|

डडेल्धुरा : कृषि ज्ञान केन्द्र डडेल्धुराले कृषिलाई यान्त्रिकीकरण तथा आधुनिकीकरण गर्दै लैजाने उद्देश्यले किसानहरूलाई हाते ट्याक्टर वितरण थालेको छ। डडेल्धुरा र डोटी जिल्लाका किसानलाई शुक्रबार एक कार्यक्रमकाबीच हाते ट्याक्टर वितरण सुरु गरिएको हो।

सुदूरपश्चिम सरकारको चालू आर्थिक वर्षको मुख्यमन्त्री कृषि कार्यक्रमअन्तरगत कृषि औजार उपकरण अनुदानमा विनियोजित बजेटबाट हाते ट्याक्टर वितरण गरेको कृषि ज्ञानकेन्द्र डडेल्धुराका प्रमुख दिलबहादुर बिष्टले जानकारी दिए।

डडेल्धुरा र डोटी जिल्लाका २५ वटा कृषक समूह र एकवटा कृषक सहकारीलाई ५० प्रतिशत अनुदानमा ४० वटा हाते ट्याक्टर वितरण गरेको वरिष्ठ कृषि विकास अधिकृत बिष्टले बताए। व्यवसायिक तथा बेमौसमी तरकारी खेती गर्ने कृषक समूहलाई खेत जोत्न, तरकारी फलफूल लगाउनका लागि हाते ट्याक्टर प्रभावकारी हुँदै गएपछि यसको वितरण गरिएको हो।

कृषिलाई यान्त्रिकीकरण गर्दै देशको अर्थतन्त्र मजबुत पार्न हाते ट्याक्टरको प्रयोग आवश्यक रहेको सदुरपश्चिम प्रदेशसभाका सामाजिक विकास समिति सभापति सांसद कुन्ती जोशीको भनाइ छ।

कृषिलाई निर्वाहमुखी परम्परागत खेती होइन व्यवसायिक खेती प्रणाली अपनाउनका लागि ट्याक्टर अपरिहार्य रहेको जिल्ला समन्वय समिति डडेल्धुरका प्रमुख गणेशराज भट्टले बताए। ट्याक्टरलाई थन्काएर होइन, प्रयोग गरेर कृषकलाई चाहिने अन्नपात, तरकारी, फलफूल लगायतको उत्पादन गर्न प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

परम्परागत कृषि प्रणालीलाई रूपान्तरण गर्न सकेनौं भने समृद्धि हासिल गर्न नसकिने भन्दै कृषिबाट राम्रा समृद्धि हासिल गर्न र परम्परागत प्रणालीमा गरिने कृषिलाई अत्य गरी कृषिलाई आधुनिक यान्त्रिकीकरण गरी व्यवसायिक कृषि प्रणाली अपनाएर कृषि क्रान्ति गर्ने उद्देश्य रहेको कृषि ज्ञानकेन्द्र डडेल्धुराले जनाएको छ।

हलो जोतेर गरिने खेतीले उत्पादन राम्रो दिन सक्दैन, त्यसको लागत बढी हुने भएकाले महँगो पर्दछ, कम लागतमा बढी उत्पादन गर्न सकेमा त्यसले प्रतिफल दिने भएकाले कम लागत गर्न यान्त्रिकीकरण गर्न जरुरी रहेको छ। कृषिलाई आधुनिक यान्त्रिकीकरण गर्दै व्यवसायिक र बजारीकरण समेत गर्ने सरकारले थाल्नु पर्ने किसानको भनाइ छ।

यसअघि डडेल्धुरा र डोटी जिल्लाका विभिन्न कृषक समूह र व्यक्तिगत रूपमा आधुनिक व्यवसायिक खेती गर्न चाहनेहरूका लागि आवेदन माग गरिएको थियो। सो आवेदन मागअनुरूप कृषक तथा समूहको निवेदन परेका मध्ये ४० वटा आधुनिक हाते ट्याक्टर वितरण गरिएको हो।

कार्यालयका अनुसार ७५ हजार रुपैयाँ पर्ने आधुनिक हाते ट्याक्टर कृषक तथा कृषक समूहलाई ५० प्रतिशत अनुदान छुट गरी प्रतिट्याक्टर ३७ हजार ५ सय लिएर वितरण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.