|

विराटनगर : मोरङको पथरी शनिश्चरे नगरपालिका ३ का युवा काबुलबहादुर मगर बिहानै उठेर वनको फन्को मार्छन्। दिउँसो हरियाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालय पुग्छन् र आवश्यक रिपोर्ट लिन्छन्।

समस्या भएको ठाउँमा आफैं दौडन्छन्। तस्करी भएको थाहा पाए आफैं पुग्छन्, गाइवस्तु चरिचरण भएको थाहा पाए दौडिएर पुग्छन् र सबैलाई नियन्त्रणमा लिएर जरिमाना भराउँछन्। उनै काबुलबहादुर मगर उक्त वन समूहको अध्यक्ष पनि हुन्। 

२०७१ साल कार्तिकमा भएको सामुदायिक वनको निर्वाचनका क्रममा आफूले जित्ने उद्देश्यले भन्दा अर्कैलाई जिताउन मगर उम्मेदवार बनेका थिए। तर भोट नै नमागि उनैलाई जिताउँदा आफैं छक्क परे। त्यसपछि वन सम्बन्धी जानकारी लिए र आफ्ना कामको योजना बनाए।

३ वर्ष कार्यकाल पूरा गरिसक्दा काबुलबहादुर मगर पुनः निर्विरोध अध्यक्षमा चयन भएर काम गरिरहेका छन्। उनैको नेतृत्वमा रहेको सामुदायिक वन उपभोक्ता समूह अहिले देशभरका २२ हजार सामुदायिक वनमध्ये उत्कृष्ट भएको भन्दै पुरस्कृत भएको छ। त्यो पनि ५ वर्षकै अवधिमा।

‘म पहिले निर्वाचित भएपछि वनमा छ्याप्छ्याप्ती गाइवस्तु चरिचरण हुने गरेको थियो’ मगरले भने, ‘कार्ययोजना अनुसार जरिमाना गर्न थालेपछि अहिले चरिचरण रोकिएको छ। त्यसबेला महिनामा गाइवस्तु चराउनेलाई गरेको जरिमानाबाटै झण्डै १५ देखि २० हजार रकम संकलन हुन्थ्यो।’

उनले गाइवस्तु जंगलमा छाड्नेलाई डाले घाँसको विरुवा उपलब्ध गराए, अनुमति लिएर रुख हुने प्रजातीबाहेकका डाले घाँस काट्न अनुमति दिए। त्यसपछि जनताले वनमा गाइवस्तु छोड्न थाले। उनलाई पहिलो पटक अध्यक्षमा निर्वाचित भए पनि वनबारे सामान्यबाहेक अन्य जानकारी थिएन। उनी आफैंले विधान, कार्ययोजना अध्ययन गरे, सामुदायिक वन महासंघमा सहकार्य गर्ने र सिक्ने काम गरे। त्यसपछि राजनीतिक स्वार्थरहित ढंगले वनमा काम सुरु गरे। 

उपभोक्तालाई हस्तान्तरण गरेको ५ वर्षमै मोरङको पथरी शनिश्चरे २ मा रहेको हरियाली सामुदायिक वन देशभरका २२ हजार सामुदायिक वन मध्ये उत्कृष्ट भएको छ। २४५.९५ हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनका एक हजार २८ घरधुरी सदस्य छन्। वन्यजन्तुका लागि उपर्युक्त वातावरण निर्माण गर्नेदेखि वैज्ञानिक वन व्यवस्थापन अनुसार कार्यायोजना चुस्त दुरुस्त राख्ने, झाँडी फाँड्ने काममा पनि त्यहाँका उपभोक्ता सक्रिय छन्।

हरहिसाव शून्य सहनशीलताको आधारमा राखिएको छ। सो सामुदायिक वनसम्बन्धी जुनसुकै तथ्यांक तुरुन्त उपलब्ध गराउने गरी व्यवस्थापन गरिएको छ। कार्यालय चुस्त दुरुस्त छ।

पथरी शनिश्चरे २, ३ र ७ नम्बर वडाका १ हजार २८ घरधुरी उपभोक्ता सदस्य रहेको सामुदायिक वनले यस पटक गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार प्राप्त गरेको छ। यसअघि पनि यो सामुदायिक वनले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय सान्त्वना २०७५, मोरङ जिल्ला वन प्रथम २०७५, मोरङ जिल्ला वन दोस्रो २०७४, जिल्ला वन कार्यालयबाट सान्त्वना पुरस्कार २०७३ प्राप्त गरिसकेको छ।

