फिचर

पर्यटकको पर्खाइमा छिम्केश्वरी

साउन ७, २०७६

    तनहुँ : गण्डकी प्रदेशलाई नेपालको सबैभन्दा राम्रो पर्यटकीय सम्भावना बोकेको प्रदेश मानिन्छ। तनहुँको मुख्य पर्यटकीय क्षेत्र मानिएको बन्दीपुरसँगै जोडिएको प्रदेशकै केही महत्वपूर्ण ठाउँहरु भने ओझेलमा छन्। हो त्यही ओझेलमा परेको छ तनहुँको सबैभन्दा अग्लो चुचुरो छिम्केश्वरी।

    छिम्केश्वरीको काखलाई गुल्चिएर प्रदेशका अन्य भागमा पर्ने क्षेत्रमा पर्यटक घुमफिरमा निस्कने गर्दछन्। आँबुखैरेनी हुँदै विभिन्न जिल्लाका पर्यटकीय क्षेत्रमा पुग्छन्। तनहुँमा पृथ्वी राजमार्गको ७२ किलोमिटर दूरी यात्रामा निस्केका यात्रुलाई यहाँ प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा आध्यात्मिक दृष्टिले पर्यटनको प्रचुर सम्भावना बोकेका थुप्रै ठाउँ प्रचारप्रसार गर्न जरुरी देखिन्छ। तर, राजमार्गमार्फत हुइँकिनेले छेउछाउका गन्तव्य बिर्सिएर पोखरा, मुस्ताङ, गोर्खालाई मात्र बढी प्राथमिकता दिने गरेका छन्।

    गण्डकी प्रदेशमा स्वागत गर्ने प्रवेशद्वारमा रहेको आँबुखैरेनी गाउँपालिकाको छिम्केश्वरी डाँडा र आगनीमा कुहिरोसँग लुकामारी खेलिरहने गाउँ हिलेखर्कमा पर्यटकको नजर पुग्न सकेको छैन र पुर्‍याउने कोशिसमा पनि सायद छैनौँ हामी। गाउँपालिकाले मात्रै यस क्षेत्रको विकास गर्न नसके प्रदेश र संघीय सरकारसँग हार गुहार मागेर भए पनि एकपटक पर्यटक पुग्नैपर्ने गन्तव्यको रुपमा विकास गर्नुपर्ने देखिन्छ। यहाँको विकास र पर्यटक भित्र्याउन सकियो भने अवश्य नै गाउँपालिकासँगै जिल्लाको आयस्तर वृद्धि हुनसक्छ।

    महाभारत पर्वत श्रृंखालाअन्तर्गत पर्ने उच्च पहाडमध्येको एउटा सर्वोच्च शिखर तनहुँको गौरव हो छिम्केश्वरी। राज्य पुनर्संरचना अघि छिम्केश्वरी छुट्टै गाविसको रुपमा रहेको भए पनि २०७३ फागुनमा नेपाल सरकारले आँबुखैरेनी गाउँपालिकामा समायोजन गरेको हो। समायोजनपश्चात् छिम्केश्वरी तनहुँको आँबुखैरेनी गाउँपालिका ५ मा पर्दछ। धार्मिक तथा सांस्कृतिक पदयात्राको नामबाट परिचित छिम्केश्वरी आदिमकालदेखि नै पूज्य र आराध्य स्थलको रूपमा परिचित छ।

    सयौं वर्ष अघिदेखि विदेशी पर्यटकको आकर्षणको थलोको रुपमा रहिआएको छिम्केश्वरी नेपालको एकै ठाउँबाट धेरै हिमश्रृंखला देख्न सकिने चुचुरोमध्ये एक हो। तर मन्दिरसम्म पुग्नका लागि यातायात, सडक, पानीको अभावले समस्या निम्त्याएको छ।

    छिम्केश्वरी पुग्ने सडक कच्ची भएकाले आउनुपर्ने जति पर्यटक आउन नसक्दा मन्दिरको प्रचार प्रसार र अग्लो चुचुरो ओझेलमा परेको वडाअध्यक्ष तिलबहादुर गुरुङ बताउँछन्। मन्दिरको पुनर्निर्माण गरी यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटक भित्राएर मुहार फेर्ने योजना गाउँपालिका र वडाको छ। चुचुरोमा रहेको छिम्केश्वरी मन्दिर जीर्ण अवस्थामा पुगेपछि पुनर्निर्माण भइरहेको छ। मन्दिरको पुनर्निर्माणका साथै पुग्ने बाटो सहज भएपश्चात् भने पर्यटक बढ्न सक्ने अपेक्षा गाउँपालिकाले लिएको छ।

