सुन्तला बेचेरै ४० लाख कमाउने आस

|

सल्यान : राजनीति क्षेत्रमा लागेका कार्यकर्ता मात्र होइन पछिल्ल्लो समय सल्यानका नेताहरू कृषि उत्पादनमा सक्रिय हुन थालेका छन्। पार्टीका उच्च पदमा रहेका नेताहरू कृषि क्षेत्रमा विभिन्न काम गर्न थालेपछि गाउँका कार्यकर्ताहरू पनि त्यसको सिको गर्दै आइरहेका छन्। त्यसैमध्येका एक उदाहरण बनेका छन् नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेश समितिका सदस्य लोकबहादुर डाँगी।

डाँगीले विगत नौ वर्षदेखि राजनीतिसँगै व्यावसायिक फलफूल खेती गर्दै आइरहेका छन्। नेकपा एमालेका पूर्वजिल्ला अध्यक्षसमेतको जिम्मेबारीमा रहेर काम गरिसकेका डाँगीले १६ रोपनी क्षेत्रफलमा सुन्तला खेती र नर्सरी गर्दै आइरहेका छन्। जिल्लाको बागचौर नगरपालिका-९ खोरबारेमा डाँगीले व्यावसायिक सुन्तलाखेतीसँगै नर्सरी व्यवसाय अघि बढाइरहेका छन्।

विगतमा जस्तो पूर्णकालीन भएर राजनीति गर्ने अवस्था नभएकाले जीविकोपार्जनका लागि कृषि पेशामा आबद्ध भएको डाँगीको भनाइ छ। उनले भने पार्टीको जिम्मेवारीमा रहे पनि आवश्यक परेका बेला फर्ममा अरुलाई जिम्मामा दिएर कार्यक्षेत्रमा खट्ने र फुर्सदको बेलामा आफैँ काम गर्ने गरेको उनको भनाइ छ।

त्यसरी काम गर्दा जीविकोपार्जनमा पनि सुधार आउने र आर्थिक समृद्धिको नारालाई पनि आत्मसाथ गरेको हुने उनी बताउँछन्। राजनीति गर्ने व्यक्तिले अन्य पेशा व्यवसाय गर्नुहुँदैन र भ्याइँदैन भन्नेहरूका लागि पनि आफू उदाहरण बन्न कृषि पेशा अंगालेको डाँगीको तर्क छ।

सुन्तलाबाटै ४० लाख कमाउने आस

१६ रोपनी क्षेत्रफलमा झन्डै ६ सय भन्दा बढी सुन्तला रोपेका डाँगीले यो सिजनमा मात्रै ४० हजार बढी कागतीका बिरुवा उत्पादन गरेका छन्। नर्सरीबाटै प्रतिविरुवा २० रुपैयाँका दरले बिक्री भइरहेको उनले बताए।

२०६७ देखि सुन्तला खेती गर्दै आइरहेका उनले अहिलेसम्म ३५ लाखभन्दा बढी खर्च गरिसकेको जानकारी दिए । ‘सुन्तलाले अझै उत्पादन दिन सुरु गरेका छैनन उनले भने, ‘नर्सरीबाट यस वर्षदेखि बेर्ना बिक्री गर्न सुरु भएको छ, त्यसबाट आएको आम्दानी पनि सुन्तला खेतीमै लगानी गर्ने योजना छ ।'

उनले गाउँका अधिकांश व्यावसायिक सुन्तला खेतीमा लागेपछि आफूलाई यसतर्फ लाग्ने प्रेरणा मिलेको बताए। सबै सुन्तलाले २ वर्षभित्रमा उत्पादन दिने डाँगी बताउँछन्। सुन्तलाको राम्रो उत्पादन भए १ वर्षमै ४० लाख रुपैयाँ आम्दानी गर्ने उनको अपेक्षा छ।

‘यस वर्ष नर्सरीमार्फत ८ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छु, उनले भने, ‘गाउँमा सडक भर्खरै पुगेको छ, सुन्तलाले राम्रो बजार पाउने अपेक्षा छ ।’ डाँगीकै पहलमा प्रदेश सरकारको सहयोगमा गाउँसम्म पुग्ने सडक निर्माण गरिएको छ।

कागतीका विरुवा पुर्‍याउन गाह्रो

डाँगीले कागतीका बेर्नाको माग जिल्लामा अत्याधिक भएकाले नर्सरी सुरु गरेको जानकारी दिए। ‘नर्सरीबाट उत्पादित कागतीका बेर्ना सल्यान, रुकुम, रोल्पा, गुल्मीलगायत जिल्लामा गइरहेको छ, उनले भने, ‘राजनीति र व्यवसायलाई सँगसँगै लैजाँदा आत्मसन्तुष्टि मिलेको छ। साँझ–बिहानको समयमा बगैचाको गोडमेल, काँटछाँटलगायत काममा व्यस्त हुने गरेको उनी बताउँछन्।

चारजना स्वरोजगार

व्यावसायिक सुन्तला र नर्सरी पेसा अंगालेका डाँगीले घरका  चारजनालाई स्वरोजगार दिएका छन्। घरकै जनाले आफ्नै खेतबारीमा काम गरी रहेको उनको भनाइ छ। धेरै युवाहरू बेरोजगारीका लागि विभिन्न स्थानमा भौतारिइरहेको समयमा घरका सदस्यहरूलाई आफ्नै बारीमा रोजगारी दिलाउन आफू सफल भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.