|

काठमाडौं : सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीको केपी ओली र माधव नेपाल समूहमा सचिवालय सदस्यसमेत रहेका नेता वामदेव गौतमबारे पछिल्लो समय विभिन्‍न किस्सा बनेका छन्। समय गुजार्नुपर्ने अवस्थामा अरु कुरा नभेटे गौतमका किस्सा बनाइन्छ। गौतमबारे कुरा गर्नुपर्दा उनीबारे विभिन्‍न नेतासँग भएका र गौतमबारे सांसद-नेताहरूबीच भएका फोन संवादलाई लिएर बनेका किस्सा चर्चामा छन्। तीमध्ये एउटा किस्सा यस्तो छ:

नेकपाका पूर्वएमालेतिरका संघीय सांसदहरूसहित नेता केही पहिले वामदेव गौतमको घरमा गएछन्। गौतम बैठक कक्षमा भेटिए। चार-पाँच जनाको समूहमा गएका ती नेताहरूलाई स्वागत गरेछन्।

आगन्तुकले घरपरिवार र स्वास्थ्यको अवस्था के कस्तो छ भनेर कुराकानीलाई अगाडि बढाउन खोजेछन्। गौतमले टाउको हल्लाएर सबै ठीक रहेको जवाफ दिएछन्। केही मिनेटसम्म मौन बसे, बोली फुटेनछ। ती आगन्तुक नेताहरूले पछिल्लो राजनीतिबारे चर्चा गर्न र गौतमको धारणा बुझ्न खोजे। बर्दियामा हारेपछि सांसद बन्‍ने लालसा बोकेर डोल्पादेखि काठमाडौं क्षेत्र नम्बर ७ सम्म चर्चा भए पनि सफल हुने मेसो नपाएका गौतमले उक्त जिज्ञासा दिने लक्षण देखाएनछन्। न त कुरा गर्ने न कुनै चिया कफीको प्रस्ताव! गएका नेताहरू मात्रै एकोहोरो बोल्ने वामदेव टाउको मात्रै हल्लाउने!

८-१० मिनेट समय बित्दा पनि कुरो अगाडि बढ्ने संकेत नपाएका र चिया कफीको प्रस्ताव पनि नपाएका समूहमा रहेका एक सांसदले गौतमलाई बोल्ने बनाउन जुक्ति फुराएछन्।

सांसदः कमरेड उहाँ (नाम उल्लेख नगरिएको) माननीयले त तपाईंका लागि छोड्छु भन्‍नु भएको छ नि!

गौतमः (मुहारमा चमक र मुस्कानसहित) हो र? के भन्‍नुभएको थियो?

सांसदः तपाईंले नै प्रशिक्षण दिएको, तपाईंबिना त संसदमा न्यास्रो लाग्छ। बरु तपाईंलाई नै जिताएर पठाउँछु म बाहिर बसेर काम गर्छु भन्‍नुहुन्छ…

गौतमः (घरका मान्छेहरूलाई बोलाएर) उहाँ कमरेडहरूलाई चिया कफी के के हुन्छ व्यवस्था गर्नू, कमरेडहरू आज खाना यतै खाने है…।

यो किस्साले वामदेव गौतममा संसद भवन छिर्ने तृष्णा कति थियो भन्‍ने देखाउँछ। उनले यसका लागि डोल्पाका सांसद तथा राज्यमन्त्री धनबहादुर बुढादेखि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराउने कसरत गरेका थिए। जसमा असफल भए। अन्य निर्वाचन क्षेत्रका सांसदहरूमा पनि 'वामदेवका लागि पद त्याग गर्नुपर्ने हो कि!' भन्‍ने डर पैदा भएको नेकपाका सांसदहरूबीच चर्चा हुन्थ्यो।