    पर्यटन नीति २०६५ले नेपालको आर्थिक समृद्धि तथा सामाजिक विकासको महत्वपूर्ण अंगको रूपमा पर्यटन क्षेत्रलाई पहिचान गरी अगाडि बढेको छ। पर्यटन विकास तथा गतिविधिको विस्तार, पर्यटकीय सेवाको गुणस्तर र राजश्वमा वृद्धि गर्नुका साथै रोजगारीका अवसर सिर्जना गरी नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्य सरकारले लिएको छ।

    नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। सोहीअनुरूप गण्डकी प्रदेशले पनि भ्रमण वर्षमा ११ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भए पनि लुकेर रहेका छिम्केश्वरी जस्ता पर्यटकीय क्षेत्रको भने विकास भएको देखिँदैन।

    समुन्द्री सतहको एक सयदेखि दुई हजारसम्मको हावापानी एकसाथ महशुष

    तनहुँमा समुन्द्री सतहको एक सय मिटरदेखि दुई हजार १३४ मिटर उचाईसम्मको हावापानी एकासाथ महशुस गर्न सकिन्छ। जिल्लाको देवघाट गाउँपालिका एक सय मिटर छ भने आँबुखैरेनी गाउँपालिकाको छिम्केश्वरी डाँडाको समुन्द्री सतहदेखि दुई हजार १३४ मिटर उचाइमा रहेको छ।

    समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाई तथा विश्व मानचित्रमा ८३ डिग्री ७५’देखि ८४ डिग्री ३४’ पूर्वी देशान्तर र २७ डिग्री ३’ देखि २७ डिग्री ५’ उत्तरी अक्षांशमा रहेको छ छिम्केश्वरी। छिम्केश्वरी क्षेत्र पूरै पहाड तथा ग्रामीण परिवेशले भरिपूर्ण रहेको सुन्दर स्वच्छ प्राकृतिक एवं सांस्कृतिक स्थल मानिन्छ।

    यस क्षेत्र संस्कृतिले भरिपूर्ण रामकोट, झारगाउँ, धरम्पानी, हिलेखर्क, लाब्दी, आक्लाङ भाँगे हुन्। यहाँ गरुङ, मगर, नेवार, क्षेत्री, ब्राम्हमण, दलित, अति सीमान्तकृत वर्ग चेपाङ र भुजेल जातिको बसोबास रहेको छ।

    दन्ते लहर देखाएर हासेका हिमश्रृंखलाहरुको दृश्यावलोकन

    छिम्केश्वरीबाट पूर्वदेखि पश्चिमसम्मका दन्ते लहर देखाएर स्थान जमाएर बसेको हिमालहरुको एकैसाथ दृश्यावलोकन गर्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपालदेखि धौलागिरी, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङटाङ हिमश्रृङ्खलाका सयौं चुचुराहरु सजिलै देख्न सकिन्छ। साथै सो क्षेत्रमा जाँदा जंगली पशुपन्छीको आवाज र अवलोकन गर्न सकिने स्थानीयवासीको भनाइ छ।

    दन्तेलहर फिँजाएर मुस्कुराएका हिमश्रृखंला, हरियाली सुन्दर पहाडका टाकुरा, गाउँबेसी, भञ्ज्याङ चौतारी र देउरालीलाई अनि नियाल्न सकिन्छ। दमौलीको गर्मी छल्न, छिम्केश्वरी दर्शन गर्न र हिलेखर्कको संस्कृतिमा रमाउँदै हिमश्रृंखलाको मनोरम दृश्य कैद गर्न छिम्केश्वरी जाने कि!

    जैविक विविधताको संरक्षण

    छिम्केश्वरी क्षेत्रको जैविक विविधताको खानी जस्तै आभास हुन्छ। विभिन्न किसिमका पशुपन्छी, जीवजन्तु र औषधीय पदार्थ पाइन्छ। छिम्केश्वरी क्षेत्रमा पाइने जैविक विविधताको संरक्षण गर्न सके हिमालदेखि पहाडमा पाइने यी जैविकले पनि पर्यटकको आकर्षण वृद्धि गर्न सकिन्छ।

    मृग, भालु, चितुवा, बँदेल, बाँदर, ढेडु, स्याल, मालसाप्रो लगायतका पशु र विभिन्न प्रजातिका गोहोरो,पुतली तथा किट्पतङ, तित्रा, कालिज जस्ता पशुपन्छी संरक्षण गरी यीनको आवाज र हेर्ने पर्यटक पनि आकर्षणको केन्द्र बनाउनतर्फ सरोकारवाला पक्षको ध्यान जानुपर्ने छिम्केश्वरी मन्दिरका पुजारी धनबहादुर गुरुङ बताउँछन्। उनका अनुसार यहाँ विभिन्न प्रजातिका गुराँस, निगाल, च्याउ, सुनगाभाका साथै टिमुर, पाँचऔले, चिराइतो, चिउरी,तितेपाती लगायतका जडीबुटी पाइन्छन्।

    कसरी जाने छिम्केश्वरी ?

