|

सिरहा : एसइई परीक्षापछि थप अध्ययन तयारीका लागि लहानमा डेरा गरी बसिरहेका विद्यार्थीको हत्यामा संलग्न रहेको अभियोग पुष्टि गर्दै सिरहा जिल्ला अदालतले दुई जनालाई आजीवन कारबास सजायको फैसला सुनाएको छ।

हत्याको अभियोगमा लहान ३ का ४२ वर्षीय बसन्त साह र सप्तरीको पश्चिमवर्ती सुरुङ्गा नगरपालिका ५ कुसहाकी ३३ वर्षीया रञ्जुकुमारी मण्डललाई अदालतले मंगलबार आजीवन कारावासको फैसला सुनाएको हो।

अदालतले उक्त मुद्दाका पाँच जनालाई सफाईसहित एक जनाको मुद्दा मुल्तवीमा राख्ने फैसला गरेको छ। सिरहा जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको इजलासले लहान ३ का भोलाजित सिंह, दिपक शर्मा, मो. मिस्टर राइन, नइम राइन र महेशकुमार यादवलाई सफाइ दिंदै हत्यामा संलग्न रहेका रामानन्द गुप्ता फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको बताइएको छ।

सप्तरीको सुरुङ्गा नगरपालिका ८ मलहनमाका करिब १८ वर्षीय श्रवणकुमार साह लहान ३ स्थित लक्ष्मण ललिता कुशवाहा माविबाट २०७३ को एसइइ परीक्षा दिएर थप अध्ययनक लागि आफ्नो भतिजसँग डेरामा बस्दै आएका थिए। २०७३ चैत १३ गते साँझदेखि डेराबाट हिंडेका साह भोलिपल्ट दुर्गाप्रसाद महतोको लहान ३ स्थित आँप बगैंचाको रुखमा खुट्टा भुईंमै छुने गरी झुण्डिएको अवस्थामा भेटिएका थिए।

उनको खुट्टामा तीन चार ठाउँमा चक्कु प्रहार गरिएको घाउ, रगत बगेको र मृतकको खुट्टाले समेत भुइँ छोएको पाइएपछि हत्या गरेर झुण्ड्याइको हुन सक्ने आशङ्काको आधारमा प्रहरीले तत्काल अनुसन्धान तीब्र बनाएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.