पहिरोमा परी ३० घर विस्थापित, ७० घर जोखिमपूर्ण

|

उदयपुर : गएको शनिबार उदयपुरगढी गाउँपालिका ६ धप्परमा चार घर पहिरोमा बगी  बैजनाथ खोलामा विलिन भए। पहिरोले बैजनाथ खोला थुनिएपछि झण्डै दुई दर्जन घर र गोठ डुवानमा परे। ‘घरमाथिबाट भर्खरै सडकको ट्रयाक खोलेका थियो,’ पहिरोमा घर बगेका स्थानीय मैते सार्कीले भने, ‘त्यही सडकमा आएको भलबाढीले चारै घर बगाउने पहिरो गयो।’

सोही पहिरोमा परी राजन, मदन, मैते, तारा सार्कीको घर बैजनाथ खोलामा विलिन भयो। त्यही पहिरोले खोला थुनिदा तीन घर डुवानमा परे। सिंगो उदयपुरमा त्रास पैदा भयो। स्थानीय तहले मनमौजी रूपमा विस्तार गरेका सडकनै अहिलेको विपत्को कारण बनेको छ।

‘जथाभावी जेसिबी र ठूला मेसिन प्रयोग गरेर खनिएका ग्रामीण सडक नै अहिलेको बाढी पहिरोको कारण हो,’ स्थानीय कमला खनाल भन्छिन, ‘सडकको कारण पहिरो गएको छ, त्यही पहिरोले तराईमा डुवान गरेको छ, यो सडक बनाउने काममा स्थानीय तहलाई प्रतिबन्ध लगाउनु पर्ने वेला आयो, कस्ले भन्ने।’

बैजनाथ खोला थुनिँदा युवराज कार्की, साराद विक, देवगिरी लगायतको घर गोठ डुवानमा परे। शनिबार बिहान १० बजेबाट थुनिएको खोला आइतबार बिहान ५ बजे फुटेको थियो। खोला थुनिदा कुडिया, भकुन्डेचौरी, जगरेटार लगायतका क्षेत्रमा झण्डै आठसय खेत बगरमा परिणत भए। ‘बैजनाथ खोला थुनिएपछि धेरै खेतहरु कामै नलाग्ने भएका छन,’ स्थानीय बोधकुमार घिमिरेले भने, ‘सवै लेदो र बालुवा खेती योग्य जमिनै काम नलाग्ने भएको छ, थुनिएको खोला खोलिएर जाँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति गर्‍यो।’

बैजनाथ खोला थुनिएको ठाउँभन्दा तल्लो भेगमा रहेका गोहिया, बकपति, लामिदुवाली, सोमबारे बजार, रिस्कु लगायतका स्थानमा क्षति गरेको छ। सयौं बिघा खेती योग्य जमिनमा खोला कुदेको छ। विस्फोटक पदार्थ सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका टोली शनिबार राति १० बजे घटनास्थल पुगेको थियो। खोला सेनाले विस्फोट नगराइकन पहिरोले बनाएको बाँध फुटेको थियो।

उदयपुरगढीको धप्परको पहिरो एउटा उदाहरण मात्र हो। जहाँ पहिरो गएको अहिले सडकनै निर्माण गरेको ठाँउमा गएको भेटिन्छ। पहाडी क्षेत्रमा सडके बिकास कारण पहिरोको विनश बढेको ताप्ली गाँउपालिकाका स्थानीय शिक्षक तोपबहादुर ज्यु ठकुरी बताउँछन। ‘निरन्तर वर्षातको कारण खनिएका सडक भत्किएका मात्र छैनन्, पहिरोमा घर र खेतबारी परेका छन्,’ उनले भने, ‘पहिरोले घर छाड्नुपर्ने, बालीसहितको खेतबारी पुरिने र पैदलयात्रासमेत बाटो बाँकी नरहेपछि पहाडीभेगको जनजीवन अस्तव्यस्त बनेको छ।

सडक अवरुद्धसँगै अधिकांश ठाउँमा सञ्चारसमेत अवरुद्ध भएपछि जनजीवन थप अस्तब्यस्त बनेको स्थानीय पत्रकार होमबहादुर बस्नेत बताउँछन्। ‘थोरै पैसा भएपछि सडक खनिहाल्ने परिपाटीका कारण जिल्लाको पहाडी पालिकाका सबै गाउँमा सडक पुगेका छन् तर, वर्षातले ती सबै सडक मात्र भत्किएका छन्,’ उनले भने, ‘स्थानीय सरकार र प्रदेश सांसदका धेरैजसो बजेट सडक खन्नेमै खर्च गर्ने परिपार्टी बाढी-पहिरो निम्तिएको छ।’

यसवर्षका नयाँ सडकको त नाम निसानासमेत मेटिएको लिम्चुङबुङ गाँउपालिकाका अध्यक्ष मेजरकुमार राई बताउँछन्। ‘एउटै सडक बजबुज र भरपर्दा बनाउनु पर्ने नीति स्थानीय तहले लिनुपर्छ,’ उनले भने, ‘सडक नभए जनता रिसाउने, सडक पुर्‍याउँदा बाढी पहिरोको जोखिम बढेकाले समस्या निम्त्याएको छ।’

सवारीसाधनहरु गाउँगाउँमै थुनिएका छन्। मानिसहरू पैदलयात्रा गर्ने अवस्थासम्म छैन। नुन, तेललगायत खाद्यान्नको अभाव मात्र हैन, घरबाससमेत नभएको गुनासो गरिरहेका छन्।