सामुदायिक वनको रुपमा २०७१ साल पुस ९ गते दर्ता भएको यो सामुदायिक वनले ५ वर्षमै देशभरका २२ हजार सामुदायिक वन उपभोक्ता समूहलाई उछिन्दै पहिलो बन्नु सामान्य कुरा नभएको सामुदायिक वन डिभिजन कार्यालय पथरी शनिश्चरेका प्रमुख मो. अलाउद्धिनको भनाइ छ। त्यसमा पनि वनको विकासमा ५ वर्ष समयावधिलाई छोटो मानिन्छ। 

वन सुरक्षण सर्वेक्षण मार्गदर्शन २०६५, वन ऐन २०४९, सामुदायिक वन उपभोक्ता समूहको आर्थिक कार्यविधि २०७३ को कानुनी दस्तावेजलाई आधार मानेर विष्लेषण गर्दा हरियाली सामुदायिक वन देशभरको पहिलो भएको हो। हरियाली सामुदायिक वनले वन क्षेत्रमा रहेका चिहान हटायो, गरिव विपन्न परिवारलाई प्रत्येक वर्ष २ वटाका दरले घर बनाइ दिने गरेको छ।

मोरङमा भएका १३० सामुदायिक वन छन्। जसमध्ये ३० वटामा वैज्ञानिक पद्धति कार्ययोजना लागू भएको छ। त्यसमा पनि हरियाली सामुदायिक वनले उत्कृष्ट कार्य गरेको छ। १० वर्षमा हुर्कने सालका विरुवा सो सामुदायिक वनले २ वर्षमै तयार पारेको छ। 

यो सामुदायिक वनले प्रत्येक वर्ष ५ लाख रुपैयाँ थप हुने गरी उपभोक्तालाई सहुलियत ऋण उपलब्ध गराउने गरी घुम्ती कोष निर्माण गरेको छ। त्यति मात्रै होइन वनले आफ्ना उपभोक्ता सदस्यमध्ये दीर्घ रोगी र विपन्नलाई १० देखि १५ हजार रुपैयाँसम्म सहयोग पनि गर्दै आएको छ।

वनले स्थानीय स्तरमा थुप्रै विकास निर्माणमा योगदान गरेको छ। वनको सुरक्षाका लागि त्यहाँ कुनै तारबारले घेरिएको छैन। उपभोक्ता आफैं तारबारको रुपमा उपस्थित हुने गरेका छन्। सिजनअनुसार सयौंको संख्यामा एकैपटक उपभोक्ता झाडी फाँड्न निस्कन्छन्। सबैतिर खुल्ला हुँदा पनि गाइवस्तु चरिचरण शून्य छ।

जसका कारण पनि यो वन उपभोक्ता समूह देशभरबाटै उत्कृष्ट भएको शिक्षक स्थानीय भागीरथ माध्यामिक विद्यालय पथरी शनिश्चरे ४ का शिक्षक केशवप्रसाद दाहालको दाबी छ। सामुदायिक वनले पानी संचितिको लागि पोखरी निर्माण गरेर माछा पालन गरेको छ। समुदायलाई वन हस्तान्तरण भएयता चोरी, तस्करी नियन्त्रण भएको र आगलागी पूर्ण नियन्त्रणमा रहेको स्वयं स्थानीय बताउँछन्। 

समूहले वार्षिक २८ हेक्टरमा झाडी सरसफाई र २८ हेक्टरमा चिनिङ पुनिङ गर्ने र अग्निरेखा निर्माण गर्दै आएको छ। खाली खाल्सामा विभिन्न जातका विरुवा लगाइएको छ। समूहले अहिलेसम्म १३० वटा कंक्रिट चिहान भत्काएको छ। उपभोक्ताले पर्याप्त काठ पाउनु, वार्षिक ५०० उपभोक्ता सदस्यले रोजगारी पनि पाइरहेका छन् भने सामुदायिक वन क्षेत्रमा फोहोर मैला पूर्ण रुपमा नियन्त्रित छ। वर्षमा ८ हजार क्युबिक काठ गत वर्ष उत्पादन गरेको वनले जनाएको छ।

देशभरबाटै पुरस्कृत भएपछि आफूहरू अझै हौसल्ला मिलेको भन्दै सामुदायिक वनले अझै उत्कृष्ट कार्य गर्ने र देशकै नमूना सामुदायिक वनको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.