगितमा प्रायः उनी व्यस्त रहन्थे। नेपालका शहीद स्मारक लिगका अतिरिक्त बुढासुब्बा, तिलोत्तमा र आहा लगायत सीमित मात्र प्रतियोगिता आयोजना हुने भएकाले भारतका विभिन्न क्लबहरुले स्थानीयको मन जित्न उनलाई खेलमैदानमा उतार्थे। उनी मैदान उत्रिएपछि नेपालीभाषीहरुको मुखमा एउटै नाम हुन्थ्यो ‘कम अन सुरेन्द्र, यु क्यान प्रुभ योअरसेल्फ’। 

    करियरको उचाइमा रहेका बेला भारतको सिक्किममा प्रतियोगिता खेल्न सन् २००७ मा उनको फुटबल टिम बिहानै घरबाट माइक्रोबस चढेर काँकडभिट्टातर्फ लागे। सधैंझैं आफुलाई प्रमाणित गर्न सिक्किम हिँडेका उनलाई के थाहा त्यही दिनले उनको करियरलाई ओरालो लगाउँछ भनेर। सुरेन्द्र चढेको बस मोरङको उर्लाबारी नजिकै मंगलबारेमा दुर्घटनामा पर्‍यो। सुरेन्द्रको खुट्टा भाँचियो। झन्डै ६ महिना बेड रेस्टमा बसे। ‘त्यो बेला फुटबलमा कमव्याक गर्न सक्छु जस्तो लागेका थिएन,’ उनले भने, ‘तर फेरि फर्किएँ।’

    नेपाली राष्ट्रिय टिममा चार वर्ष नियमित ११ मा स्थान बनाएका उनले एक वर्षपछि बुटवलमा भएको तिलोत्तमा गोल्डकपबाट घरेलु फुटबलमा कमब्याक गरे। तर, राष्ट्रिय जर्सी भने लगाउन पाएनन्। त्यसपछि पोखरामा भएको आहा गोल्डकप र धरान गोल्डकपमा आफ्नो कौशल देखाए। ‘एन्फा अध्यक्ष गणेश थापा आउनुभएको थियो। खेल देखेर कमब्याकको बधाइ पनि दिनुभयो। तर राष्ट्रिय टिममा फेरि बोलाइएन,’ बुढासुब्बा गोल्डकप सम्झँदै उनले भने, ‘क्लबका सिनियर र जुनियर भाइहरुले लामो समयको कमब्याकमा बधाइ पनि दिए। लामो तयारीका कारण टिमका लागि पर्फमेन्स पनि राम्रै दिएँ।’

    कमब्याकलगत्तै थ्रीस्टारले उनलाई पुनः क्याप्टेनको आर्मब्यान्ड दियो भारतको आमन्त्रित प्रतियोगिता गर्भनस गोल्डकपका लागि। लामो समयपछि नेतृत्व गर्दै उपाधि समेत थ्रीस्टारलाई दिलाए। उनको नेतृत्वमा पाँच वर्षमा थ्रीस्टारले आहा, तिलोत्तमा, बुढासुव्बा, गर्भनसलगायत आधा दर्जनभन्दा बढी प्रतियोगिताको उपाधि जित्यो। 

    फुटबलमा लगाव

    ६/७ वर्षको उमेरमा इटहरीका अग्रजहरु राष्ट्रिय जागृति क्लबबाट फुटबल खेल्दै गर्दा माइकमा आउने नामबाट उनी प्रभावित थिए। जनता स्कुलको मैदानमा हुने प्रतियोगितामा सुनेका नामहरु उनको फुटबलको आधार विन्दु थियो। ‘जनता स्कुलको ग्राउन्डमा फुटबल हेर्न भेला भएमा दर्शकहरुबीच माइकमा नाम र जर्सी नम्बर सुन्दा लाग्थ्यो ओहो मान्छे त यसरी पो चिनिँदो रहेछ,’ उनी भन्छन् ‘त्यसपछि मलाई पनि सबै माझमा चिनिन रहर जाग्यो र फुटबलमा होमिएँ।’ 