    काठमाडौं वा पोखराबाट विभिन्न समय तालिकामा दैनिक सार्वजनिक वा पर्यटकीय बस, माइक्रो, जीप तथा कारहरु उपलब्ध हुन्छन्। काठमाडौंबाट आँबुखैरेनी–डुम्रे ४–५ घण्टा तथा पोखराबाट डुम्रे–आँबुखैरेनी करिव डेडदेखि दुई घण्टामा बस वा ट्याक्सीबाट सहज रुपमा पुग्न सकिन्छ।

    डुम्रेबाट बन्दीपुरसम्म ७ किलोमिटर कालोपत्रे सडक र बन्दीपुरबाट हिलेखर्कसम्म करिव १५ किमि कच्ची सडक (बाह्र महिना चल्ने)को लागि जीप यात्रा त्यसपछि करिब तीन घण्टा जीप पदयात्रापश्चात् छिम्केश्वरी पुग्न सकिन्छ। अर्को बाटो आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जीप यात्रा त्यसपछि करिव एक घण्टा पदयात्रा पछि छिम्केश्वरी सहजै पुग्न सकिन्छ।

    पदयात्रा गर्न रुचाउनेका लागि सर्भेसहित नक्सांकन भएको बाटो दमौली–छाब्दी–रामकोट–बन्दीपुर–बाहुनभञ्ज्याङ–जालभञ्ज्याङ–हिलेखर्क–छिम्केश्वरी–लाब्दी–आक्लाङ–भाँगे हुँदै आँबुखैरेनी र यसका अलावा अन्य विभिन्न पथमार्गसमेत रहेका छन्। साराङघाट–छिम्केश्वरी, पुलजीप मुग्लिन–छिम्केश्वरी, मस्र्याङ्दी जलविद्युत पावरहाउस–छिम्केश्वरी, अन्नपूर्ण सिमेन्ट कारखाना–छिम्केश्वरी, लाब्दीखोला–छिम्केश्वरी रहेका छन्।

    खाना तथा आवास

    यस क्षेत्रमा पाइने सबै खाना प्रांगारिक हुन्छन्। मुख्यतः यहाँ कोदो तथा फापरको ढिडो, रोटी, सेल रोटी, मकैको आँटो, लोकल मासु, गुन्द्रुक, भुटेको मकै र भटमास, कोदोको रक्सी, मह एवं स्थानीय कफी तथा तरकारीका साथै वन पैदावरहरु प्रशस्त पाइन्छन्। निउरो, गिठा, भ्याकुर, तरुल, सिप्लीगान लगायतलाई तरकारीको रुपमा खान पाइन्छ।

    बसोबासका लागि एउटा घरमा दुईदेखि चार जनासम्मको लागि आवासको होमस्टे व्यवस्थापन गरिएको छ। उक्त गाउँ खुला दिशामुक्त क्षेत्र घोषित भइ पूर्ण रूपमा सरसफाई तथा घरघरमा शौचालय र फोहोर व्यवस्थापनको राम्रो प्रबन्ध मिलाइएको छ। हिलेखर्क गाउँमा जम्मा ५६ घरधुरीमा होमस्टेको व्यवस्था मिलाइएको छ।

    छिम्केश्वरी माईको किम्बदन्ती

    छिम्केश्वरी डाँडामा अवस्थित दुई माईहरुको दर्शन गर्न पाइन्छ। छिम्केश्वरी डाँडामै अवस्थित छिम्केश्वरीमाई र बूढीकन्यादेवी माईको दर्शन गर्न सकिन्छ। सात देवीमध्ये जेठी बूढीकन्यादेवी माई र माहिली छिम्केश्वरीमाई एउटै डाँडामा बसेर बहिनीलाई हेर्ने गर्दछन् भन्ने किम्बदन्ती छ। साहिली गोरखकालिकामाई, काहिली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थानबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ। यी सातमध्ये ६ वटै देवीको दर्शन गरेता पनि छिम्केश्वरीमाईको दर्शन नगरेसम्म मनोकांक्षा पूरा नहुने धार्मिक विश्वास छ।

मिला दरै

दरै थाहा खबरका तनहुँ समाचारदाता हुन्। Email : darai.milamd@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]