वामदेवलाई संसद प्रवेश गराउन असफल दुई सांसद

राजीनामा दिन तयार हुँदै आफूलाई संसद प्रवेश गराउन राजी दुवै सांसदलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोकेको बुझाइमा रहेका वामदेव अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट रहेर पनि दबाब बनाउन असफल रहे। डोल्पाका सांसद बुढालाई ओलीले बालुवाटार बोलाएर राजीनामा नदिन सम्झाइ बुझाइ गरेका थिए। वामदेवका लागि राजीनामा दिन तयार रहेका बुढालाई कसरी ब्याक हुने जुक्ति पनि बालुवाटारमै सिकाइएको थियो। जसमा निर्वाचन क्षेत्रमा गएर जनताको मन बुझ्‍ने रहेको थियो। त्यही अन्तर्गत बुढा केही दिन डोल्पा पुगे र जवाफ ल्याए-कुनै हालतमा पनि राजीनामा नदिनू भन्‍ने जनताको अभिमत छ।

त्यसपछि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ ताकेका वामदेवलाई फेरि असफलता हात लाग्यो। अध्यक्ष प्रचण्डसमेत सहमत भएको र सांसद रामवीर मानन्धरले पत्रकार सम्मेलन गरेरै राजीनामा दिने घोषणा गरेका थिए। औपचारिक रूपमा राजीनामा दिई नसक्दै रामवीरलाई पनि बालुवाटारले 'सम्झाइ बुझाइ' गरेको थियो। त्यसपछि रामवीर मानन्धर पनि राजीनामाबारे धेरै बोलेनन् र न त वामदेव गौतम पक्षबाट कसरत भयो।

संघीय संसद प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका थिए वामदेव। त्यहाँ उनलाई पार्टीले नै पराजित गरेको मूल्याङ्कन वामदेवको थियो। स्थानीय तह निर्वाचनमा पार्टीको अत्यधिक मत भएको अवस्थामा वामदेवले त्यहाँ अनपेक्षित पराजय बेहोरेका थिए। जुन पछिल्लो समय पार्टीका बैठकमा पनि अभिव्यक्त गर्दै आएका थिए।

पूर्व एमालेको नवौँ महाधिवेशनमा ‌ओलीले आफूलाई अध्यक्षमा विजयी गराए 'आगामी चुनावपछिको संसदमा संसदीय दलको नेता बनाउँछु' भनेर वामदेवलाई आफ्नो पक्षमा पारेका थिए। अध्यक्षमा ओली विजयी भए। संसदीय दलको नेता बन्‍ने र त्यै बाटो भएर प्रधानमन्त्री बन्‍ने भित्री इच्छासहित चुनावमा होमिएका वामदेव पराजित भए। त्यसपछि उनी अध्यक्ष ओलीसँग असन्तुष्ट बन्दै आएका थिए।

यो बीचमा वामदेवले सरकार संचालनका लागि पार्टीमा समिति बनाउनुपर्ने प्रस्ताव पनि अघि सारेका थिए। जसमा अध्यक्ष प्रचण्डको मौन समर्थन थियो। तर, प्रधानमन्त्री तथा अध्यक्ष ओलीले त्यसलाई पनि ठाडै अस्वीकार गरिदिए।

शक्तिको चाहत राख्‍ने वामदेव सांसद बन्‍न नसक्दा पनि पटक पटक शक्तिमा देखिने प्रयास गरिरहे। पार्टी एकतापछि खासै गतिविधि नभएको तथा कार्य विभाजन पनि नभएको अवस्थामा उनको जोड जसरी पनि संसद प्रवेश गर्ने र त्यहाँ र सरकारमा आफ्नो उपस्थिति देखाउने मनसाय बनाएका थिए। त्यसका लागि उनले पछिल्लो समय अध्यक्ष प्रचण्डलाई साथ दिँदै आएका थिए। तर, अध्यक्ष ओली उनको शक्तिमा जाने चाहनामा बाधक जस्तै बन्दै आएका थिए। यिनै वामदेव अब भने पार्टी राजनीतिको शक्तिमा कम ब्याक भएका छन्।