स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतका अनुसार जिल्लाको ताप्ली, लिम्चुङबुङ, उदयपुरगढी, रौतामाई गाउँपालिकाका सयौं घर विस्थापितमा परेका छन् भने हजारौं घर प्रभावित छन्।

त्रियुगा, कटारी, बेलका र चौदण्डीगढी नगरपालिकाको पहाडी भेगको अवस्था पनि उस्तै छ। सडक, सञ्चार अवरुद्धका कारण पहाडी भेगमा राहत र उद्धारका लागि जानसक्ने अवस्थासमेत नभएको सरोकारवालको भनाइ छ। थोरै पैसा भएपनि सडक खनिहाल्ने र स्काईभेटरका चालक नै सडक इन्जिनियरको रुपमा काम गर्ने परिपार्टीले समस्या आएको जनाकारहरुको भनाइ छ।

ग्रामीण सडक अवरुद्ध

वर्षाले उदयपुरको पहाडी भेगका सडक अवरुद्ध हुदा  यातायात ठप्प भएको छ। जिल्लाका पहाडी भेगका पालिका र छिमेकी जिल्ला जाने सडक वर्षाले भत्किएपछि पूर्ण रुपमा यातायता बन्द भएको हो।

सदरमुकाम गाईघाट, कटारी, बेल्टार, रामपुर, मुर्कुची लगायतका बजारबाट जिल्लाका विभिन्न पहाडी पालिकाहरु र छिमेकी जिल्ला खोटाङ, ओखलढुङ्गा, शोलु जाने सडक वर्षाले भत्किएपछि पूर्ण रुपमा यातायात बन्द भएको छ।

गाईघाट–रानिबास–पोखरी–फोक्सिन्टार–रसुवा–बलम्ता–बाराहा–बासबोटे, गाईघाट–रानीबास–रौता–सल्ले–भुट्टार–लाफागाउँ, गाईघाट–साउने–धाब्लाङ, कटारी–घुर्मी–खोटाङ, कटारी–घुर्मी–ओखलढुङ्गा–शोलु, कटारी–बेतेनी भञ्ज्या–लिम्पाटार–रुपाटार, कटारी–बेतेनी भञ्ज्या–लिम्पाटार–ओख्ले–ईनामे, मुर्कची–पुवारेभञ्ज्याङ–माझखर्क–बाराहाह–बासबोटे, मुर्कची–पुवारेभञ्ज्याङ–भुट्टार–लाफागाउँ, बेल्टार–चौदण्डीगढी–रानिटार, रामपुर–घारे, नेपालटार उदयपुरगढी, कटारी बाहुनीटार, बर्रे लगायतका पहाडी क्षेत्रका सडक वर्षाले भत्किएर पूर्णरूपमा क्षती हुदा यातायात ठप्प भएको स्थानीयले जानकारी दिएका छन।

अविरल वर्षाले पहाडी भेगका सडकहरु कतै भत्किएको छ भने कतै पुरिएको छ। ठाउँ ठाउँमा पहिरोले सडक नै बगाएपछि यातायात बन्द भएको यातयात व्यवसायी दिनेश राउतले बताए। ‘यातायात बन्द हुदा जनजिवन प्रभावित भएको छ, उनले भने, ‘पहाडी भेका बासिन्दा सदरमुकाम लगायतका तराईका सहर जाउजाउ गर्न समस्या आएको छ।

पहाडी क्षेत्र हिडेका यात्रु बीच बाटोमै अलपत्र परेका छन्। गत २४ गतेदेखि परेको अविरल वर्षातले सडक अवरुद्ध भई यातायात नचलेपछि सदरमुकाम गाईघाट लगायतका बजारमा यात्रु अलपत्र परेका छन्।

पहिरोमा परी ३० घर विस्थापित, ७० घर जोखिमपूर्ण

वर्षातका कारण जिल्लाको आठै स्थानीय तहमा ३० घर परिवार पुर्ण रुपमा विस्थापित भएका छन्। प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले विभिन्न पालिकाबाट आएको तथ्यङक हेर्दा ३० घर परिवारमा पूर्णरूपमा विस्थापित भएको बताए। ‘पहिरोबाट विस्थापितको संख्या थपिदैछ,’ उनले भने, ‘पहिरोबाट जोखिममा परेका पहाडी क्षेत्रमा ७० घर भेटिएका छन्।’

पहाडी क्षेत्रमा पहिरो आतंक छ, भने उदयपुरको भित्री मधेसमा बाढीको समस्या भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। ‘जहाँ जोखिमपूर्ण स्थान छ,’ पुन थप्दै प्रमुख जिल्ला अधिकारी खड्काले भने, ‘त्यस ठाँउमा नेपाली सेना, नेपल प्रहरी, सशस्त्र प्रहरी बलको प्रयोग गरेर विभिन्न खोलामा बाँध लगाउने काम भएको छ, भने पहाडी क्षेत्रमा पहिरोको जोखिममा परेकार घर परिवारलाई सुरक्षति स्थानमा स्थानतरणसमेत गरिएको छ।’

उदयपुरमा बाढी पहिरोपीडितलाई राहात दिने र डुबानमा परेर विस्थापित भएकालाई स्थापित गराउने काम पनि सुरु भएको उनले बताए। जिल्ला प्रशासन कार्यालयका अनुसार उदयपुरमा बाढी पहिरोमा परी तीन जनाले मात्र ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.