|

विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले गत आर्थिक वर्षमा ९ करोड बढी राजश्व आम्दानी गरेको छ। कार्यालयले ९ करोड ८५ लाख ८ हजार ४९१ रुपियाँ आम्दानी गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। 

जिल्ला प्रशासन कार्यालयले राहदानीबाट सबैभन्दा धेरै राजश्व आम्दानी गरेको छ। राहदानीबाट ५ करोड ३४ लाख २३ हजार ७५० रुपैयाँ आम्दानी गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता उमेश पाण्डेले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा १५ हजार १८० थान राहदानी वितरण गरेको छ। द्रूत सेवामार्फत ४ हजार ४०८ जनालाई राहदानीको सिफारिस गरेको प्रवक्ता पाण्डेले बताए। 

यसैगरी सरकारी सम्पतिको वहालबाट ९३ हजार २६०, कम्पनी रजिष्ट्रेशन दस्तुरबाट १६ लाख २२ हजार ५०० रुपैयाँ, अन्य प्रशासनिक शुल्कबाट ७ हजार, परीक्षा दस्तुर वापत २५ हजार रुपियाँ आम्दानी गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। हातहतियारको इजाजत पत्र दस्तुरबाट १ लाख ९६ हजार ४७५ रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ४५ लाख ४० हजार ५०६ रुपैयाँ आम्दानी गरेको छ। 

जिल्ला प्रशासन कार्यालय मोरङले २०७४ सालको बाढी पीडितको राहातकालागि स्थानीय तहलाई नेपाल सरकारले उपलव्ध गराएको रकम खर्च नभई अघिल्लो वर्ष बेरुजु देखिएकोमा उनीहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा फिर्ता गर्दा ३ करोड ८६ लाख रुपैयाँ आम्दानी भएको जानकारी दिइएको छ। 

जिल्ला प्रशासन कार्यालय मोरङले अघिल्लो आर्थिक वर्ष २९ हजार ८९६ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको जनाएको छ। नागरिकताको प्रतिलिपि मात्र १४ हजार ४९ थान वितरण गरेको थियो। जिल्ला प्रशासन कार्यालयले १ हजार १११ थान वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको छ। एक वर्षको अवधिमा जिल्लामा २१३ सवारी दुर्घटनामा परेर ५५ जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

घटनामा ३३४ जना घाइते छन्। यसैगरी बाढी पीडित र चट्याङ पीडितलाई राहत रकम वापत ९ लाख ६२ हजार वितरण गरेको कार्यालयले जनाएको छ। यस अवधिमा २४ थान हतियार जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.