यसरी भयो कमब्याक

वामदेव गौतमले मुलुकको ठुलो राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टीको संगठन प्रमुखको जिम्मेवारी पाउने भएका छन्। अन्य अवस्था आइनलागेमा उनले आइतबार नै उक्त जिम्मेवारी सम्हाल्नेछन्।

अध्यक्षद्वय ओली-प्रचण्डबीच संगठन विभागको प्रमुखको जिम्मेवारी वामदेवलाई दिने सहमति भएको छ। पूर्वएमालेको भागमा परेको संगठन विभागको जिम्मेवारी उनलाई नै दिने पूर्वएमालेका नेताहरूबीच पनि सहमति भइसकेको बताइएको छ।

पार्टीमा अन्य विभागको तुलनामा शक्तिशाली र चलायमान मानिने यो विभागमा वामदेव आउनुले उनी शक्तिमा आएको व्याख्या नेकपाभित्र र बाहिर पनि भइरहेको छ। उनी संगठन विभागको प्रमुखमा भएपछि महाधिवेशनमा जान लागेको पार्टीलाई थप एकजुट बनाएर जान सजिलो भएको नेकपाका नेताहरूको बुझाइ छ।

नेकपाका स्थायी समिति सदस्य मणि थापाले दुवै अध्यक्षबीच वामदेव गौतमको नाममा सहमति भएको र सचिवालयमा नाम प्रस्तुत हुँदा केही विवाद नभए उनी संगठन विभाग प्रमुख हुने बताए। राजनीतिक जीवनमा वामदेवलाई मिलेको यो जिम्मेवारीलाई कसरी बुझ्ने? भन्ने प्रश्नमा थापाले भने, 'वामदेव गौतमले जे चाहनुभएको थियो त्यो पाउने परिस्थिति बन्यो। उहाँ रिकग्नाइज हुनुहुने भयो भनौँ। उहाँ कुनै राजकीय पदमा पनि हुनुहुन्न त्यसो भएकाले संगठनको काम गर्न पनि सजिलो हुने भयो। संगठन विभाग उहाँको निम्ति राम्रै हो।'

यता स्थायी समिति सदस्य बेदुराम भुसालले भने वामदेवका लागि उक्त पद त्यस्तो शक्तिमा पुनरागमनका रूपमा बुझ्नुपर्ने नभएको बताए। उनले भने, 'संगठन विभाग विशेष, शक्तिशाली विभाग भनेजस्तो मिडियामा हल्ला गरिएजस्तो होइन। वामदेव धेरै पटक त्यो विभागको प्रमुख भइसक्नु भएको मान्छे हो, त्यसले त्यो विभाग उहाँले पाउने कुरा कुनै ठुलो कुरा होइन। यसैलाई लिएर शक्तिमा आएको भन्ने होइन। वामदेव जे हुनुहुन्छ त्यै हुनुहुनेछ।'

पूर्वएमालेतर्फबाट स्थायी समितिमा रहेका भुसालले थपे, 'पार्टीमा कुनै शक्तिशाली भन्‍ने विभाग हुँदैनन्। निर्णायक कुनै पनि विभाग हुँदैनन्। सबैले आफ्नो नीतिगत कुराहरू गर्ने हुन्। संगठनको रेकर्ड लिने र राख्ने हो। त्यसमा तलमाथि केही गर्न सक्दैनन्।'

वामदेवले पाएको संगठन विभागभन्दा पूर्वमाओवादीको भागमा परेको अर्थ विभाग शक्तिशाली रहेको भुसालको भनाइ थियो। उनले भने, 'सबैभन्दा बढी जिम्मेवार विभागको कुरा गर्नुहुन्छ भने पार्टीमा सबैभन्दा बढी कामको हिसाबले महत्त्वको विभाग अर्थ विभाग हुन्छ। यत्रो पार्टीको आर्थिक कारोबार गर्ने विभाग महत्त्वको हुन्छ। त्यसपछि मात्रै संगठन आउला, प्रचार आउला र स्कुल विभाग आउला।'