    राष्ट्रिय जागृतीबाटै खेल्ने क्रममा २०५५–५६ तिर एन्फा यु–१६ छनौट हुने भएपछि उनी पनि सहभागी भए। जनकपुुरमा भएको प्रतियोगिताबाट उनीसँगै सुनसरीबाट नौ जना एन्फाका लागि छनौट भए। स्टेफेन कोन्सटाइन (हाल भारतको प्रशिक्षक)ले उनीलगायत देशभरबाट १०० भन्दा बढी खेलाडीलाई छनोट गरी प्रशिक्षण दिएका थिए। तर, टिमसँगै लामो समय प्रशिक्षण गर्न पाएनन्। ‘दुर्भाग्य नै भन्नुपर्छ क्लोज क्याम्प दौरानमा घाइते भएँ,’ उनले भने। चोट बोकेर फर्किएका उनी ३ महिना घरमै बसे। उनीसँगै छनौट भएका गोलरक्षक रितेष थापा, विश्वन्धु पोखरेल, गणेश लिम्बु (देब्रे), गणेश लिम्बु (दाइने) र सचिन राईले एन्फामा स्थान बनाए।

    दश वर्षे थ्रीस्टार करियर

    २०५७ सालमा शहीद स्मारक लिगका लागि थ्रीस्टारले उनीलगायत केही युवा खेलाडीहरुलाई अनुबन्ध गर्‍यो। राष्ट्रिय टिमका पूर्वकप्तान दीपक अमात्य नेतृत्वको क्लबमा उपेन्द्रमान सिंह, लोकबन्धु गुरुङ, प्रदिप मर्हजन, विसन गौचन, बालगोपाल मर्हजनलगायतका चर्चित खेलाडीहरुको साथ उनले पाए। नक्सालविरुद्ध डेब्यु खेलमै उनले गोल गरे। मनाङ मस्याङदीले उपाधी जितेको सो संस्करणमा सुरेन्द्रको टिम थ्रीस्टार तेस्रो भयो।

    २०६१ सालमा शहीद स्मारक ए डिभिजन लिगमा उनको टिमले उपाधि जित्दा उत्कृष्ट खेलाडी चुनिँदै मोटसाइकल प्राप्त गरेका थिए। २०६१ को शहीद स्मारक जितेको थ्रीस्टारले एएफसी प्रेसिडन्ट कपमा किर्गिस्तानको डोरोडो डाइनोमोसँग सेमीफाइनलमा पराजित बन्दा सुरेन्द्र मुख्य स्ट्राइकर थिए। उनी सम्झन्छन्, ‘ लामो समयपछि लिग च्याम्पिनय भएर एएफसी प्रेसिडेन्ट कप खेल्न पाएका थियौँ। दुर्भाग्य भन्नुपर्छ पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यौँ।’

    क्लबको अग्रपंक्तिमा सुरेन्द्रले सम्हाल्दा विरलैमात्र खेल हुन्थ्यो जहाँ उनले गोल नगरेको होस्। दायाँ भागबाट तीव्र गतिमा बल अघि बढाउने र साँघुरो कोणबाट पनि गोल गर्न सुरेन्द्र माहिर थिए। विपक्षीलाई सहजै पार लगाउने सुरेन्द्रको खुट्टाबाट बल खोस्न त्यति सहज हुन्थेन।  

    शहीद स्मारक ए डिभिजन लिगमा ५० गोलको कोसेढुंगा पूरा गर्ने मनाङ मर्स्याङ्दीका वसन्त थापापछि सुरेन्द्र दोस्रो खेलाडी हुन्। सुरेन्द्र र वसन्तसंगै पुलिसका रमेश बुढाथोकी र थ्रीस्टारमै रहँदा सन्तोष साहुखलले ५० गोल पूरा गरेका थिए। सुरेन्द्र थ्रीस्टारमा हुँदा पाँच वर्ष कप्तानको समेत भूमिका निर्वाह गरेका थिए। सुरेन्द्रकै नेतृत्वमा पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा पूर्वाञ्चलले एपिएफलाई हराउँदै स्वर्ण पदक समेत जितेको थियो। 

