|
फाइल फोटो

हेटौंडा : प्रदेश ३ सरकारले खर्च गर्नु पर्ने बजेटको करिब आधा रकम बाँकी हुँदै आर्थिक वर्ष २०७५/०७६ सकाएको छ।  प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/०७६ मा सबै मन्त्रालय, प्रदेश सरकार मातहतका कार्यालयमा गरी ५७ दशमलब ५ प्रतिशत मात्रै खर्च गरेको हो।

प्रदेश सरकारले चालु खर्च धेरै गरे पनि पुँजीगत खर्च भने थोरै मात्र गर्न सकेको छ।  प्रदेश ३ को प्रदेश लेखानियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु खर्चको आधा रकम मात्र पुँजीगत खर्च भएको देखिएको छ। प्रदेश सरकारको आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ बजेटको चालु खर्च ८० दशमलव ५ प्रतिशत खर्च गरेको छ भने पुँजीगत खर्च ४३ दशमलव ५ प्रतिशत मात्र गरेको प्रदेश लेखा नियन्त्रक हरि प्रसाद उपाध्यायले बताएका छन्। 

प्रदेश सरकारले चालु खर्चमा ११ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको छ। आर्थिक वर्ष २०७५/०७६  प्रदेश सरकारले चालु खर्चका लागि १३ अर्ब ७९ करोड रुपैयाँ बजेट छुट्याएको थियो।

यता पुँजीगत खर्च भने प्रदेश सरकारले ९ अर्ब ५५ करोड रुपैयाँ मात्र खर्च भएको  प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ  । प्रदेश सरकारले बितेको आर्थिक वर्षमा पुँजीगत खर्चका लागि २१ अर्व ८० करोड रुपैयाँ छुट्याएको थियो। यो रकम मध्यमा ४३ दशमलब ५ प्रतिशत मात्र खर्च प्रदेश सरकारले गरेको हो।

प्रदेश ३ सरकारले बितेको आर्थिक वर्ष २०७५/०७६ मा कुल ३५ अर्ब ६१ करोड रुपैयाँ बजेट ल्याएको थियो। बुधबारबाट सुरु भएको चालु आर्थिक वर्ष २०७६/०७७ को लागि भने प्रदेश ३ सरकारले ४७ अर्ब ६० करोड ८७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ जसमा गत आर्थिक वर्षमा खर्च गर्न नसकेको ४२ दशमलव ५ प्रतिशत पनि समावेश भएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए। यो आर्थिक वर्षमा कुल बजेट मध्ये ५१ दशमलव ३९ प्रतिशत अर्थात २४ अर्ब ४६ करोड रुपैयाँ चालु खर्च रहेको छ।

त्यसैगरी पुँजीगत खर्च तर्फ भने ४७ दशमलव ९८ प्रतिशत अर्थात २२ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ छुट्याइएको अर्थ मन्त्री ढुङ्गेलले बताए। वित्तीय व्यवस्थापनमा ३० करोड रुपैयाँ छुट्याइएको छ।

प्रदेश सरकारले गठन भएको सुरुको वर्ष कानुन निर्माण, नियम, कार्यविधि निर्माण, कर्मचारी अभाब भएकाले सबै रकम खर्च गर्न नसकेको जनाएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले गरेको खर्च प्रति कसैले गुनासो गर्ने ठाउँ नभएको दाबी गर्दै आएका छन्। उनले बारम्बार प्रदेश सरकार भर्खरै जन्मेको शिशु भएकोले अर्को सालबाट पर्याप्त खर्च गर्न सक्ने हुने बताएका छन्।

यस्तै प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री ढुङ्गेलले प्रदेश सरकार शून्य अवस्थाबाट सुरु भएर आएको हुँदा यति खर्च गर्न सक्नु पनि ठूलो कुरा भन्दै दाबी गरेका छन्। अभाव र समस्याका बीच पनि धेरै रकम खर्च गरिएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.