पूर्वमाओवादीतर्फका नेकपा स्थायी समिति सदस्य थापाले वामदेव गौतम संगठन विभाग प्रमुख बन्दा पार्टीको संगठनलाई अगाडि लैजाँदा राम्रो हुने धारणा राखे। उनले भने, 'त्यो तहको नेतालाई जसको वैधानिक कुनै जिम्मेवारी छैन उहाँलाई त्यो दिनु उपयुक्त नै हो। उहाँको पूर्वमाओवादीतिर पनि राम्रै सम्बन्ध र पुरानो एमाले पनि भएको हुनाले दुवैलाई मिलाएर लैजान सक्नुहुन्छ। जसरी विष्णु पौडेललाई महासचिवमा ल्याइयो त्यसरी नै यो पनि हुनसक्छ। पौडेलमा सबैलाई मिलाएर लैजान सक्ने क्षमता देखेर ल्याइएको थियो, वामदेवमा पनि त्यहीँ होला।'

संगठन प्रमुखमा वामदेवः प्रचण्डको प्रस्ताव-दबाब, ओलीको स्वीकृति

वामदेवलाई पछिल्लो समय पूर्वमाओवादीतिर लागेको आरोप पूर्वएमाले वित्तमा थियो। आशव्यकताभन्दा बढी पूर्वमाओवादी तथा अध्यक्ष प्रचण्डसँग लहसिएको भन्ने आरोप थियो। यता वामदेव भने अध्यक्ष ओली र उनी निकटका नेताहरूलाई सहयोग गर्दा पनि आफूलाई धोका मात्रै भएको बुझाइका साथ प्रचण्डको निकट भएका थिए।

संगठन विभाग प्रमुख बनाउने क्रममा पनि प्रचण्डले वामदेव र ओलीले बादल (पूर्वमाओवादी सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा)लाई अगाडि सारेका समाचार आइरहेका थिए। यस्तो अवस्थामा संगठन विभाग प्रमुख वामदेवलाई बनाउने निर्णय भएको छ। यसका लागि शुक्रबार साँझ पूर्वएमालेका शीर्ष नेताहरूले बालुवाटारमा बैठक बसेर वामदेवको नाममा सहमति भएको थियो। विगतको समीक्षा गर्दै अन्तिममा वामदेवको नाममा अध्यक्ष ओलीले स्वीकृति जनाएको बैठकमा सहभागी नेताले जानकारी दिए।

यसलाई लिएर फेर वामदेव ओली निकट भएका हुन् त? भन्‍ने प्रश्न गर्नेहरू पनि छन्। यसमा पूर्वमाओवादीबाट नेकपा स्थायी कमिटीमा रहेका एक नेताले भने, 'विभागहरू पूर्वएमाले र पूर्वमाओवादीका रूपमा विभाजित भएपछि र संगठन विभाग पूर्वएमालेको भागमा पर्दा त एमालेबाटै आउनुपर्‍यो। संगठन विभाग पूर्वमाओवादीलाई परेको भए त प्रचण्डले अरूलाई नै प्रस्ताव गर्नुहुन्थ्यो!'

संगठन विभाग प्रमुख वामदेव हुँदा प्रचण्ड खुसी भएको ती नेताको भनाइ थियो। उनले थपे, 'वामदेव संगठन विभाग प्रमुख हुँदा प्रचण्ड भित्रभित्रै खुसी हुने कुरा त भयो तर कोटा त पूर्वएमालेकै कोटाबाट आउने कुरा भयो। भित्रभित्रै कसले बढी प्रेसर दियो भन्ने कुरा प्रचण्डले दिएको सत्य हो र त्यसलाई ओली कमरेडले स्वीकार गर्नुभयो होला।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.