    राष्ट्रिय करियर

    थ्रीस्टारबाट क्लब करियर सुरु गरेको दुई वर्ष नबित्दै उनले राष्ट्रिय टोलीमा स्थान बनाए। सन् २००३ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा घरेलु टिमविरुद्ध डेब्यु गरे। पाँच वर्ष राष्ट्रिय टोलीको जर्सीमा देखिएका उनले ११ क्याप जितेका छन्। तामाङसँग दक्षिण एसियाका सबै राष्ट्रविरुद्ध खेलेको अनुभव पनि छ। उनले पहिलो अन्तराष्ट्रिय गोल भुटानविरुद्ध गरेका थिए।

    खुट्टा चल्दासम्म खेलाडी हाइहाइ

    दश वर्ष थ्रीस्टारमा बिताएका उनले २०६८ र २०६९ क्रमशः फ्रेन्डस र सरस्वती क्लबमा बिताए। उमेर समूहको प्रतियोगितादेखि क्लब करियरसम्म १८ वर्षको अवधिमा दक्षिण एसियाली मुलुकबाहिर कोरिया, ओमन, भियतनामलगायतका देशसँग उनले खेल कौशल देखाइसकेका छन्। 

    पूर्व राष्ट्रिय टोलीका कप्तान तथा फिफा रेफ्री रुपकराज शर्माको स्मृतिमा स्थापना गरिएको रुपक मेमोरियल अवार्ड २०६८ का विजेता सुरेन्द्र सरकारले खेलाडीको सम्मान गर्न नसकेको गुनासो पोख्छन्। ‘खेलाडीले पाउने भनेको केवल स्याबासी मात्र, त्यो पनि खुट्टा चल्दासम्म,’ उनी भन्छन्, ‘खेल्न सकुन्जेल सबैको हाइहाइ त्यसपछि कोही न कोही।’

    पछिल्लो समय खेलाडीहरु पलायन भइरहेको सन्र्दभमा सरकारले खेल र खेलाडीको महत्त्व नबुझ्दा नेपाली खेल जगत धरासायी भइरहेको उनको बुझाइए छ। ‘देशका लागि खेल्नुपर्छ मात्र भनिन्छ, खै त सेवा सुविधा?’ उनले भने, ‘भोको पेटमा मेडल र ट्रफीको अपेक्षा वेकार छ।’ पूर्वखेलाडीहरुलाई सरकारले प्रोत्साहन स्वरुप केही प्रबन्ध गरिदिन उनको माग छ।  ‘खेलकै लागि करिब दुई दशक समर्पण गरियो,’ उनले भने, ‘एउटा मापदण्ड बनाएर सरकारले राष्ट्रलाई योगदान दिएका खेलाडीका लागि बाँच्ने आधार तय गरिदिए हुन्थ्यो।’

    सुरेन्द्रको सुझाव

    नेपाली फुटबलको विकासमा सरकार तल्लो तहसम्म पुग्न नसकेको सुरेन्द्र बताउँछन्। उनले भने, ‘स्थानीय सरकारले खेलाडी उत्पादनमा लगानी गर्ने र माथिल्लो तहका सरकारले उनीहरूको व्यवसायीकरण गरेर राष्ट्रिय एक्सपोजर दिए खेलकुद क्षेत्रमा फड्को मार्न सजिलो छ।’

    खेलकुद विकास भन्दै खेल सम्बद्ध संस्थासँग मात्र नभई खेलाडी र प्रशिक्षकहरुसँग पनि समन्वयको आवश्यकता रहेको उनको बुझाइ छ। सुरेन्द्रले सन् २०१३ मे १ का दिन भारतको मोहन बगान र थ्रीस्टार क्लबको खेलपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए।

नमीन ढकाल

ढकाल थाहा खबरका इलाम समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]